logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

    वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

    273
    Shares
    वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

    पर्सा । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

    मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा वीरगञ्ज चिनिन्छ । यहाँबाट चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ६६ लाख ८० हजार रुपैयाँ बराबरको एक लाख ३५ हजार पाँच सय १८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ ।

    भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा हाइस्पिड डिजेलको आयात २५ दशमलव ३३ प्रतिशतले घटेको छ । डिजेल आयात घटेसँगै राजस्व संकलन पनि २७ दशमलव ४३ प्रतिशतले घटेको छ ।

    मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइप लाइनबाट आयात हुने गरेको छभने पेट्रोल ट्याङकरबाट नै ल्याउने गरिन्छ । अमलेखगञ्जस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो ।

    पूर्वाधार तथा विकास निर्माणका गतिविधि बढ्ने बित्तिकै आयात बढ्ने उनको बुझाइ छ । विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढेसँगै पेट्रोलियम पदार्थको खपत पनि घटेको छ ।

    नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले वर्षायाम र सरकारी निकायले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नदिँदा निर्माणक्षेत्रले अपेक्षाकृत गति लिन नसकेको गुनासो गरे । हाल निर्माणजन्य सामग्री र उपकरणको आयात घटेको छ । मनसुन र चाडपर्व सकिएपछि विकास निर्माणका गतिविधि चलायमान हुने उनको विश्वास छ ।

    चालु आवको तीन महिनामा पेट्रोल आयात पनि घटेको छ । चालु आवको असोज मसान्तसम्ममा छ अर्ब ५८ करोड ४६ लाख ८३ हजार रुपैयाँ बराबरको ७४ हजार सात सय १२ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा पेट्रोलको आयात २२ दशमलव ५२ प्रतिशतले घटेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend