logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • सातै प्रदेशमा केबुलकार सर्किट निर्माण गर्दै ‘केबुलकार किङ’ चन्द्र ढकाल

    सातै प्रदेशमा केबुलकार सर्किट निर्माण गर्दै ‘केबुलकार किङ’ चन्द्र ढकाल

    273
    Shares
    सातै प्रदेशमा केबुलकार सर्किट निर्माण गर्दै ‘केबुलकार किङ’ चन्द्र ढकाल

    काठमाडौं । गत वर्ष जेठमा लुम्बिनी केबुलकार उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा ‘केबुलकार धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट’ निर्माणको घोषणा गरेका थिए ।

    लुम्बिनी केबुलकारको टपस्टेसन बुटबल बजारमाथिको पाल्पाको वसन्तुरमा आयोजित सो कार्यक्रममा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल, केही संघीय मन्त्री, लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु सहभागी थिए । सो कार्यक्रममा भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री जगदम्बिका पाल समेतको उपस्थिति थियो ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसेमत रहेका आइएमई ग्रुपका अध्यक्ष ढकालले नेपालमा पर्यटनका सम्भावनाहरुलाई थप उजागर गर्न तथा नेपालमा नेपाली, भारतीय तथा अन्य देशका पनि खासगरी हिन्दू, बौद्ध धार्मिक सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि यो सर्किटको निर्माण र प्रचार गर्न सकिने धारणा राखेका थिए ।

    झण्डै दुई दर्जन बैंक तथा वित्तीय संस्थालाई ग्लोबल आइएमई बैंकमा समाहित गरेर ‘मर्जर किङ’को उपाधि पाएका ढकालले अहिले सातै प्रदेशमा केबुलकार सञ्चालन गरेर ‘केबुलकार किङ’ बन्दै छन् ।

    भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री पालले नेपाली पर्यटन क्षेत्रको एक नयाँ वैकल्पिक अवधारणका रुपमा सो सर्किटको घोषणा गरेकामा त्यसको प्रशंसा समेत गरेका थिए । खासमा यो अवधारणा भारतीय पर्यटकलाई आकर्षित गर्नका लागि महत्वपूर्ण रहन्छ । किनभने नेपालमा धार्मिक पर्यटनको सम्भावनाको अधिकतम उजागर भारतीय पर्यटकहरुको आगमनबाट नै धेरै मात्रामा हुन सक्दछ ।

    नेपालका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थल, डाँडा र पहाडहरुमा अहिले केबुलकार निर्माणको एक किसिमले लहर नै आएको छ । त्यसको नेतृत्व अध्यक्ष ढकालले गरेका छन् । ती स्थलहरुमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई पुर्याई यसका माध्यमबाट जोड्ने कार्य नै केबलकार धार्मिक पर्यटन सर्किटको उद्देश्य हो ।

    यो सर्किटलाई भारतीय पर्यटहरुसमक्ष परिचित गराउने कामको सुरुआत लुम्बिनीबाट नै गर्न सकिन्छ । लुम्बिनी भारतीय पर्यटकहरुको पनि प्रमुख रोजाईको धार्मिक, सांस्कृतिक गन्तव्य हो । यहाँ आएका पर्यटकका लागि बसाई अवधि लम्बाउन त्यस्तै कुनै पर्यटकीय पूर्वाधार नभएकाले लुम्बिनी केबुलकार र त्यसमाथिको कामाख्या भगवती धार्मिकस्थल एक उत्कृष्ट गन्तव्य हुन सक्छ । त्यस्तै त्यहाँ बन्ने पाँचतारे होटल र अरु संरचना पनि पर्यटकका आकर्षण बन्ने देखिन्छ ।

    लुम्बिनीको भ्रमणसँगै केबुलकार चढेर माथि वसन्तपुर डाँडामा पुग्ने र त्यहाँ कामाख्या भगवतीको दर्शन गरेपछि यो सर्किट यात्रा सुरु हुन्छ । यस्तो सर्किट नेपालका अरु धेरै धार्मिक, सांस्कृतिक स्थलहरुको भ्रमणसम्म पुग्नेछ र यसबाट एकीकृत रुपमा नेपालका देवस्थल, तीर्थस्लको भ्रमण सम्भव हुनेछ । अहिले बनिसकेका र बन्दै गरेका समेत गरेर केबुलकारबाट ती धार्मिक तथा सांस्कृति क्षेत्रहरुको भ्रमण गर्न सकिन्छ । यो एउटा ‘कम्प्लिट प्याकेज’ बनाएर नेपाल र भारतका विशेषगरी धार्मिक पर्यटकहरुसमक्ष प्रचारमा ल्याउन सकिन्छ ।

    भारतबाट आउने पर्यटकका लागि कामाख्या भगवतीको दर्शनपछि यहाँबाट एक सय किलोमिटरको दुरीमा रहेको नवलपुरको गैंडाकोटमा रहेको केबुलकार चढेर मौलाकालीको दर्शनका लागि लैजान सकिन्छ । यसक्रममै मौलाकाली नजिकैको देवघाटधाम पुग्न सकिन्छ । देवघाटधाम वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुको उच्च आस्थाको तीर्थस्थल हो ।

    त्यसो त देवघाटबाटै मौलाकाली जोड्ने केबुलकारको पनि निर्माण सुरु गर्ने तयारीमा आइएमइ समूहको छ । सो समूहले त्यसको पनि तयारी गरिरहेको जनाएको छ । यसरी देवघाटको दर्शनपछि गोरखा पुगी मनकामना केबुलकारबाट मनकामना माइको दर्शन गर्न सकिन्छ । मनकामना पनि नेपाल र भारतीय धार्मिक पर्यटकको अर्काे आस्थाको केन्द्र हो ।

    त्यसपछि काठमाडौँको चन्द्रागिरिमा भालेश्वर महादेव, दोलखामा कालिञ्चोक भगवती र त्यसपछि ताप्लेजुङमा बन्दै गरेको पाथीभरामा पुगेर दर्शन गर्न सकिन्छ । ताप्लेजुङमा पनि आइएमई समूहले निर्माणको प्रक्रिया सुरु गरिसकेकाले केही समयमै केबलकार निर्माण भइसक्ने बताइएको छ ।

    त्यस्तै हिन्दू तथा बौद्धमार्गीहरुको प्रसिद्ध साझा तीर्थस्थलका रुपमा रहेको मुक्तिनाथसम्म जाने प्रबन्ध पनि केबुलकारमार्फत् नै गर्न सकिएमा झनै राम्रो हुने देखिन्छ । यसको सम्भाव्यता र सम्भावनाका बारेमा भने अहिले नै यहाँ केही भन्न सकिएन ।

    केबलकारका माध्यमबाट नेपालका धार्मिक तथा सांस्कृतिक स्थलहरुको दर्शन गर्न सकिने भएकाले हाल तयार भइरहेका र भोलि निर्माणको तयारी रहेका सबै केबलकारलाई धार्मिक, सांस्कृतिक सर्किटसँग जोडेर पर्यटकीय प्याकेज बनाउन सकिन्छ । यसबाट नेपालको धार्मिक सांस्कृतिक पर्यटन विकासमा ठूलो टेवा पुग्दछ ।

    आइएमई समूहले पछिल्लो समय हिल स्टेसनमा लगानी गरिरहेकाले नेपालका धेरैजसो तीर्थस्थल र देवस्थलमा केबुलकार सर्किट जोड्न सकिन्छ । सातै प्रदेशमा कम्तीमा पनि एउटा केबुलकार सञ्चालन गर्ने घोषणा सो समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरिसकेका छन् ।

    सोही समूहको लगानीमा अहिलेसम्म तीन ठाउँमा केबुलकार सञ्चालनमा ल्याइएको छ भने बाँकी दुई ठाउँ कैलालीको चिसापानी र पाथीभरामा निर्माण सुरु भएको छ । त्यस्तै पोखराको सिकलेसमा पनि निर्माणका लागि धेरै प्रक्रिया पूरा भएको छ तर केही कानुनी अड्चनका कारण निर्माणको काम थाल्न सकिएको छैन ।

    चन्द्रागिरि केबुलकार

    यो समूहको पहिलो चन्द्रागिरि केबुलकार विसं २०७३ मा सञ्चालनमा आएको हो । चन्द्रागिरि हिल्स लिमिटेडको बृहत परियोजनाबाट केबुलकार, भालेश्वर मन्दिर, रिसोर्ट, रेस्टुरेन्ट, फनपार्क, चिल्ड्रेनपार्क, जिपलाइन लगायतको एकीकृत पर्यटकीय प्याकेज हो । २.४ किलोमीटर रहेको यो केबुलकारको यात्रा १० मिनेटको छ । काठमाडौंकै सबैभन्दा अग्लो स्थान चन्द्रगिरीको उचाइ २ हजार ५५१ मिटर छ । यहाँबाट सबै काठमाडौँ उपत्यका राम्रोसँग देख्न सकिन्छ ।

    चन्द्रागिरी पहाड धार्मिक तथा ऐतिहासिक रुपले महत्वपूर्ण स्थान हो । यसको धार्मिक महत्वको अनुसन्धान गर्दा महादेवसम्म नै पुग्न सकिन्छ । आफ्नी प्रिय सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा महादेव चन्द्रागिरी पर्वतमा पुगेको हिमवत खण्डमा उल्लेख छ ।

    चन्द्रागिरिको चुच्चुरोमा महादेव पुग्दा सतीदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिङ्ग उत्पत्ति भएको हिमवत खण्डमा वर्णन गरिएको छ ।

    त्यसैगरी यस डाँडाको इतिहासको खोजी गर्दा पृथ्वीनारायण शाहसँग जोडिन्छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरिबाट नै यो सुन्दर काठमाडौं उपत्यकाको अवलोकन गरेका र आफ्नो ससुराली मकवानपुरबाट गोरखा र्फकँदा चन्द्रागिरि हुँदै फर्किएका तथा त्यसक्रममा काठमाडौं देखेपछि जित्ने कल्पना गरेका थिए भन्ने कुरा उनको उपदेशमा नै उल्लेख भएको इतिहासविद्हरु बताउँछन् ।

    चन्द्रागिरि हिल्स खासमा ५० लाखभन्दा बढीको काठमाडौँ खाल्डोको उकुसमुकुसको पहिलो र अति नजिकको निकासस्थल पनि हो । यहाँका मानिस सबैभन्दा नजिक फ्रेस हुन जाने, रमाउने र समय बिताउने एक उत्कृष्ट पर्यटकीय गन्तव्य चन्द्रागिरि नै बनेको छ ।

    त्यतिमात्र नभएर यो पर्यटकीय गन्तव्य सरकारको आमन्त्रणमा नेपालमा आएका विदेशी विशिष्ट तथा अति विशिष्ट पाहुनाहरुलाई देखाउने स्थल पनि बनेको छ । जस्तो कि यहाँ विदेशका राष्ट्र तथा सरकार प्रमुखसमेत यहाँ पुगिसकेका छन् । त्यस्तै अन्तर्राष्ट्रियस्तरको सेमिनार अर्थात् कार्यक्रमहरुको आयोजनाका लागि पनि यो स्थान एक उत्कृष्ट गन्तव्य हुन पुगेको छ ।

    मौलाकाली केबुलकार

    नवलपुरको गैँडाकोटदेखि मौलाकालिका मन्दिरसम्म पुग्नेगरी केबुलकार निर्माण गरिएको छ । आइएमई समूहले नै दुईओटा केबुलकार एक महिनाको अन्तरालमा सञ्चालनमा ल्याएको थियो । मौलाकाली केबुलकार गत वर्षको वैशाखमा र बुटवल–वसन्तपुर जोड्ने लुम्बिनी केबुलकार गत वर्षको जेठमा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । गैंडाकोट– १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबुलकारमा १२ वटा गोन्डोला छन् ।

    पाँच मिनेटमा यात्रा गर्न सकिने गैँडाकोट–मौलाकालिका केबुलकारको टप स्टेसनमा हेलिप्याडसहित ७० भन्दा बढी कोठाको होटल निर्माण अन्तिम चरणमा छ । आगामी एक दुई महिनामै सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको छ । होटलको छतमै रेस्टुरेन्ट, स्विमिङ पुल बनाइएको छ, जहाँबाट देवघाटदेखि पूर्वी चितवनसम्मको दृश्यावलोकन गर्न सकिन्छ ।

    होटलको छतबाट हेर्दा मौलाकालिकालाई दायाँ पारेर फनक्कै घुमेको नारायणी नदी, नदि किनारमा बडो मनोरम देखिने पवित्र देवघाट र अगाडिपट्टीको नारायणगढ बजार र यसपरको पूर्वी चितवनको दृश्य बडो मनमोहक छ । होटल र केबलकार सहित गरी ३ अर्ब रुपैयाँको लागतमा सो केबलकार निर्माण भएको हो ।

    यस्तो छ लुम्बिनी केबुलकार

    ५ अर्ब रुपैयाँ लागतको २.६ किलोमिटर लामो लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबुलकार हो । बुटवलको बमघाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेसन रहेको छ । टप स्टेसनमा कामाख्यादेवीको मन्दिर स्थापना गरिएको छ ।

    सो स्थानमा पहिले पनि कामाख्या देवीको सामान्य मन्दिर रहेको र पूजाआजा गर्ने गरिएकामा पछि भारतको गुवाहाटीबाटै विधिपूर्वक त्यहीँका पुजारी तथा पण्डितमार्फत्, सोही कुण्डको जलसमेत ल्याइ यहाँ वैदिक विधिपूर्वक कामाख्याको मन्दिर स्थापना गरिएको हो । यहाँ अहिले विविध धार्मिक संरचनासमेत निर्माण गरिएको छ । यसको उद्घाटन गतवर्ष तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाले गरेका हुन् ।

    लुम्बिनी केबुलकार बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनीनजिकै रहेकाले पाल्पा वसन्तपुरको मनोरम प्राकृतिक भूगोल, कामाख्यादेवीको मन्दिर दर्शनका लागि भारतीय नागरिक आकर्षित हुने गरेका छन् । लुम्बिनी केलबकारको टप स्टेसनमा भारतीयलाई लक्षित गरी क्यासिनो सञ्चालन गर्ने गरी एक हजार जना क्षमताको बैंक्वेट हल र एक सय ५० कोठासहितको पाँचतारे होटल बन्दैछ ।

    होटल निर्माणको काम सुरु भएको छ र यसलाई बढीमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको छ । सुरुमा ५ अर्ब रुपैयाँको लागतमा बन्ने तय भएको हो ।

    कैलालीको चिसापानीमा पनि सुरु

    कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबुलकारको काम सुरु भएको छ । आइएमई समूहले नै निर्माण गर्ने सो केबुलकारको समूह एवम् महासंघका अध्यक्ष ढकालले आयोजनाको निर्माणस्थलमा गत वैशाखको पहिलो साता रूख कटान सुरू गरी आयोजनाको पहिलो चरणको निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

    ५ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको यस केबुलकारको कूल लम्बाइ तीन दशमलब एक किलोमिटरको हुनेछ । केबुलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन् । सो यात्रा करिब १० मिनेट हुने जनाइएको छ । केबुलकार दैनिक छ हजार जना यात्रुलाई सेवा दिने क्षमताको निर्माण हुनेछ ।

    प्राकृतिक स्रोत एवं पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यहाँ लगानी गर्ने उद्देश्यले केबुलकार निर्माण सुरु गरिएको र कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको आयोजनास्थलबाट सुरु हुने केबुलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाशधामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ ।

    यहाँ आठ वर्षको निरन्तर प्रयासपछि आयोजना निर्माण सुरु भएको हो । आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताइएको छ । आइएमईले प्रत्येक प्रदेशमा कम्तीमा एउटा पर्यटकीय पूर्वाधार निर्माण गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशको प्रदेशद्वारका रुपमा रहेको कर्णाली चिसापानीमा पनि केबुलकार निर्माण सुरु गर्न लागेको जनाइएको छ । केबुलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एक सय बेड क्षमताका होटेल र सभाहल निर्माण गरिनेछ ।

    पाथीभरामा सुरु हुँदै

    ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबुलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि निर्माण भने आइएमईले बल्ल सुरु हुन लागेको छ । प्रसिद्ध पाथीभरा मन्दिर पुग्न दर्शनार्थीलाई सहज होस् भन्ने उद्देश्यले सो केबुलकार निर्माण सुरु गरिएको हो । काफ्लेपाटी डढेले छेउ मुख्य स्टेसन रहने केबुलकारको डिजाइनअनुसार त्यहाँबाट करिब दुई हजार सात सय मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रसम्म पुग्नेछ ।

    मन्दिर आसपास कुनै संरचना नरहने र अहिलेको पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थी जान सकिने गरी केबुलकार निर्माणको डिजाइन तयार भएको छ । मुख्य स्टेसनबाट १० मिनेट २० सेकेण्डमा केबुलकारको अन्तिम स्टेसन पुग्न सकिने छ । केबुलकारका लागि १३ वटा टावर निर्माण हुने र ४५ वटा गोण्डुला रहनेछ । ४ अर्ब रुपैयाँ लागतमा केबलकारको निर्माण सुरु हुन लागेको छ ।

    सुरुमा यहाँका स्थानीयले मन्दिर र यस क्षेत्रको ऐतिहासिकतासँग जोडेर केबुलकार निर्माण गर्न अवरोध गरे पनि अहिले पछिल्लो समय यहाँका स्थानीय नागरिक, स्थानीय सरकार, प्रदेश सरकार, स्थानीय व्यवसायिक संघसंस्था तथा सरोकारवालाहरुले यति ठूलो लगानीको आयोजना जिल्लामा भित्र्याउनु भनेको जिल्लाकै भाग्य भविष्य निर्माण हुनु हो भनी दबाब सिर्जना गरेपछि यहाँ रुख काट्ने काम सुरु भएको छ । अब सरासर काम गर्न पाउने वातावरण भएमा बढीमा १३ महिनामा यो आयोजना तयार नै हुने आइएमइ समूहले जनाएको छ ।

    आयोजनाले केबुलकार निर्माणमा आवश्यक पर्ने जनशक्तिका लागि स्थानीयलाई नै प्राथमिकता दिएको तथा आफैंले खर्च गरेर स्थानीयहरुलाई आवश्यक तालिम पनि दिएको छ । केबुलकार बनेपछि ताप्लेजुङमा पर्यटकहरुको संख्यामा वृद्धि हुनाका साथै स्थानीय उत्पादनको बजारीकरण हुने र यहाँको आर्थिक गतिविधिमा निकै सकारात्मक प्रभाव पर्ने जनाइएको छ ।

    हाल नेपाल र भारतबाट समेत वर्षमा चार लाख पर्यटन पाथीभरा पुग्ने गरेकामा केबुलकार सञ्चालन भएपछि भने कम्तीमा १५ लाख पर्यटक त्यहाँ पुग्ने अनुमान गरिएको छ । मन्दिर पुग्न पाँच देखि छ घन्टासम्म हिँड्नुपर्ने अवस्था रहेकाले पनि असक्तहरुले मन्दिर पुग्ने अवसर पाएका छैनन् ।

    केबुलकार सर्किटकले पर्यटनमा नयाँ आयाम थपेको छ

    नेपालमा केबुलकारको राम्रै सर्किट निर्माण भएको छ । यसले नेपालका धार्मिक सांस्कृतिक सम्पदा तथा तीर्थस्थलहरुलाई पनि जोड्ने काम गरिरहेको छ । नेपालमा हामीले नदेखे पनि विश्वमा धार्मिक तथा सांस्कृतिक पर्यटनको धेरै ठूलो सम्भावना रहेको छ । जस्तो कि भारतमै पनि हामीले हेर्दा धेरै पर्यटकको फ्लो भनेको धार्मिक पर्यटनमै छ ।

    ती भारतीय पर्यटकहरुलाई हामीले नेपालका तीर्थस्थलहरुसम्म पुर्याउने गरी योजना बनायौँ भने त्यसले हाम्रो पर्यटनमा नै नयाँ आयाम थप्ने निश्चितै छ । नेपालको समृद्धिको मुख्य आधार पर्यटन भएकाले यसमा लगानी गरे दुवै देशका लगानीकर्ताले राम्रो प्रतिफल पाउने भनाई ढकालको छ । आफूहरुले केबुलकार निर्माण गरिरहेका स्थानहरु पनि यस्तै धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदा तथा स्थलहरु रहेको उनको भनाई छ ।

    भारतीय सीमा क्षेत्रको नजिक पर्ने बुटवलको लुम्बिनी केबुलकारदेखि लिएर यता काठमाडौँ हुँदै पूर्वको पाथीभरासम्म पुग्दा हामीले स्वदेशी विदेशी धेरै पर्यटकहरुलाई धार्मिक सर्किटको बाटो हिँडिसकेको हुनेछौँ । फेरि अर्काे कुरा के पनि छ भने, नेपालमा आएका पर्यटकको बसाई लम्ब्याउन निकै कठिन छ । भुल्ने र नयाँ नयाँ स्थान र अनुभव लिने स्थान अभाव हो या हामीले यस्तै प्याकेजमा पर्यटनको प्रचार गर्न नसकेको हो, यहाँ आउने पर्यटकको बसाई अवधि निकै छोटो छ ।

    उनीहरुको बसाई अवधि लम्ब्यउन पनि हामीले निर्माण गरिरहेको यो सर्किट प्रभावकारी हुनसक्छ । नेपालका ट्राभल एजेन्टहरुले यसलाई प्याकेजका रुपमा आफैँले राखेर पनि यी केबुलकार स्थानहरुको भ्रमण गराउन सक्दछन् ।

    आइएमई ग्रुपको अगुवाइमा अबको पाँच वर्षमा पाँचतारे होटेलसहितका थप चारवटा केबुलकार निर्माण गरी सातवटै प्रदेशमा केबुलकार सञ्जाल विस्तार गर्ने लक्ष्य छ । नेपालमा सयौँ पहाडी एरिया रहेका र त्यहाँ केबुलकारलगायत पर्यटकीय पूर्वाधार बनाउन सके भारतीय नागरिक रमाउन आउने सम्भावना रहेको उनले बताए ।

    उनले भने ‘हामीले धेरै ठाउँमा काम नै सुरु गरेका छौँ भने कतिपयमा प्रक्रियागत रुपमा नै छौँ । तर छिट्टै नै नेपालका सातै प्रदेशमा कम्तीमा एउटा केबुलकार निर्माण गर्ने गरी हामीले तयारी सुरु गरिसकेका छौँ ।’

    यो पनि :

    पाथिभरामा जस्तै बडिमालिका र बुढीनन्दामा केबुलकार बनाउन अध्यक्ष ढकाललाई मन्त्री पाण्डेको आग्रह

    ‘पाथीभरा केबुलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ’

    आइएमई ग्रुपले ४ अर्बमा बनाउन लागेको पाथीभरामा केबुलकार बन्यो स्थानीयको एजेण्डा

    कैलालीमा जालपादेवी केबुलकार निर्माण सुरु, आइएमई ग्रुपको पाँच अर्ब लगानी

    मुलुकभरी केबुलकार : निजी क्षेत्रको १ खर्ब लगानी, आइएमईको सबैभन्दा बढी

    आइएमई ग्रुपले १ अर्ब लगानीमा मौलाकाली हिलमा चारतारे रिसोर्ट बनाउँदै, कात्तिकमा सम्पन्न होला ?

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend