logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर

    बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर

    77
    Shares
    बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर

    ललितपुर । ललितपुर महानगरले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ ।

    महानगरले सोमबार आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरप्रमुख चिरिबाबु महर्जनले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर सङ्कलन गर्ने र नदी किनारा सफा गर्ने काम शनिबारदेखि सञ्चालन गरिने जानकारी दिए ।

    “शनिबार बिहान ७ बजे हामी सबै तोकिएका फरकफरक ठाउँमा जम्मा हुन्छौँ, बाढीले छरपष्ट रुपमा रहेका प्लास्टिक, कागज र कपडा सङ्कलन गरेर सफा गर्नेछौँ, नदी किनारा सफा नभएसम्म निरन्तर काम गर्छौं”, महर्जनले भने । उनले असोज ११ र १२ गतेको बाढीले अन्यत्रबाट बगाएर ल्याएका फोहरले ललितपुर सहर र यहाँको मुख्य नदी किनाराको सौन्दर्य बिगारेकाले सरसफाइ थालिएको बताए ।

    “नख्खु र बागमती नदीको किनारालाई प्लास्टिकले छपक्कै छोप्दा असरल्ल देखिएको छ, यसले नगरको सौन्दर्य हराउँदै गएको छ । नगरलाई पुरानो अवस्थामा फर्काउन सरसफाइ अभियान सञ्चालन गर्न लागेका छौँ”, महानगरप्रमुख महर्जनले भने ।

    फोहर सङ्कलनका लागि ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय सङ्घ ललितपुर, सहकारी सङ्घ ललितपुरलगायत विभिन्न सङ्घसंस्था, सामाजिक सङ्घसंस्थाले आफ्ना प्रतिनिधिलाई परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् । महानगरको सरसफाइ कार्यक्रममा नगर प्रहरी, कर्मचारी पनि सहभागी हुने जानकारी दिइएको थियो । साथै महानगरले सफाइ अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।

    उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बाढीले महानगरकोे सौन्दर्य ह्रास ल्याएको बताउँदै सहरी सौन्दर्य कायम राख्नुका साथै वातावरण संरक्षण गर्ने दायित्व सबैको भएको बताइन् । “बाढीबाट कम प्रभावित वडाले बढी प्रभावितसँग हातेमालो गर्नुपर्ने आवश्यकता छ, कसले गर्छ भनेर हेर्ने अहिलेको समय हैन, हामी सबैले मिलेर गर्नुपर्छ । स्वच्छता र सुन्दरता कायम नभएसम्म सफाइको अभियान निरन्तर चल्नेछ”, उनले भने ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सरसफाइ अभियानमा जुट्न सबैलाई अनुरोध गरे । “प्रभावित स्थलको निरीक्षणमा जाँदा सहरको सौन्दर्य हराउँदै गएको पायौँ । साथै फोहरले विभिन्न सङ्क्रमण फैलिन सक्ने भएकाले अभियानमार्फत सरसफाइ थालेका हौँ । जिल्ला सुरक्षा समितिमार्फत सुरक्षाकर्मीहरुलाई परिचालित गर्नेछौँ । भएको जनशक्ति र स्रोतको परिचालन गरेर काम गर्ने, अवरुद्ध बाटो खुलाउने, राहत वितरण गर्ने काम भइरहको छ”, उनले भने ।

    प्रजिअ श्रेष्ठले क्षतिको यकीन विवरण सङ्कलन गर्ने काम भइरहेको बताउँदै व्यवस्थित ढङ्गले फोहरमैला व्यवस्थापनमा आवश्यक सहयोग र समन्वय गर्ने उल्लेख गरे ।

    महानगरका प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष राजु महर्जनले विभिन्न स्थानमा समूह विभाजन गरेर स्वयंसेवक परिचालन गरिने जानकारी दिए । ललितपुर महानगरका वडा नं ५, ६, १२, १६, १५, १९, २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् । बाढीले बगाएर ल्याएर नख्खु र बागमती नदीको किनारामा थुपारेको फोहर हटाउनका लागि दुई हजारभन्दा बढी स्वयंसेवक खटिने उनले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend