पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले प्रदर्शन गरेको छ । पोखरास्थित कास्की जिल्ला अदालत, सहिद चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिए पनि रास्वपाका नेता कार्यकर्ताले सोही स्थानमा प्रदर्शन गरेका हुन् ।
निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि लामिछाने पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् ।
निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
सभापति रवि लामिछानेलाई सहकारी ठगीको विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ । तर रास्वपाले रविलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै सरकारको विरोध गर्दै आएको छ ।