काठमाडौैँ । तिहार सम्मुखमा छ । तिहारको बेलामा विद्युतीय सामग्रीहरुको व्यापार व्यवसाय फस्टाउने आशामा व्यवसायीहरु छन् । तर विगतको वर्षहरुमा भन्दा यस वर्ष ग्राहक कम आएको व्यवसायीहरु बताउँछन् । माग कम आएसँगै पसलको भाडा कसरी तिर्ने भन्ने चिन्ता व्यवसायीहरुलाई छ । न त माग बढेको छ न त भनेको जस्तो व्यापार । पोहोरकै विद्युतीय सामग्रीहरु बिक्री नभएकाले यस वर्ष नयाँ सामग्रीहरु खासै नकिनेको व्यवसायीहरु बताउँछन् ।
गत सालकै सामान बेचिसक्ने सोचमा व्यापारीहरु छन् । तिहारमा विशेषतः बिक्री हुने भनेको झिलिमिली बत्ती नै हो । तर युवाहरु विदेश जाने र नेपालमा रमाइलो गर्ने जनशक्ति कम भएकाले व्यापार व्यवसाय हुन नसकेको अनुमान व्यवसायीहरुको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बजारको अवस्था कमजोर रहेको बताए । उनकाअनुसार विगतका वर्षहरुमा झैँ यस वर्ष विद्युतीय सामग्रीको व्यापार छैन ।
कोलकताबाट वीरगञ्ज नाका हुँदै भारतबाट आउने सामानहरु आइसकेको भएपनि तातोपानी र केरुङ नाका भएर चीनबाट आउने विद्युतीय सामग्री आएका छैनन् । तातोपानी नाकाबाट केही दिनभित्रै सामग्री आउने जानकारी पाएपनि काठमाडौं केन्द्रित बजार हुने निश्चित भएको उनको भनाइ छ । यस वर्ष तिहारमा ३० करोड सम्मको सामान बिक्री हुने महासंघको अनुमान छ । तर विगतका वर्षहरुमा ५०/६० करोडको बजार तिहारमा हुने गरेको थियो ।
‘यथार्थमा भन्ने हो भने बजारको अवस्था कमजोर भएको कारणले विगतका वर्ष जस्तो धेरै विद्युतीय सामग्री ल्याएका छैनौँ । कलकताबाट वीरगञ्ज हुँदै आउने सामानहरु लगभग आइसकेको अवस्था हो । केरुङ र तातोपानी नाकाबाट आउने सामानहरु बाटो बिग्रिएको कारणले गर्दा आउन सकिरहेको छैन ।’ उनी भन्छन्, ‘त्यसकारणले यथार्थ डाटा आइसकेको छैन । हाम्रो अनुमानमा २५/३० करोडको सामान आउँछ कि भन्ने छ । नेपालको बजार विगतमा धेरै राम्रो थियो । ५०/६० करोडको मार्केट हो ।’
अध्यक्ष देवकोटाले पोहोर सालकै विद्युतीय सामानहरु बिक्री नभएकाले यस वर्ष नयाँ सामान ल्याउँदा फसिन्छ कि भन्ने त्रास व्यवसायीहरुमा रहेको बताए । कन्स्ट्रक्शनका कारण राम्रो व्यापार हुने भएपनि अहिले युवा जनशक्ति बाहिर हुँदा कन्स्ट्रक्शनको काम नेपालमा कम हुँदै गएको उनको भनाई छ । उनले कोभिडपछि नेपालको बजार संकुचनमा रहेको बताए । व्यवसायीहरुसँग पोहोर सालको स्टक रहेकाले त्यो बेच्ने भन्ने योजना बनाएर अघि बढेको उनले सुनाए ।
उनले भने, ‘अहिले व्यवसायीहरु ल्याएर फसिन्छ की भन्ने विगतको अनुभवले गर्दा त्यति उत्साहति छैनन् । विगतमा कन्स्ट्रक्शन राम्रो थियो, युवा जनशक्ति थिए, अहिले युवा जनशक्ति छैन, कोभिडपछि यहाँको बजार संकुचनमा छ, रिकभर भइसकेको छैन । तातोपानी नाका केही दिनमा खुल्ने भन्नेछ । त्यो भनेको अन्तिम समयमा आउँदा काठमाडौं केन्द्रित मार्केट हुन्छ, त्यो भनेको व्यापार व्यवसाय खुम्चिने अवस्था छ । सबै व्यवसायीहरुसँग पोहोर सालको स्टक रहेकाले त्यो बेच्ने भन्ने योजना राख्नुभएको छ ।’
नेपाली बजारमा आउने विद्युतीय सामग्री सबैभन्दा धेरै चीन र भारतबाट आउने गर्दछन् । त्यसमाथि पनि चीनबाट धेरै आउँछन् । तेस्रो मुलुकबाट केही सामग्रीहरु मात्रै नेपाल आउने गरेको अध्यक्ष देवकोटा बताउँछन् । तिहारको बेलामा माला बत्तीहरु ल्याइने गरेको तर तिहारमा भन्दा विद्युतीय सामग्रीको व्यापार गर्नेहरुलाई दशैँअघि धेरै व्यापार हुने बताए ।
अहिले युवा जनशक्ति कम हुँदा त्यो व्यापार हराउँदै गएको छ । उनले भने, ‘चीन र भारतबाट सामानहरु धेरै ल्याउँछौँ । बाँकी केही सामग्रीहरु तेस्रो मुलुकबाट ल्याइन्छ । हामी चीन र भातरसँग निर्भर छौँ । तिहारको बेलामा माला बत्तीहरु ल्याइन्छ । हाम्रो अनुभवले के भन्छ भने तिहारमा जनरल पब्लिक भीडभाड हुन्छ, मालाबत्ती किन्नुहुन्छ । रमाइलो हुन्छ । तर हाम्रो खास क्वालिटीको हिसावको व्यापार भनेको दशैँमा हो । दशैँको बेलामा एउटा ग्राहकले ४०/५० हजारको सामान लिएर जाने गर्नुहुन्थ्यो ।’
सुन्धाराका विद्युतीय सामग्रीहरुको व्यापार गर्दै आएका सुशील प्रधानाङ्गले अहिले व्यापार खासै राम्रो नभएको गुनासो गरे । नेपालीहरु अन्तिममा आएर किन्ने बानी भएकाले पनि अझै व्यापार हुने आश रहेको बताए । सहकारीमा जम्मा पारेको रकम सहकारी ठगहरुले खाइदिएकाले पनि आम नागरिकसँग पैसा नहुँदा क्रय गर्ने सामर्थ नरहेको हुनसक्ने अनुमान उनको छ । पैसाको अभावका कारण नै बजारमा चहलपहल कम रहेको बताए ।
उनले भने, ‘व्यापार खासै अहिलेसम्म देखिएको छैन । हामी नेपालीहरु अन्तिम अन्तिममा तात्ने चलन छ तर अहिलेसम्म खासै देखिएको छैन । कारोबार धेरै नै गर्ने लक्ष्य हो तर छैन । मलाई जहाँसम्म लाग्छ, सहकारीले पैसा जुन अपचलन गरेको छ नि, त्यसको असर हामी नेपाली जनतामा परेको जस्तो मलाई लाग्छ । किनभने जे जति पैसा थियो, त्यो जम्मा गरिएको ठाउँ त्यही नै हो । मुख्य कारण पैसाको अभाव नै हो । पोहोर साल ठिकै व्यापार थियो । अहिले सर्वाइभ हुने स्थिति नै देखिएको छैन । सामान त जसरी पनि आउँथ्यो होला तर डिमाण्ड नै छैन ।’
बजारमा विद्युतीय सामग्रीको माग नै नरहेको उनको भनाइ छ । सुन्धारा क्षेत्रमै विद्युतीय सामग्रीको व्यवसाय गर्दै आएकी संगीता श्रेष्ठ पनि यस वर्ष खासै व्यापार नभएको बताउँछिन् । तिहार आउन अझै केही दिन बाँकी भएकाले अन्तिमसम्म व्यापार हुने आशा छ । प्रविधिको समय भएकाले मोबाइल, रिमोटबाट चलाउन मिल्ने सामग्रीहरुको डिमाण्ड आउने भएपनि युवा जनशक्तिहरु बाहिर रहेकाले खासै माग नरहेको बताइन् । उनले रमाइलो गर्ने युवा जनशक्ति बाहिरिँदा खल्लो महशुस हुने गरेको बताइन् । साथै व्यापार व्यवसाय पनि राम्रो हुन नसकेको उनको गुनासो छ ।
नेपालमा अहिले वृद्धवृद्धा र बालबालिकाहरु मात्रै रहेको उनको ठम्याइ छ । नयाँ इनोभेसन चाहिने युवाहरु बाहिरिँदा देशमा व्यापार व्यवसाय पनि खस्किएको उनले बताइन् । उनले भनिन्, ‘नेपालमा बस्ने मान्छे नै धेरै छैनन् । प्रायःजस्तो बाहिर नै जान्छन् । राम्रो लगाउने, झिलिमिली गर्ने भन्ने मान्छे जति सबै विदेशिए । बुढाबुढी मात्रै छन् । नयाँ इनोभेसनको कुरा युवाहरुलाई चाहिन्छ, युवाहरु देशमै छैनन् । वार्म लाइटको यस वर्ष बढी डिमाण्ड छ ।’
व्यवसायी दुर्गा सापकोटा पनि विगतको तुलनामा व्यापार कम रहेको बताउँछिन् । प्राकृतिक प्रकोप, पैसाको कमीका कारण पनि ग्राहकहरु नआएको हुनसक्ने उनको अनुमान छ । उनी भन्छिन्, ‘दीपावलीको लागि व्यापार कम नै छ । हुनत समय आउन अझै बाँकी नै छ । भनेको जस्तो व्यापार भएको छैन । प्राकृतिक प्रकोप, पैसाको कमी पनि छ । त्यसैले पनि ग्राहक कम आउनुभएको छ ।’
यता व्यवसायी बाबुराम घिमिरेले असोजको तुलनामा कार्तिक लागेपछि विद्युतीय सामग्रीहरुको व्यापार बढेको बताए । बजारमा विगतको तुलनामा खासै चहलपहल भने नरहेको उनको भनाइ छ । विद्युतीय सामग्रीहरुको बजार मूल्य भने विगतको सरह नै रहेको बताए । उनले भने, ‘कार्तिक लागेपछि व्यापार केही न केही सुध्रिएको छ । चहलपहल त खासै छैन । पोहोर सालको भन्दा यस वर्ष पाउने रेट सस्तो छ ।’
अर्का व्यवसायी अमित केडिया भने पहिलाको तुलनामा व्यापार धेरै नै कम रहेको बताउँछन् । पहिलाको भन्दा ६०÷७० प्रतिशतले व्यापार कम रहेको बताए। देशको आर्थिक् अवस्था पनि व्यवसाय नफस्टाउनुको एउटा कारण हुनसक्ने भन्दै उनले भने विगतका वर्षहरुमा भ्याइनभ्याइ हुने व्यवसायीहरु अहिले खालि रहेको छ । पहिलाको भन्दा ६०/७० प्रतिशतले घटेको छ । तिहारको समयमा पनि हामी खालि छौँ । विगतका वर्षहरुमा भ्याइनभ्याइ हुन्थ्यो । सरकारले पनि यो विषयमा कुनै ध्यानाकर्षण गरेको छैन ।’
व्यवसायी राज नेपालले व्यवासायीहरुलाई तिहारको समयमा पनि व्यापार नहुँदा चिन्ता बढेको बताए । उनले तुलनात्मक रुपमा यस वर्ष व्यापार कम रहेको बताए । सरकारले व्यवसायीहरुलाई बचाउने काम गर्नुपर्ने उनको माग छ । उनले भने, ‘व्यापारीहरुलाई व्यापार नभएर चिन्ता छ । तुलनात्मक रुपमा यस वर्ष व्यवसायिक रुपमा र अरु हिसावले पनि खासै उत्साह छैन । यतिबेला राम्रै चाप हुनुपर्ने बेला हो । तर अघिल्ला वर्षहरुको जस्तो ठूलो चाप छैन । व्यवसायीहरुलाई कसरी हुन्छ सरकारले बचाउने काम गर्नुपर्छ । बजारमा चहलपहल गर्नेकाम गर्नुपर्छ । यस्तै अवस्था भइरहे व्यवसायीहरु धेरै पलायन हुने अवस्था आउँछ ।’
व्यवसायी नेपालले बजारमा चहलपहल हुने काम सरकारले गर्नुपर्ने बताए । उनले यस्तै अवस्था भइरहे व्यवसायीहरु केही समयपछि आफैँ पलायन हुने अवस्था आउने बताए । व्यवसायीकाअनुसार यस वर्ष विगतको तुलनामा विद्युतीय सामग्रीहरुको माग धेरै कम छ । ग्राहकहरु पनि बजारमा किनमेलका लागि पुगेका छैनन् । देशको आर्थिक अवस्थाका कारण हुनसक्ने कतिपयको अनुमान छ । अन्तिमसम्ममा व्यापार हुने आशामा रहेको उनीहरु बताउँछन् ।