कात्तिक १७ काठमाडौं – लेखक तथा साहित्यकारहरुले भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण रद्द गर्नुपर्ने बताएका छन्। जगदीशचन्द्र मण्डारी, रोशन जनकपुरीलगायत ९० भदा बढी प्रगतिशील लेखकहरुले एक विज्ञप्ति जारी गर्दै नरभानेको नेपाल भ्रमण रोक्न माग गरेका हुन्।
‘नेपाललाई होच्याएर दुर्वचन बोल्ने भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभानेलाई नेपालमा निम्ता गरेर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान दिने तयारी आपत्तिजनक छ’ विज्ञप्तिमा भनिएको छ,’यो भ्रमण तत्काल रद्ध गरिनुपर्छ। ‘
सहअस्तित्व अस्वीकार गर्ने हेपाहा प्रवृत्तिलाई सम्मान गर्नु भनेको स्वयम् अपमानित हुनु भएको उल्लेख गर्दै नरभानेले बोलेको दुर्वचन फिर्ता नलिएसम्म नेपाल भ्रमण रद्द गर्न उनीहरुले माग गरेका हुन्।
नरभानेले नेपालको लिपुलेखमा मानसरोवर जाने भारतले निमार्ण गरेको सडकबारे नेपालले अरू कसैको निर्देशनमा आपत्ति जनाएको आरोप लगाएका थिए। सडक निर्माणबारे नेपाली पक्षले आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको भन्दै नरभानेले नेपालले अरु कसैको ईसारामा विरोध गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए।