कात्तिक ३ काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।
कोरोना महामारीका बेला सरकारले सो रकम जनहितमा खर्च गर्नुपर्ने भन्दै देउवाले आफ्ना सांसदलाई सो रकम संसद सचिवालयलाई नै फिर्ता गर्न निर्देशन दिएका हुन्।
देउवाले पार्टीका सबै सांसदको खातामा आएको दशैं भत्ताबापतको रकम कोभिड- १९ उपचार कोषमा जम्मा गर्न निर्देशन दिएको कांग्रेसले जनाएको छ।
कोभिडका कारण देश आर्थिक संकटमा परेको बेला सांसदलाई भने दशैँ भत्ता दिने भन्दै सर्वत्र आलोचना भएको छ।
यसअघि नेकपा नेता डा. भीम रावल, जनार्दन शर्मा, डा. सुर्य पाठक, कांग्रेस नेता बालकृष्ण खाँड लगायतले आफुलाई प्राप्त भएको भत्ता रकमको जनहितमा उपयोग गर्न भन्दै फिर्ता गरेका छन्।