कात्तिक २० काठमाडौं – प्रधानमन्त्री केपी ओलीले अप्ठ्यारो परिस्थिति सृजना हुन सक्ने भन्दै सामना गर्न तयार रहन मन्त्रीहरुलाई निर्देशन दिएका छन्। बिहिबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई यस्तो निर्देशन दिएका हुन्।
तर प्रधानमन्त्री ओलीले कस्तो संकट हो भन्ने बारे नबताएको स्रोतले जनाएको छ।
बैठकमा उनले सरकारलाई राम्रोसँग काम गर्न नदिईएको र पार्टीभित्रैबाट लगातार असहयोग भैरहेको पनि गुनासो पोखेका थिए ।
प्रचण्डले आफू निकटका नेताहरुसँग प्रधानमन्त्री ओलीले अलग-अलग भएर जाने प्रस्ताव गरेको ब्रिफिङ गरेपछि विवाद थप उत्कर्षमा पुगेको छ।
उता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको चर्को विवादका कारण ओलीले कुनै कदम चाल्न लागेका हुन् कि भन्ने शंका उत्पन्न भएको प्रचण्डनिकट नेताहरु बताउँछन्। विवादका बीच प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमबारे प्रचण्ड पक्षले कानुन व्यवसायीहरुसंग परामर्श समेत थालेको छ।
पार्टीमा उत्पन्न विवाद समाधान गर्न र पार्टी फुटबाट बचाउन नेता कार्यकर्ताको दवावपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
सरकारले गर्ने महत्वपूर्ण निर्णय र नियुक्तिमा पार्टीभित्र छलफल गर्ने सहमती भए पनि प्रधानमन्त्री ओलीले एकलौटी निर्णय र नियुक्तिलाई निरन्तरता दिएको भन्दै प्रचण्ड पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।