logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • विपी राजमार्ग : छोटो दूरीका कारण ५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य छन् यात्रुहरु

    विपी राजमार्ग : छोटो दूरीका कारण ५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य छन् यात्रुहरु

    308
    Shares
    विपी राजमार्ग : छोटो दूरीका कारण ५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य छन् यात्रुहरु

    काठमाडौं । अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले संघीय राजधानी काठमाडौंबाट पूर्वी क्षेत्र जोड्ने सडक सञ्जाल छिन्नभिन्न छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभर नै ठूलो जनधनको क्षति गर्यो । पुल पुलेसा, सडक सञ्जाल र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ ।

    विपद्का कारण आवागमन रोकिएका सडक सञ्जालहरु अधिकांश पूर्ण रुपमा नै सञ्चालनमा आइसकेका छन् । तर विपी राजमार्ग भने अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । पूर्ववर्ती क्षेत्रबाट संघीय राजधानी आउने वैकिल्पक बाटो भनेको उदयपुर चितवनबाट काठमाडौं आउने हो । तर लामो पर्ने भएकाले पाँच घण्टा भन्दा बढी जाममा बसेर भएपनि विपी राजमार्गबाटै काठमाडौं आउने गरेका छन् ।

    विपी राजमार्गको यात्राका क्रममा पर्यटकहरु पनि सास्ती व्यहोरिरहेका छन् । सुनकोशीले धेरै ठाउँमा सडक नै बगाएको छ । त्यसको विकल्प दिन सरकारलाई अझै धेरै समय लाग्ने निश्चितप्रायः छ । विपी राजमार्गमा भेटिएका एक जना सवारी चालकसँग कुरा गर्दा उनले ४–५ घण्टा कुरेर बस्नुपर्ने र अर्को बाटो जाँदा एक दिन पूरै समय जाने भएकाले जाममा बसेरै छोटो बाटो जाने गरेको बताए ।

    तत्काल बाटो बन्छ जस्तो उनलाई लागेको छैन । चितवन हुँदै जाँदा बाटो घुमाउरो भएकाले विपी राजमार्ग हुँदै नै जान छिटो हुने बताए ।

    उनले भने, ‘४–५ घण्टा कुरेर बस्नुपर्छ । बाटो बन्ला जस्तो छैन, बाटो नै यस्तो छ । शुरुमै यस्तो जाम परिसक्यो, बीच बीचमा अझ कति बाँकी छ । उताबाट जाँदा घुमेर जानुपर्छ, टाढा छ ।’

    सोही क्रममा भेटिएकी रुसकी पर्यटकले आफूसँग समय नरहेको तर अघि बढ्न समस्या भएको गुनासो गरिन् । उनले काठमाडौंका लागि आफू हिँडेपनि बाटोमा धेरै समयदेखि जाममा बस्नुपरेको बताइन् ।

    उनले भनिन्, ‘यहाँ किन केही गरिएको छैन, थाहा छैन, मसँग समय छैन । म काठमाडौंका लागि हिँडेको हो । मेरो घर रसिया हो ।’

    काभ्रेको भकुण्डेबेंसी क्षेत्रमा भेटिएका मोटरसाइकल चालकसँग कुरा गर्दा उनले आफू झापाबाट काठमाडौं हिँडेको दुई दिनमा भकुण्डेबेंसी आइपुगेको बताए । उनले बाटो चितवनतिर पनि बिग्रिएकाले छोटै बाटोबाट जाने निर्णय गरेर आएपछि सहज नरहेको प्रतिक्रिया दिए ।

    उनले विगतमा बाटो राम्रो हुँदा एक दिनमा पुग्ने ठाउँ अहिले दुई दिनमा पनि पुग्न कठिन भइरहेको गुनासो गरे । उनले नदीले अहिले आफ्नो क्षेत्र ओगटेकाले नदीले नभेट्ने क्षेत्रलाई मध्यनजर गरी सडक सञ्जाल बनाउन सरकारलाई सुझावसमेत दिए ।

    उनले भने, ‘म झापाबाट हिँडेको । बाटो उता पनि धेरै नराम्रो छ । त्यसैले आउन नसकेर साथीको घरमा बास बसेर अहिले बिहान हिँडेको । विगतमा यो बाटो धेरै राम्रो थियो । अहिले दुई दिन लाग्छ । खोलाले आफ्नो क्षेत्र ओगटेको छ । उसलाई उसको क्षेत्र छोडेर बाँकी क्षेत्रमा मात्रै बाटो बनाउनु पर्छ ।’

    बाढी, पहिरोका कारण विपी राजमार्गसहित देशभर सडक, पूर्वाधारका क्षेत्रमा ६ अर्ब बढीको क्षति भएको अनुमान छ । तर काम पूरा गर्नका लागि १५ अर्ब बढी रकम लाग्ने सरकारले अनुमान गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend