काठमाडौं । बजारमा माग न्यून भएका बेला साराडा र राठी ग्रुपले सञ्चालन गरिरहेको प्रिमियर स्टिल्स लिमिटेडको व्यापारमा बढेको छ । २०२४ मा प्रिमियरको टिएमटी बार र बिलेटेको व्यापार १२ प्रतिशत बढेर ४ अर्ब ५६ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
गत वर्ष ४ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको टिएमटी र बिलेट व्यापार गरेको थियो । एक वर्षमा प्रिमियरको व्यापार साढे ४९ करोड रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । २०२२ मा ५ अर्ब ८४ करोड ६० लाख र २०२१ मा ६ अर्ब १६ करोड ९० लाख रुपैयाँ बराबरको टिएटी बार र बिलेटको कारोबार गरेको थियो ।
पछिल्लो वर्ष व्यापार कम भए पनि लय लिन लागेको देखिएको छ । उद्योगको व्यापार बढे पनि नाफामा आएको कमीले मार्जिन घटेर ६.१७ प्रतिशतमा सिमित भएको छ । गत वर्ष मार्जिन ७.११ प्रतिशत थियो ।
उद्योगको ऋण पनि बढेर २ अर्ब ६८ करोड ४० लाख रुपैयाँ पुगेको छ । यसअघि २ अर्ब २ करोड रुपैयाँ थियो । यसबीचमा प्रिमियरले ५ अर्ब ४६ करोड १३ लाख रुपैयाँ ऋण रेटिङ गराएको छ । उद्योगले चालूपुँजी कर्जाको ९० प्रतिशत उपयोग गरेको छ । कूल आम्दानीको ८५ प्रतिशतसम्म कच्चावस्तु खरिदमा हुने गरेको छ ।
उद्योगलाई डलरको भाउमा आउने उतारचढावले पनि असर गरेको छ । २०२४ मा उद्योगले डेढ करोड रुपैयाँ डलरबाट घाटा व्योहरेको छ । २०२३ मा ६ करोड १० लाख रुपैयाँ डलरमा घाटा व्यहोरेको थियो ।
यसैगरी ठूलो लगानीमा बिलेट उद्योग आएकाले बजारमा प्रतिस्पर्धा बढ्दा नाफामा कमी आएको छ ।
सन् २०१६ मा स्थापना भएको प्रिमियर स्टिल्स २०२३ मा साधारण सेयर (आइपिओ) निष्कासन गर्न पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । उद्योगको संस्थापक शिवरतन सारडा हुन् । उद्योगमा ७ जना सञ्चालक समिति रहेको छ । अध्यक्ष सारडा रहेका छन् ।
सुनसरीको दुहवीमा कारखाना रहेको छ । प्रिमियरको वार्षिक टिएमटी उत्पादन क्षमता १ लाख ८० हजार टन र बिलेट उत्पादन क्षमता १ लाख २० हजार टन रहेको छ । सारडा र राढी स्टिल व्यवसायमा अनुभवी व्यवसायिक घरना हुन् ।
दुवै ग्रुप सिमेन्ट र स्टीलका साथै पोलिमर्स उत्पादनमा लगानी छ । यस्तै व्यापार, बिमा र आतित्य सत्कारमा पनि दबै समूहको लगानी रहेको छ ।
उद्योगले बिलेट उत्पादन गर्न आवश्यक स्पन्ज, पिग आइरन र स्क्रयाप भारतबाट आयात गर्दै आएको छ । उद्योग नेपाल र भारत सीमाना जोगवनी नजिक रहेकाले कच्चा पदार्थ आयात लागत कम छ । यस्तै सरकारले निर्यातमा ८ प्रतिशत नगद अनुदान, १० करोड बढी बिजली खपत गर्ने उद्योगलाई १५ प्रतिशत छुटका साथै १ हजार बढीलाई रोजगारी दिने उद्योगलाई ३० प्रतिशतसम्म आयकर छुट दिएको छ ।
त्यसैगरी उद्योगसँग कच्चा वस्तु उत्पादन गर्न आफ्नै ‘ब्याकवर्ड इन्टिग्रेशन’ रहेकाले यसबाट प्रिमियरलाई फाइदा हुन्छ । बाह्य बिक्रेताहरूबाट खरिद गर्नुको सट्टा आफ्नै बिलेटहरू उत्पादन गरेर उत्पादन लागत कम हुँदा यसको लागत कम हुन्छ ।