logo

२०८१ असोज २८ सोमबार

logo
  • सोमबार, २८ असोज २०८१
  • माग्दीको विकट गाउँमा पुग्यो बिजुली

    माग्दीको विकट गाउँमा पुग्यो बिजुली

    112
    Shares
    माग्दीको विकट गाउँमा पुग्यो बिजुली

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ को पात्ले गाउँमा विद्युतीकरण भएको छ ।

    म्याग्दी जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने नेपाल विद्युत प्राधिकरणको कार्यक्रममार्फत भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेमा विद्युतीकरण भएको हो ।

    नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले पात्लेका १ सय २० घरमा केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको जानकारी दिए । दशैंको समयमा गाउँमा बिजुली बलेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ । पात्लेका बासिन्दाले उज्यालोका लागि यसअघि लघुजलविद्युत परियोजना, सौर्य ऊर्जा र टुकीमा निर्भर थिए ।

    मालिका –३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रीय लाइनका विद्युत बलेसँगै उज्यालोका साथै स्थानीयबासीको दैनिकी सहज भएको बताए । विद्युतीय चुल्होमा खाना पकाउन, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, फर्निचर, मिल सञ्चालन गर्न र उद्यम व्यवसायको अवसर सिर्जना भएको छ ।

    यसअघि गत साउन महिनामा मालिका गाउँपालिकाको वडा नम्बर १, छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, मालिका –३ को लुप्सीपार, खतेन र मालिका– ४ को ओखरबोटका पाँच सय घरमा केन्द्रीय लाइनको विद्युत सुविधा विस्तार भएको थियो ।

    जिल्लाका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि ४७.६ किलोमिटर मुख्य, १२६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न गत असोज तेस्रो हप्ता रविन्द्र/ढुंगाना जेभीसँग रु तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

    सोही ठेक्का मार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो ।

    मिटरबक्स जडान र वायरीङको काम उपभोक्ता आफैंले गरेका हुन् ।

    धवलागिरी गाउँपालिका–२ खोरीया, लमसुङ र लुलाङमा तिहारअघिनै विद्युतीकरणको तयारी गरेको रविन्द्र/ढुंगाना जेभीका प्रतिनिधि दिनेश ढुंगानाले बताए ।

    आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ११ ठाउँमा एक हजार ४३८ उपभोक्ता थपिएका थिए । हालसम्म म्याग्दी वितरण केन्द्रअन्तर्गत करिब २३ हजार विद्युतका ग्राहक छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend