logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • स्याङ्जाका ११ अतिरिक्त हुलाक खारेज

    स्याङ्जाका ११ अतिरिक्त हुलाक खारेज

    322
    Shares
    स्याङ्जाका ११ अतिरिक्त हुलाक खारेज

    वालिङ । स्याङ्जाका ११ अतिरिक्त हुलाक कार्यालयहरू खारेज भएका छन् । नेपाल सरकारले अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली २०८० कार्यान्वयनमा ल्याएसँगै यहाँका ११ अतिरिक्त हुलाक कार्यालय खारेज भएका हुन् ।

    यसअघि ५३ अतिरिक्त हुलाकमार्फत सेवा दिने गरिएकामा ११ वटा खारेज भएका जिल्ला हुलाक कार्यालय प्रमुख गुरुप्रसाद मरासिनीले जानकारी दिए ।

    अतिरिक्त हुलाकमा रहेका कर्मचारी ५८ वर्ष पूरा भएपछि क्रमशः अवकाश हुँदै जाने र उक्त पद स्वतः खारेज हुने नीति सरकारले ल्याएसँगै अतिरिक्त हुलाक खारेजीमा परेका उनले बताए । ‘यस्ता हुलाकमा हुलाक प्रतिनिधि, डाँकवाहक र वितरक गरी तीन प्रकारका कर्मचारी हुन्छन् । कार्यरत कर्मचारी ५८ वर्ष पूरा भएमा त्यस्तो ठाउँका हुलाक स्वतः खारेज हुने नीतिअनुसार यहाँ पनि ११ अतिरिक्त हुलाक खारेजीमा परेका हुन्’, उनले भने, ‘धेरैजसो अतिरिक्त हुलाकमा ५८ वर्ष उमेर नपुगेका एक वा दुई जनाले सेवा दिँदै आउनुभएको छ, उहाँहरू पनि ५८ वर्ष पुगेपछि त्यहाँ पनि स्वतः सेवा बन्द हुन्छ ।’

    यहाँ खारेज भएका अतिरिक्त हुलाकमा पुतलीबजार–५ स्थित पौवेगौंड, चापाकोट– ८ मा रहेको क्वामी, भीरकोट–६ मा रहेको खिलुङ देउराली, वालिङ–४ मा रहेको एलादी, आँधीखोला–२ मा रहेको चिलाउनेबास, आँधीखोला–५ स्थित निवुवाबोट, फेदीखोला–२ को मट्टिखान, हरिनास गाउँपालिकामा रहेको चित्रेभञ्ज्याङ, यहाँकै मग्याम, कालीगण्डकी गाउँपालिका–४ को बिर्घा र चापाकोट–१ को पकवादी अतिरिक्त हुलाक कार्यालय रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend