दोहा (कतार) । दैनिक आठ घण्टा जागिर र त्यसपछि बचेको समयमा आफ्नो रेष्टुरेन्ट र कम्पनीको काम । परदेशी भूमिमा तेह्रथुमका दीपक रिमालको यो दैनिकी झण्डै एक दशक यता चलिरहेको छ । कतारमा जागिर गर्ने विदेशी श्रमिकका लागि रोजगारी गर्दै आफ्नै व्यवसाय चलाउन त्यत्ति सजिलो छैन । यो मामिलामा रिमाल भने अपवाद हुन् भन्दा फरक पर्दैन । उनलाई जागिर दिने कम्पनी मालिकले त्यहाँ काम सकाएपछि आफ्नै व्यवसाय सञ्चालन गर्न अनुमति दिएका छन् । त्यसैले त रिमालले कतारमा दुई वटा व्यवसाय जम्काभेट नेपाल रेष्टुरेन्ट र क्लिनिङ कम्पनी चलाइरहेका छन् ।
‘म काम गर्ने कम्पनीका मालिकले सबै जसो जिम्मेवारी मलाई नै दिनुभएको छ, उहाँकै कारण कतारमा जागिरसँगै आफ्नै व्यवसाय गर्न पाएको छु । कम्पनीमा पनि कर्मचारी खटनपटनदेखि हिसाबकिताब मैले नै राख्नुपर्छ । उहाँ मेरा लागि बुबा समानको मान्छे हुनुहुन्छ”, रिमालले सुनौलो नेपालसँग भने ।
रिमाललाई जिम्मेवारी दिनुपर्ने कारण पनि छ । उनको लामो समयदेखिको मेहनत, लगनशीलता इमान्दारिता, पारदर्शीताका साथै विश्वासिलो र भरपर्दो काम हो । त्यसैले त मालिकले कम्पनीको अधिकांंश जिम्मवारी रिमालकै काँधमा सुम्पिएर अमेरिकामा लामो समय बिताउन पाउँछन् ।
रिमाल कतार आएको सन् २००८ मा हो । ब्याचलर पहिलो वर्ष पढ्दै गर्दा विदेश जानुपर्ने बाध्यताले उनलाई कतार ल्याएको थियो । त्यो बेला उनको तलब मासिक ७७६ रियाल थियो । पहिलो पटक कतारी भूमिमा पाइला राख्दा जुँगाको रेखी लाग्दै थियो । हेर्दै कलिलो केटा देखेर कम्पनी प्रवन्धकले मायाले अलिक कम मेहनतको काम लगाइ दिएका थिए ।
‘अरुले जस्तै गरी ठूलो मेहनत गर्न सक्छु भन्ने लागेन होला, उहाँहरुले मलाई टी ब्यायको जागिर दिनुभयो’, केही समय अघि कतारमा सुनौलो नेपालसँगको भलाकुसारीमा रिमालले भने, ‘मलाई पनि काम गर्न सजिलो भयो । त्यसैले कतारको सुरुआती दिन धेरै दुःखदायी भएन ।’
पूर्वी नेपालको तेह्रथुममा जन्मिएका रिमालको परिवार आर्थिक रुपमा निकै कमजोर थियो । बुबा आमालाई छोरालाई धेरै पढाउने रहर भए पनि आर्थिक हैसियतले दिँदैनथ्यो । त्यसैले उनले पढाइलाई बीचमै छाडेर काठमाडौँको एसओएस म्यानपावरमार्फत विदेश जाने निर्णय लिएका थिए ।
त्यो बेला रिमाल परिवार अरुकै खेतमा अधियाँ गरेर गुजारा चलाउँदै आएको थियो । हजुरबुबादेखि बुबा र आफूले जान्दासम्म दीपक आफैले पनि अरुको खेतमा अधियाँ गरे । ‘परिवारसँग धेरै जग्गा र सम्पत्ति नभएकाले अरुको अधियाँ गर्नुको विकल्प थिएन, भात खानका लागि पनि समस्या थियो’, उनले भने, ‘त्यो बेलामा भात खान नपाएको र खाली खुट्टा ७० किलोसम्मको अदुवा बोकेर हिँडनुपर्ने बाध्यतात्मक अवस्था पनि थियो ।’
सुरुआती दिनमा कतारमा टी ब्यायसँगै उनले श्रमिकहरुलाई कम्प्युटर सिकाउने मौका पाए । आफूले नेपालमै कम्प्युटरको बेसिक ज्ञान लिइसकेका थिए । ‘कम्पनीमा साइबर क्याफे जस्तै थियो । जहाँ दिनभरी काम गरेका मजदुरहरु रमाइलोका लागि कम्प्युटर चलाउन आउँथे । मैले उनीहरुलाई कम्प्युटर सिकाउनेदेखि उनीहरुलाई निश्चित समय दिन्थे, नेपालमा सिकेको ज्ञान त्यहाँ काम लाग्यो”, रिमालले सुनाए ।
केही समयपछि रिमालले कम्पनीमै क्याम्पबोसको जिम्मेवारी पाए । उनको काँधमा कम्पनीको दैनिक गतिविधिको जिम्मेवारी थपियो । काम गर्दै जाँदा उनी सोही कम्पनीमा सुपरभाइजर बने । तत्कालीन समयमा उक्त कम्पनीमा २५ हजारले काम गर्दथे । उनीहरुको सुपरभाइजरका रुपमा काम गर्दा रिमालले धेरै कुरा सिके । व्यवस्थापनदेखि कम्पनीको कामका बारे गहिरो ज्ञान पाए । त्यति मात्रै होइन, टर्किस कम्पनी भएकाले टर्किस भाषा पनि सिके । भाषाले उनलाई कामबारे बुझ्न धेरै सहज बनायो ।
उनी कतारमा आएर काम सुरु गरेको कम्पनी सन् २०१४ मा बन्द भयो । तर, टर्किस भाषा जानेकाले उनलाई अर्को टर्किस कम्पनीमा काम पाउन गाह्रो भएन । भाषा र सीप जानेकै कारण उनले कम्पनीमा सुपरभाइजरको जागिर पाए । त्यो कम्पनीमा अहिले उनले ह्युमन रिसोर्स र एड्मिन सम्हालेका छन् । बचेको समयमा आफ्ना दुई कम्पनी सञ्चालन गरिरहेका छन् ।
रेष्टुरेन्ट र क्लिनिङ कम्पनी
रिमालले कतारमा नेपाली खाना खुवाउने गरी सुरु गरेको जम्काभेट नेपाली रेष्टुरेन्ट अहिले उक्त क्षेत्रमा निकै लोकप्रिय छ । दोहाबाट थोरै टाढा उम सलाल अलीमा रहेको रेष्टुरेन्टमा रिमालले दैनिक १६० जनालाई नियमित खाना खुवाउँछन् । नेपालीबाहेक उनको यो रेष्टुरेन्टमा अरबी, फिलिपिनोहरु पनि आउँछन् । उनका अनुसार फिलिपिनोहरु नेपाली परिकार, ममः र चाउमिन औधी रुचाउँछन् ।
‘यहाँ नेपाली परिकारको व्यवसाय राम्रो छ । समग्र रेष्टुरेन्टको व्यवसाय पनि ठीकै छ । विश्वकपको समयमा रेष्टुरेन्टको व्यवसाय निकै राम्रो थियो, अहिले अलिक कम भए पनि सन्तोषजनक नै छ’, उनले भने । दिनभरी आफूले अरुकै कम्पनीमा काम गरे पनि रेष्टुरेन्टमा १८ जनालाई रोजगारी भने दिएका छन् । उनले एकातिर नेपाली खानाको प्रवद्र्धन गरिरहेका छन् भने अर्कोतर्फ रोजगारी सृजना र राम्रो आम्दानी गरी नेपाल पनि पठाइरहेका छन् ।
‘यहाँ रेष्टुरेन्ट व्यवसाय चलाउन गाह्र्रो छैन, तर नियमन भने निकै कडाइका साथ पालना गर्नुपर्छ । नियमन जुनसुकै समयमा हुनसक्छ । दिनमा तीनदेखि चार पटकसम्म्म पनि हुनसक्छ, त्यसका लागि भने सधै सचेत रहनुपर्छ’, उनले भने ।
उनका अनुसार केही गल्ती भेटिएमा दुई पटकसम्म सचेत गराइन्छ । तेस्रो पटकमा ठूलो रकम जरिवानावापत बुझाउनुपर्छ भने चौथो पटक गल्ती भेटिएमा रेष्टुरेन्ट नै बन्द हुन्छ । यद्यपि दुई महिनासम्म फेरि सञ्चालन गर्ने सुविधा पनि हुन्छ । तर त्यसमा पनि असफल भए व्यवसाय सधैका लागि बन्द गर्नुपर्ने हुन्छ । कतारको यही नियमले आफूहरुलाई कहिल्यै गल्ती गर्ने छुट नभएको उनले बताए ।
रिमालले रेष्टुरेन्टसँगै क्लिनिङ कम्पनी पनि सुरु गरेका छन् । उनको यो कम्पनीले विशेष गरी अस्पताल र विद्यालयमा क्लिनिङको जिम्मेवारी लिएको छ । यो कम्पनी पनि उनले साझेदारीमा सञ्चालन गरेका हुन् । हाल यस कम्पनीमा उनले करिब २० जनालाई जागिर दिएका छन् ।
अबको बाटो
कतारमा विश्वकपपछि व्यवसाय सुस्त छ । विकास निर्माणका अधिकांश काम पूरा भएका छन् । सानो देशमा ठूला भवन बनिसकेका छन् । चिल्ला र फराकिला सडक निर्माण भएका छन् । यद्यपि, व्यवसाय सन्तोषजनक नै छ । अझ सेवामुलक क्षेत्रको व्यवसाय राम्रै छ । कतारमा व्यवसाय गरिरहँदा उनले नेपालमा पनि व्यवसाय गर्ने सोच बनाएका छन् । केही समय अघि नेपालमा पनि व्यवसाय गर्ने प्रयास भने रिमालले नगरेका होइनन् । तर, त्यो सफल भएन् । अहिले बागलुङमा दाईहरुसँग मिलेर एउटा कम्पनीमा सेयर हालेका छन् । आफू सक्रियरुपमा नेपालमा व्यवसाय नगरे पनि सेयरमार्फत व्यवसाय भने सुरुआत गरेका छन् ।
सकारात्मक सोच र सत्कर्म महत्वपूर्ण
रिमाल आफू व्यवसाय र जागिरमा सफल हुनुको पछाडि आफ्नो सकारात्मक सोच र सत्कर्म भएको बताउँछन् । यो प्रेरणा आफ्नो बुबा र आमा भएको उनको भनाइ छ । सकारात्मक सोच र सत्कर्मकै कारण आफूलाई कुनै विदेशी मालिकले ठूलो विश्वास गरेर कम्पनीमा महत्वपूर्ण जिम्मेवारी दिएको उनको बुझाइ छ । त्यही कारण उनले जागिरसँगै व्यवसाय गर्न पाएका छन् ।
कार्यक्रमका नाममा अनावश्यक खर्च
कतारमा नेपालीहरुका कार्यक्रम भइरहन्छन् । अझ पछिल्ला दिनमा त यसप्रकारका कार्यक्रम गर्ने होडबाजी नै चलेको छ । जसमा नेपालीहरुले ठूलो रकम खर्चिरहेका छन् । कतारमा कमाएको पैसा कतारमै खर्च भइरहेको अवस्था छ । यो कुरा रिमाललाई त्यति चित्त बुझ्दो लाग्दैन । उनी यस्ता कार्यक्रम कतिपय अवस्थामा बढी होकि भन्ने लाग्छ ।
‘यहाँ त कस्ले कति ठूलो कार्यक्रम गर्ने भन्ने प्रतिस्पर्धा जस्तै चलेको छ । सामान्य रुपमा हुने ठाउँमा पनि ठूलो रकम खर्च भइरहेको छ । हामीले सामान्य रुपमा कार्यक्रम सञ्चालन गरेर बाँकी पैसा नेपाल पठाउन सक्छौँ, तर त्यसो हुँर्दैन’, उनले भने ।
अझ कार्यक्रममा जसलाई पायो त्यसैलाई अतिथी बनाउने, समाजसेवी र सफल व्यवसायी भनि उपमा जोड्ने काममा पनि रिमाल सन्तुष्ट छैनन् । उनी भन्छन्, “२०० रियाल सहयोग गर्नेलाई पनि समाजसेवी र बुद्धिजीवि भनेर सम्मान गर्ने चलन छ, मलाई पनि त्यस्तै भन्छन् । तर म भने युवा व्यवसायीभन्दा अरु नामबाट कसैले सम्बोधन नगरिदियोस् भन्ने लाग्छ । किनभने म अझै त्यो स्तरमा पुगिसकेको छैन, अझ धेरै मेहनत बाँकी नै छ ।’