कात्तिक १७ काठमाडौं – स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरूद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ। अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग गर्दै निवेदन दिएका हुन्।
नागरिकको निशुल्क स्वास्थ्य उपचार गर्ने र सरकारी अस्पतालले निशुल्क कोरोना भाइरसको परीक्षण गर्नुपर्ने सर्वोच्चको फैसला कार्यान्वन नगरेपछि मुद्दा दर्ता गरेको उनीहरुले बताएका छन्।
१५ असोजको आदेश कार्यान्वयन गर्नुको सट्टा सरकारले त्यसको ४ दिनपछि १९ असोजमा केही तोकिएको वर्गमा पर्ने बाहेकका संक्रमितको उपचार गर्दा शुल्क लिने निर्णय गरेको थियो।
सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुको सट्टा मन्त्रिपरिषद्बाट आदेशविपरीतको निर्णय भएको भन्दै अधिवक्ताद्वय ओली र केसीले स्वास्थ्यमन्त्री ढकालविरूद्ध अदालतको अवहेलनाको निवेदन दिएका हुन्।