logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • बिजुली खपत गरेको प्रमाण दिनुस्, किस्ता चाहिँदैन आजै पैसा तिर्छौं

    बिजुली खपत गरेको प्रमाण दिनुस्, किस्ता चाहिँदैन आजै पैसा तिर्छौं

    469
    Shares
    बिजुली खपत गरेको प्रमाण दिनुस्, किस्ता चाहिँदैन आजै पैसा तिर्छौं

    काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८०/०८१ मा ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि वृद्धिदर भने खुम्चिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गत वैशाखमा सार्वजनिक गरेको चालु आर्थिक वर्षको तथ्यांकअनुसार आर्थिक वृद्धिदर ३.८७ प्रतिशत मात्र हुने अनुमान गरेको छ ।

    देशको आर्थिक अवस्थामा महत्वपूर्ण भूमिका रहने उद्योग व्यवसाय र निर्माण क्षेत्र अहिले ऋणात्मक छ । यस्तो आर्थिक तथा व्यवसायिक पक्षलाई सवल कसरी बनाउन सकिन्छ भन्ने बहस सदनदेखि जन जनमा हुन थालेको छ ।

    यद्यपी, देशको खम्बाका रुपमा रहेका युवा जनशक्ति विदेश पलायन हुने क्रम अकल्पनीय छ । कृषि प्रधान देशका कृषकहरु नै देशमा कामको उपयुक्त वातावरण नभएको भन्दै पलायन भइरहेका छन् । त्यसपछि धमाधम विद्यार्थीहरु पलायन भइरहेका छन् भने देशको पछिल्लो अवस्थाले गर्दा अब व्यवसायीहरु पनि विदेश पलायनको मनस्थितीमा पुगेका छन् ।

    देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अहिले जति पनि उद्योग व्यवसाय सञ्चानल भइरहेका छन्, तिनीहरुलाई प्रोत्साहन गर्नु पर्नेमा नेपाल विद्युत् प्राधिकरणले हामी व्यवसायीहरुलाई हतोत्साही हुने काम गरेको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निर्देशनमा गत बिहीबारदेखि डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका ४९ उद्योगको बिजुली लाईन काटिएको छ । यो सरासर गलत कदम हो ।

    हामीले तिर्नै नपर्ने शुल्क कसरी तिर्ने ? हामीले प्रमाण दिनुस् पैसा दिन्छौँ भनिराखेका छौँ तर, उहाँ प्रमाण नै दिन तयार हुनुहुन्न । टिओडी मिटर लगाएको बिजुलीको बिल त हामीले तिरेकै छौँ । प्राधिकरणबाट पाँच वर्षपछि प्रिमियम बिजुलीको बिल पठाइयो, हामी तिर्न पनि तयार छौँ । तर, हामीलाई प्रमाण चाहिन्छ । हामीले बारम्बार बिजुली प्रयोग गरेको प्रमाण माग्दा प्राधिकरणले दिन्न भन्ने गरेको छ, यस्तो पनि हुन्छ ? हो, कतिपय उद्योगले बक्यौता तिरे भने कतिले हामी किस्तामा तिर्छौँ भनेका छन् ।

    तर, यी सबैलाई एउटैमा राखेर ‘जेनरलाइज्ड’ गर्न भने मिल्दैन । सबैको आ–आफ्नो परिस्थिती छ । बक्यौता नतिर्नेमा सरकारकै उद्योग पनि छन् । हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टले किन बक्यौता नतिरेको ? ४९ उद्योगमा तिर्नै पर्ने ५/७ वटा उद्योग होलान् । हामीले बिजुली खपत गरेको प्रमाण दिनुस्, किस्ता पनि चाहिँदैन आजको आजै सबै पैसा तिर्छौ भनिराखेका छौँ । हामीले खपत गरेको बिजुलीको प्रमाण दिन किन समस्या भयो प्राधिकरणलाई ? यो व्यवहारमा कार्यकारी निर्देशक कुलमान घिसिङको ‘इगो’ देखिन्छ ।

    विद्युत प्राधिकरणले सार्वजनिक गरेको लोडसेडिङ तालिकाभित्र उद्योगहरु बसेको छन् । बिजुली उपयोग गरेको प्रमाण देखाए तुरुन्त महशुल बुझाउन तयार छन् । उनले उद्योगीले डेडिकेटेड र ट्रंक लाइन मागेका छैनन् । लाल आयोगले दिएको प्रतिवेदनको अक्षरस पालना गर्न तयार रहेका छौं । त्यसैले डेडिकेटेड र ट्रंक लाइनको लफडा सदाका लागि अन्त्य गर्न चाहान्छौं ।

    उद्योग भनेको राष्ट्रिय सम्पत्ति हो भने हामी देशको ‘केयर टेकर’ हौँ । हामीले साधारण कुरा गरिराखेका छौँ, झुटा बिल बनाउने होइन कि वास्तविक बक्यौताको बिल देखाउनुस् हामी पैसा तिर्न तयार छौँ भनिराखेका छौँ । यदि यस्तो हुने हो भने यो समस्या समाधान हुन्छ, यसमा हाम्रो कुनै अडान छैन ।

    विद्युत प्राधिकरणले उद्योगी व्यवसायीमाथि देखाएको घमण्डले दुरगामी परिणाम भोग्नुपर्ने अवस्था आउँछ । प्राधिकरणको यो व्यवहारले लगानीकर्तामाझ निकै नराम्रो सन्देश गइराखेको छ । जसले गर्दा नेपालमा कुनै पनि विदेशी लगानी आउने देखिँदैन ।

    उद्योग भनेको काम गर्ने कर्मचारीदेखि सबै नेपालीको साझा सम्पत्ति हो । यो राष्ट्रको सम्पत्ति हो, हामी त्यसको केयर टेकर मात्र हौँ । यो समस्याको एउटा मात्र समाधान भनेको खपत भएको बिजुलीको वास्तविक प्रमाण प्राधिकरणले दिनुपर्यो न कि जबरजस्ती गर्ने होइन । घिसिङले ‘व्यवसायी भनेका चोर/ठग’ हुन् भन्ने ट्याग लगाइदिनु भएको छ ।

    हामीलाई बैइमान बनाएर उहाँले राष्ट्रलाई नै भ्रमित गराइराख्नु भएको छ । गल्ती गर्नेलाई आफूले के गल्ती गरेँ भन्ने अवश्य थाहा हुन्छ । म गलत छु भन्ने कुलमान जीलाई पनि थाहा छ । उहाँले गल्ती लुकाउनका लागि प्रमाण दिन्न भनिराख्नु भएको छ, जुन कुरा आम जनता र मिडियाले बुझ्नु जरुरी छ ।

    उद्योगीहरुमाथि भएको व्यवहार सही हो या गलत भन्ने फैसला राज्यले गर्न सक्दैन भने अन्य अप्ठ्याराहरु त गौण भए । प्रमाण दिनुस् पैसा लिनुुस् भन्दा दिन्न भन्ने दादागिरीको कुनै तुक नै छैन । यी र यस्तै व्यवहारले गर्दा पहिला श्रमिक पलायन भए । पछि विस्तारै कृषक हुँदै विद्यार्थी पलायन भए, अब व्यवसायीको पालो जस्तो देखिएको छ । जसलाई जे काम आउँछ त्यो कामको लागि सरकारले माहोल बनाउन सक्दैन भने देशमा केही गर्छु भन्नुको कुनै अर्थ नै रहेन ।

    (व्यवसायी राजेश अग्रवालसँगको कुराकानीमा आधारित)

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend