काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा सभापति लामिछाने पक्राउ परेका हुन् ।
जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरो खटिएका एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
लामिछानेलाई शुक्रबारै जिल्ला प्रहरी कार्यालय कास्की लैजाने तयारी छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो ।
समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो । उक्त प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो ।
सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले रविमाथि कारवाही सिफारिस गरेको थियो । सहकारीबाट रकम रविले ल्याएको नभए पनि कम्पनीमा आएपछि खर्च गरेकोमा उनलाई दोषि ठहर्याइएको छ ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै सूर्य थापा नेत्त्रृत्वको संसदीय छानबिन समितिले लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।