logo

२०८१ कार्तिक ११ आइतबार

logo
  • आइतबार, ११ कार्तिक २०८१
  • व्यवसायीका कुरा

    ७१ वर्षिय ऊर्जाशील व्यवसायी स्वामी गुणचन्द्रले फेरि ल्याए ५ अर्बको ‘मेगा प्रोजेक्ट’

    ७१ वर्षिय ऊर्जाशील व्यवसायी स्वामी गुणचन्द्रले फेरि ल्याए ५ अर्बको ‘मेगा प्रोजेक्ट’

    1.8K
    Shares
    ७१ वर्षिय ऊर्जाशील व्यवसायी स्वामी गुणचन्द्रले फेरि ल्याए ५ अर्बको ‘मेगा प्रोजेक्ट’

    काठमाडौं । जब केही गरौँ भन्ने उत्साह जागृत भइरहन्छ, त्यसपछि स्वतः ऊर्जा आइरहन्छ । प्रकृतिको व्यवस्थापन नै त्यस्तै होला सायद । म अहिले ७१ वर्षको भएँ । उमेरभन्दा पनि म अहिलेसम्म जिउँदै छु भन्ने सोच राख्छु र जिउँदो हुँदासम्म केही न केही गरिन्छ नै । अधिकांश मानिसले भन्छन्, मरेर केही लगिँदैन, कात्रोमा खल्ती हुँदैन । अहिले जो धनाढ्य भनेर कहलाएका छन्, उनीहरुको लुगामा खल्ती भए पनि पैसा हुँदैन । पैसा भनेको नोट होइन, उसको साख हो ।

    यदि उमेरलाई परिभाषित गर्ने हो भने अहिलेको स्थितिमा युवा भनेको २० वर्षदेखि ५० वर्षसम्म हो । युवा भनेको नयाँ चिजको खोजी गर्न सक्ने उमेर वा त्यो उमेरमा त्यो स्वभाव हुने भएकाले उमेरलाई त्यसरी गणना गरियो । तर, जो गुणवत मेन्टेन छ, त्यो सधैँ युवा हो । जसले जोखिम मोल्न सक्छ, नयाँ चिजलाई आत्मसात् गर्न सक्छ, धेरै हिसाब किताब गरिरहँदैन, जहिले पनि उत्साहले प्रेरित हुन्छ, त्यो उमेरमा हुनुपर्ने चिज हो । अहिले अधिकांश पुरातनवादी छन् । कोही त २० वर्षकै उमेरमा बुढा भइसकेका हुन्छन्, कोही २२/२५ वर्षको उमेरमै बुढा हुन्छन् । उमेरले नै युवा रहिरहन्छ भन्ने छैन । कोही हामी जस्ता र हामीभन्दा पनि बढी उमेरका व्यक्ति उत्साहले ओतप्रोत भइराखेका हुन्छन्, आफ्नो युवा स्थिति कायमै राखिराखेका हुन्छन् ।

    यी ओजपूर्ण र सकारात्मक भनाई उमेरले ७१ पुगेका तर सोच र जोसले युवा नै रहेका स्वामी गुरुचन्द्र विष्टको हो । उनै गुरुचन्द्र विष्टको व्यवसायिक पाटोलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

    व्यवसायीे सुरुवात

    जसरी मलाई हेर्दा फरक देख्नुहुन्छ, त्यस्तै मेरो व्यवसायको सुरुवात भयो । गफ गर्दागर्दै व्यवसाय सुरु भयो । ३८ वर्षको उमेरमा कुखुरापालनबाट मैले व्यवसाय सुरु गरेको हुँ । त्योभन्दा पहिला खाद्यान्नको व्यापार गर्थे । व्यापार भनेको ठगी खाने चिज हो भन्ने सोचले २० वर्षको उमेरमा छोडिदिएँ । तर जान्यो भने व्यवसाय भनेको सेवा नै हो भन्ने बुझेर फेरि सुरु गरें ।

    यसरी भयो अविनाशी ह्याचरीको जन्म

    यही क्रममा वि.सं. २०४६ सालमा हामीले अविनाश ह्याचरीको स्थापना गर्यौं र ०४७/०४८ मा हामी नम्बर वान भयौँ । त्यसपछि आजसम्म भोल्युमको हिसाबले नम्बर वान नै छौँ, जुन ह्याचरी संघले घोषणा गर्छ । ह्याचरीमा दुई किसिमको चल्ला हुन्छ, लेस चल्ला र ब्रोइलर चल्ला । पहिलो त्यो बेलामा लेस नै हो, अण्डा खानको लागि पालिने कुखुरा, अहिले ब्रोेइलर धेरै भएको छ । तर, दुवैमा हामी नम्बर वान नै छौँ । कोभिडले व्यवसायलाई विभिन्न स्थितिमा लग्यो तर पनि कसैले उछिन्न सकेको छैन ।

    म खास व्यवसाय गर्छु भनेर आएकै होइन । पुनामा आश्रममा बस्थेँ पछि नेपालमा बुबासँग बस्न भनेर आएँ । यहाँ बस्ने क्रममा के गर्ने भन्दा सबैभन्दा जोखिम व्यवसाय र ७५ प्रतिशत चल्ला भारतबाट आउँछ भनेपछि दुई चार जना साथी बसेर ल ह्याचरी खोलौँ भनेर सुरु गरिएको हो । नेपाल अहिले कुखुरा र अण्डामा आत्मनिर्भर छ । यसमा अविनाश ह्याचरीको मुख्य भूमिका रहेको कुरामा कुनै शंका छैन ।

    अविनाश ह्याचरी भन्दा पहिले यो व्यवसायमा आएकाहरुले निश्चित रुपमा काठमाडौंमा मात्रै व्यवसाय गर्ने, सर्टेजमा गर्ने, विस्तार नगर्ने आफूमा मात्रै निहित राख्ने मात्रै गरेको हुनाले उनीहरुले फाइदा खाए । म आएपछि नेपालको उत्पादन आवश्यकता धान्न सक्दिन अरु मान्छे आउन पर्छ भनेर विभिन्न मान्छेलाई निम्त्याएँ, विभिन्न कार्यक्रम गरें । यस व्यवसायमा नयाँ यन्त्र उपकरण भित्र्याएँ, अरुलाई पनि राख्नका लागि सहयोग गरेँ । विश्वका कहलिएका वैज्ञानिकहरु ल्याएर यहाँ सेमिनार गरेँ । जसले गर्दा आजको दिनमा नेपालमा गाडी पुग्ने र त्यो ठाउँबाट हिँडेर एक दिनको बाटोमा पनि कुखुरा पालन भएका छन् ।

    चल्ला उत्पादनमा अविनाश ह्याचरीको जति क्षमता छ त्यसको एक तिहाईको हाराहारीमा छ । हप्ताको ६ लाख ७ लाख चल्ला उत्पादन हुन्थ्यो भने अहिले दुई लाखको हाराहारीमा ब्रोइलर चल्ला उत्पादन हुन्छ । ७० हजार जति लेस चल्लाको उत्पादन हुन्छ । यसको तीन गुणा उत्पादन क्षमता राख्छ अविनाश ह्याचरीले ।

    नेपालबाट कुखुरा निर्यातको संभावना

    पहिलो कुरा नेपालमा विदेशबाट धेरै कुरा आयात गर्न परेको छ, कमसेकम कुखुरा आयात गर्न परेको छैन, यसमै चित्त बुझाऊँ । निर्यातको जहाँसम्म कुरो छ, नेपालको आफ्नो विशेषता भएका उत्पादनहरुलाई निर्यात गर्न सकिन्छ, सबै चिज निर्यात गर्न सकिन्न । अहिले नेपालले आयात गर्न पर्ने चिजहरुलाई मात्र रोक्दै जान सक्यो भने राम्रो हुन्छ । कुखुरा, अण्डा, मासु भनेको अझै संवेदनशील छ । हामीसँग ठूला छिमेकी देश छन्, जहाँ हामी त्यो परिमाणमा निर्यात गर्न सक्दैनौँ । अर्कोतर्फ हरेक चिज आयात गरेर गरिने उत्पादनको मूल्य पनि उच्च हुन जान्छ ।

    खास गरी नेपालको आर्थिक उत्थान नहुनुको कारण राज्य व्यवस्थामा बस्ने राजनीतिकर्मी, कर्मचारी, मिडियालगायत हामी सबै जिम्मेवार छौं । राष्ट्रिय मिडियाले व्यवसायलाई कति प्रतिशत हाइलाइट र कभरेज गरेको देख्नुहुन्छ ? यसको मतलब हामीलाई चाहिएको होइन । झैझगडा, झमेला, राजनीति सबैभन्दा बढी कभरेज छ । यो चिजलाई हामीले अगाडि बढाउनै खोजेका छैनौँ । उद्योग भनेको आज सुरु गरेर आजै आम्दानी हुने होइन, त्यसको लागि समय लाग्छ । त्यसको लागि नीति खोइ ? राज्यले अति आवश्यक नीतिहरु बनाउँदैन । अलिअलि बनेका पनि त्यसको अनुगमन गर्दैन ।

    हामीले यहाँ उत्पादन गर्दा हरेक किसिमको प्यारामिटरले समाउँछ तर विदेशबाट आयात गर्दा कुनै प्यारामिटर लाग्दैन, कुनै गुणस्तर चाहिँदैन । व्यवसाय गर्न चाहनेहरुका लागि पनि राज्यले अनेक झन्झट लगाइदिन्छ । सरकारले उत्पादनभन्दा आयातलाई प्रोत्साहन गरिराखेको छ ।

    यहाँ उत्पादन गर्न चाहिने कच्चा पदार्थमा कर छ, कच्चा पदार्थमा जति कर लाग्छ, त्यो भन्दा कम करमा उत्पादित वस्तु आउन दिइराखेको अवस्था छ । त्यसलाई कुनै नीतिले समाउँदैन र वस्तुको गुणस्तर परिक्षणसमेत छैन । उदाहरणका लागि तरकारीमा विषादी त परीक्षण गर्न पर्यो नि ! त्यसमा समेत छुट दिन्छ । यो परिस्थितीमा यहाँ उद्योग स्थापना हुँदैन, विडम्वना छ ।

    २०६० सालसम्म नीति निर्माताले व्यवसायीले भनेका कुराहरु सुन्थे । अहिलेकाले केही सुन्दैनन्, केही पनि गर्दैनन् । आवश्यक नीतिसमेत बनाउँदैनन्, बनेका नीतिको फलो गर्दैनन्, नचाहिने ठाउँमा अनुगमन गरेर दुःख दिन्छन् । अनुगमनमाथि अनुगमन गर्छंंन्, जसको कुनै तुक छैन । खुलेआम विष भएको चिज ल्याएर बेच्दा केही गर्दैनन्, अनि यहाँ सामान्य कुरामा चेकजाँच गरेर दुःख दिन्छ । अनि यहाँ कसरी उद्योग स्थापना हुन्छ ? उद्योग विना यहाँ विकास सम्भव छैन ।

    विकासका लागि उद्योग, कृषि, पर्यटनलाई प्रोत्साहन गर्नुपर्यो । तर, यहाँ उद्योग र कृषिमन्त्री भएभरका मन्त्री मध्येको निकम्बा व्यक्तिले पाउँछ । त्यो पार्टीले धेरै किचकिच गर्र्यो उसलाई उद्योग मन्त्री दिउँ वा कृषि मन्त्री दिऊँ भन्ने हुन्छ । पोर्टफोलियोमा पनि कृषि र उद्योग मन्त्री तलतिर पर्छ । अर्थमन्त्री, रक्षामन्त्री, गृहमन्त्रीहरु ठूला पोर्टफोलियोमा पर्छन् । अर्थमन्त्रीले खास केही गर्न पाउने होइन ।

    तर, यहाँ अधिकांश अर्थमन्त्रीले आफ्नो खल्तीको दिए जस्तो मैले दिएँ भन्छन् । जसको भडारी÷खजान्जीको भन्दा ठूलो भूमिका हुन नहुने उसलाई ठूलो बनाइयो र कृषि, उद्योग, पर्यटनलाई निकम्बा बनाएर राख्दा आर्थिक उन्नति हुन्छ ? समृद्धि गफ गरेर आउँछ ? कुन कुन चिज गरेर ल्याइन्छ समृद्धि भनेर खै भनिएको ? बहुदल आएदेखि नै त्यही तीन÷चार जना प्रधानमन्त्री भएका छन् । को कति चोटी मन्त्री भयो रे भन्ने गणना गरेर बसेको छ ।

    मकै आयात रोक्न गौरीशंकर एग्रो

    दैनिक ४० देखि ६० टन दाना त मैले पालेकै कुखुराको लागि लाग्छ । पहिला चितवनमा उपयुक्त हुन्छ भनेर चितवन मै दाना उद्योग राखियो । अहिले बदलिँदो परिस्थितीमा पूर्वमा यसको सम्भावना छ । यसको मुख्य कच्चा पदार्थ भनेको मकै हो । मकै उत्पादन क्षेत्र कोशी पारि हुने भएपछि अब उद्योग नै त्यही राखौँ भनेर त्यहाँ गइयो । वास्तवमा उद्योग भन्न मिल्ने कुखुरा र माछाको दाना उद्योग दुई वटा छन्, अन्य खुद्रा उत्पादनहरु छन् । गौरीशंकर एग्रो इन्ड्रष्ट्रिज प्राइभेट लिमिटेड भनेर दर्ता गरेर सुरु गरिएको छ । यसले सबै किसिमको जनावरका लागि दाना उत्पादन गर्छ । अहिले यो उद्योगले मकै उत्पादनलाई पनि फोकस गरेर मकै उत्पादन गर्न थालेको छ ।

    नेपालमा १६ अर्ब रुपैयाँको मकै आयात छ, हामी यसलाई रोकेर निर्यात पनि गर्ने सोचमा छौँ, यसको सम्भावना पनि छ । हिजो सबैभन्दा बढी महंगो खेत भनेको धान फल्ले ठाउँ थियो । अहिले मकैबाट डबल आम्दानी हुने भएपछि मकै खेतीको वृद्धि हुने भयो । त्यसैले हाम्रो फोकस मकैमा छ र यो निर्यात हुनसक्छ ।

    यसै गरी उत्पादन वृद्धिका लागि अहिले हामीसँग जे जे छ त्यसमा अपुग चिजको परिपूर्ति हामी गरिदिन्छौँ । हामी त्यसको सुरुवात गर्छौँ । हामीले सुरु गरेपछि अन्य थुप्रै आउन सक्छन् । मल, बिउको छनोट समस्यालाई विज्ञबाट समाधान गराइदिन्छौँ । खेती गर्नका लागि एउटा किसान बैंकबाट गएर पैसा ल्याउन सक्दैन भने त्यसको व्यवस्था हामीले गरेका छौँ ।

    अब मकै उत्पादक साना–ठूला किसानले ठूलो बैंकबाट २० हजार, ५० हजार पनि ऋण लिन सक्ने व्यवस्था हामीले गरेका छौँ । साथै हामी काम गर्नका लागि आवश्यक यन्त्र उपकरण पनि ल्याएर प्रमोट गर्दैछौँ । फलेको मकैलाई ल्याएर छोडाउने, सुकाउने व्यवस्था पनि हामीले गरिराखेका छौँ । त्यसलाई स्टोर गर्न सुरुवाती अवस्थामा हामीले अहिले ३० हजार मेट्रिक टन क्षमताको स्टोर पनि निर्माण गरेका छौँ ।

    भटमास उत्पादनतर्फ पनि गौरीशंकर एग्रो

    अहिले हाल भटमासको उत्पादन सम्भावना देखेर हामी भटमास उत्पादनमा पनि लागेका छौँ । अहिले स्थापना भएको उद्योगले ४० हजार मेट्रिक टनसम्मको भटमास खरिद गर्न सक्छ । अहिले १४ अर्ब रुपैयाँसम्मको भटमास आयात भइराखेको छ । यहाँ उत्पादन हुने भटमासको गुणस्तर पनि राम्रो हुन्छ र किसानले अवसर पनि पाउँछन् । हामीलाई पनि आयात गरिरहनुभन्दा यहीँको उत्पादन उपयुक्त हो भन्ने हिसाबले यसमा पनि हामीले प्रमोट गर्न सुरु गरेका छौँ ।

    कुखुरा निर्यात गर्न सम्भव नभए पनि मकै र भटमासको निर्यात गर्न सम्भव छ । यहाँ कति जमिन बाँझो छन् । मकै र भटमास नै लगाए पनि व्यवस्थित हिसाबले लगाएको छैन । विभिन्न चिजको कठिनाईहरु छन् । सिंचाईको व्यवस्था नाजुक नै छ । अहिले हामी जहाँ जहाँ सिंचाई र सम्भावना भएको जमिन छ, त्यो त्यो ठाउँमा इन्टर गरिराखेका छौँ । पहिले त्यहाँ विकास गरौँ अनि विकल्प खोजौँला । जस्तो सुनकोशी मरिन डाइभर्सनबाट पानी गएपछि पूर्वी तराई र मध्य तराई पूर्ण रुपमा सिंचाई हुन्छ । त्यहाँको जमिनमा एक वर्षमा लगभग तीन बाली मकै उत्पादन गर्न सकिन्छ ।

    जस्तो पहाडी भेगमा अफ सिजनमा हुने तरकारी उत्पादन हुन्छ । यही तरकारीहरु आयात गर्दा उच्च मूल्य पर्न जान्छ । यस्ता तरकारीहरु यही उत्पादन गरेर अन्य आयात गर्दा हुन्छ । भलै हामी यसको निर्यात गर्न, प्रतिस्पर्धा गर्न सक्दैनौँ । किन सक्दैनौँ भने भारतमा कृषिमा थुप्रै अनुदान छ, सरकारी बजेट पोखेको छ । हामी कहाँ अनुदान नाममा एक पैसा छैन । अनुदानको नाममा जहाँ जहाँ पैसा दिएको छ, त्यो पनि आफ्नै कार्यकर्ताका लागि मात्र । यदि वास्तविक किसानले पैसा पाएका थिए भने खै त आज बाख्रा पालन, गाई पालन देखिएको ? सक्कली किसानले पाएनन् नक्कलीले पाए । बनाएकै त्यही संरचना हो कार्यकर्ता पोस्ने ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend