काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन् । अहिले केन्द्रीय कार्यालय वनस्थलीमा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेसहित सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी‚ सुमना श्रेष्ठ लगायत केन्द्रीय नेताहरू उपस्थित रहेका छन् ।
सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्ने तयारी गरेको चर्चा चलिरहँदा पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका हुन् ।
सभापति रवि लामिछानेलाई विधिसंगत तरिकाले प्रहरीले पक्राउ गरेमा विरोध नहुने केन्द्रीय कार्यालयमा उपस्थित एक नेताले बताए ।
६ असोजमा पूर्व डिआइजी छबिलाल जोशी पक्राउ परेपछि रास्वपाले सर्कुलर जारी गरेर नेता कार्यकर्तालाई कार्यालयमा आउन आव्हान गरेको थियो । कदाचित् प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेमा कार्यकर्तालाई कार्यालयमा उपस्थित हुन आव्हान नगरिने उनले बताए ।
उनले स्वतस्फूर्त रुपमा कार्यकर्ताहरु आउन सक्ने बताउँदै पार्टीले भेला हुन भनेर नबोलाउने बताए ।