
असोज १८ काठमाडौँ, राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई उपचार खर्च प्रदान गरेको छ ।कोषले एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरेको हो । कोषबाट एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ सहयोग गरिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो । उक्त रकम राईकी धर्मपत्नी मन्जु श्रेष्ठ राईलाई हस्तान्तरण गरिएको छ । स्व. राईका ८ वर्षीय छोरा संकल्प पनि आँखाको क्यान्सरबाट पीडित छन् । आँखाको क्यान्सरका कारण उनको दुवै आँखाको ज्योति पनि गुमेको छ ।
यस्तै बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं कोषका अध्यक्ष रमेशकुमार सिलवालले उनीहरुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण गर्दै राखेपका सदस्य सचिव एवं कोषका अध्यक्ष सिलवालले आफ्नो जीवन नै खेलक्षेत्रमा समर्पित गरेका खेलाडीहरुले औषधि उपचार नपाएर मर्न पर्ने अवस्था आउन नदिने बताउनु भयो ।
उपचार खर्च स्वरुप आर्थिक सहयोग पाएपछि खेलाडीहरु खुसी भएका छन् । उनीहरुले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भएपछि आफु खेलक्षेत्रमा फर्किने प्रतिवद्धता समेत जनाएका छन् ।कल्याणकारी कोष २०६८ सालमा समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठले बताए । कोषमा जम्मा गरिएको रकमको व्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गरिदै आएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend