logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ

    परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ

    357
    Shares
    परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ

    फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ ।

    वीरेन्द्र युवा क्लबका सदस्यले दसैँका अवसरमा समुदायका लागि यो विशेष पिङ निर्माण गरेका हुन् । दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो ।

    क्लबका अध्यक्ष लक्ष्मी काफ्ले बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्मलाई सामूहिक रूपमा मनोरञ्जन दिने मात्रै नभइ संस्कृतिसँगको सामिप्यता र हाम्रो परम्परागत धरोहरप्रति गर्व गर्न प्रेरित गर्ने उद्देश्यले क्लबले पिङ हालेको बताउँछन् ।

    “लिङ्गेपिङ नेपाली पर्व संस्कृति र समाजको अभिन्न अङ्ग हो । दसैँका बेला यसको विशेष महत्व रहन्छ । पिङमा झुल्दा आउने आनन्दको अनुभूति मात्र होइन, पिङले व्यक्तिहरूलाई सांस्कृतिक र आध्यात्मिक अर्थ पनि दिन्छ । यो पर्वको समयमा बनाइने पिङले दसैँलाई मात्र होइन, तिहार र अन्य पर्वलाई पनि जीवन्त बनाउने गरेको छ”, उनले भने ।

    क्लबका सचिव दिनेश खवासले नयाँ पुस्तालाई परम्परागत खेलको महत्व बुझाउन तथा स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न पिङ हालिएको बताए । “क्लबले लिङ्गेपिङ निर्माण गरेर दसैँको मौलिकता र सौन्दर्यलाई जोगाउने प्रयास गरेको छ । यसले स्थानीय समुदायलाई सङ्गठित गर्ने र मनोरञ्जन प्रदान गर्न पनि सघाउ पुर्याउने अपेक्षा गरेका छौँ । परम्परागत संस्कृतिको स्मरणका लागि हरेक वर्ष क्लबले यस्तो गर्दै आएको छ”, उनले भने ।

    यस वर्ष पनि विधिपूर्वक पूजापाठ गरेर पिङको सुरुआत गरिएको क्लबका अभ्यक्ष काफ्लेले बताए ।

    सूचना प्रविधिको विकाससँगै आममानिसहरू आधुनिक खेल, टेक्नोलोजी र सहरीकरणको प्रभावमा चुर्लुम्म छन् । यसकै प्रभावले होला गाउँघरमा समेत परम्परागत पिङ निर्माणको चलन कम हुँदै गएको छभने सहरी क्षेत्रमा त झन् यस्ता पिङ देख्न पाउनु दुर्लभ बन्दै गएको छ । स्थानीय विवश लिम्बू आधुनिक जीवनशैली र व्यस्तताले नयाँ पुस्ता आफ्नो परम्परागत खेलप्रति कम आकर्षित हुँदै गइरहेको बताउँछन् ।

    “लिङ्गेपिङको रौनक र मज्जाले दसैँलाई अझ विशेष बनाउँछ । दसैँको बेला लिङ्गेपिङमा झुल्न पाउँदा मानिसले आफ्ना बाल्यकालका याद ताजा गर्छन् । वर्षभरि छुटिएकाहरू एकैठाउँमा जम्मा भएर आनन्द लिन्छन्, सामिप्यता बढाउँछन् । पिङले समुदायमा आपसी प्रेम, सद्भाव र सहयोगको भावना फैलाउँछ । लिङ्गेपिङले दसैँको मौलिकता झल्काउने मात्र होइन, परिवार र समाजलाई एकजुट बनाउने अवसर पनि प्रदान गर्छ तर पछिल्लो समय यो परम्परा विस्तारै हराउँदै गएको छ”, उनको भनाइ छ ।

    वीरेन्द्र युवा क्लबले यस पिङ निर्माण गरेर दसैँलाई अझै उल्लासमय बनाउने प्रयास गरेको क्लबका अध्यक्ष काफ्लेले बताए । समाजमा रहेका पुराना संस्कार, परम्परा र खेलको जगेर्ना तथा स्थानीय खेलको प्रवर्द्धन गर्नु मुख्य उद्देश्य रहेको सचिव खवासको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend