logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • महामन्त्री थापाको आग्रह : धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि पनि तत्काल अनुसन्धान गर्नुस्

    महामन्त्री थापाको आग्रह : धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि पनि तत्काल अनुसन्धान गर्नुस्

    679
    Shares
    महामन्त्री थापाको आग्रह : धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि पनि तत्काल अनुसन्धान गर्नुस्

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा संलग्न कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेललाई पनि तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

    सहकारी छानविन संसदीय समितिले कांग्रेसका उपसभापति गुरुङ र एमाले सांसद पोखरेल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको देखाएकाले सरकारले उनीहरुमाथि पनि तत्काल छानविन गरी दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने महामन्त्री थापाको भनाई थियो । उनले सरकारले आम नागरिकको विश्वसनीयता जगाउन पनि ठगीमा संलग्न जो कोही पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने काममा ढिलाई गर्न नहुने बताए ।

    सोमबार नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको दशैँ, तिहार, छठ लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले न्यायको कठघरामा जो कोही पनि उभिनुपर्छ भन्ने मान्यता स्थापित गराउन पनि सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन हिच्किच्याउने काम गर्न नहुने बताए ।

    उनले भने, ‘सहकारीका अपचलन गर्ने सयौंको संख्यामा छन् । ती मान्छेमध्ये ५/६ सय मान्छे अभियोजनको क्रममा छन् । अरु ५/७ सय मान्छे फरार छन् । ती सबै मान्छेलाई अनुसन्धानको दायरामा ल्याउ । त्यो नयाँ होस् कि पुरानो होस कि । त्यो घाम तापेर बसेको होस कि घण्टी बजाएर बसेको होस् कि । रुखको छायामुनि बसिराखेको होस् कि । सबैलाई अनुसन्धानमा ल्याउ ।

    छानविन समितिमा बकाईदा त्यही भन्छ । त्यसैले हामी भनिरहेका छौं सरकारलाई–यी सबै विषयहरुका सन्दर्भमा जे काम अह्राएको छ, त्यो काम राम्रोसँग गर्नुस् । आम नागरिकहरुको विश्वसनीयताको कुरा पनि हो । अहिले बाहिर छलफल चर्चा चलेको छ–नेपाली कांग्रेसको एक जना नेता पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो ।

    थप अनुसन्धान गर्नुपर्छ । मत सरकारलाई यहीबाट अनुरोध गर्न चाहन्छु–बकाईदा अनुसन्धान गर्नुस् । अनुसन्धान गर्नुपनि पर्छ । नेकपा एमालेका ऋषि पोखरेलजीको नाम आयो । गर्नुस अनुसन्धान । अनुसन्धान गर्नुस् मात्रै होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस् । दण्ड पनि दिनुस् । यो देशमा के स्थापित गर्नुपर्ने छ भने कोही पनि मानिस जुनसुकै राजनीतिक दलको होस–कांग्रेस होस्, एमाले होस्, रास्वपा होस्, राप्रपा होस, ठूलो होस्, सानो होस्, शक्तिशाली मानिस होस् ।

    पाँच पटक प्रधानमन्त्री बनेको मानिस होस्, अहिले भइरहेका प्रधानमन्त्री होस कि भोली प्रधानमन्त्री हुने मानिस होस् कि । जो सुकै होस, कानूनभन्दा माथि कोही छैन । न्यायको कठघरामा सबै उभिनुपर्छ भन्ने भन्नेकुरा पनि सरकारले स्थापित गराउन सक्नुपर्छ । राज्यको अरु निकायले स्थापित गराउन सक्नुपर्छ ।’

    महामन्त्री थापाले प्रधानमन्त्री, मन्त्रीहरुलाई धेरै नबोल्न पनि सुझाव दिए । सरकारमा बसेकाहरुले बोल्ने नभई उनीहरुले गरेका काम बोल्नुपर्ने महामन्त्री थापाको भनाई थियो । महमन्त्री थापाले अवको ३ वर्ष तलमाथि नहुने भएकाले सरकारले त्यही अनुसार काम गर्नुपर्ने बताए ।

    महामन्त्री थापाले सरकार बलियो भएकाले सन्देश दिनेगरी काम हुनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend