काठमाडौँ । नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साफको फाइनलको हार बिर्सिन लामो समय लाग्ने बताएकी छन् । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले यस्तो बताएकी हुन् ।
साम्बाले साफको फाइनलमा फेरी एक पटक उपविजेतामा सिमित हुदा दुख लागेको बताउँदै यो हार बिर्सिन धेरै समय लाग्ने बताएकी हुन् ।
उनले आम दर्शकले देखाएको साथ र सहयोगप्रति सधै ऋणी रहेको उल्लेख गर्दै अर्को पटक उपाधि दिलाउने विश्वास व्यक्त गरेकी छन् । साथै, उनले नेपालमा हुने महिला फुटबल गतिविधिलाई अझ सहयोग गरेर थप बलियो बनाउन आम दर्शकले सहयोग गर्ने विश्वास लिएको पनि बताएकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशसँग नेपाल २–१ ले गोलअन्तरले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । योसँगै बङ्गलादेशले भने साफ च्याम्पियसिपमा दोस्रोपटक उपाधि जित्न सफल भएको हो ।
उनले भनेकी छन् :
साफ महिला च्याम्पियनसिपमा पुन: एकपटक उपविजेतामा सिमित हुँदा निकै दुख लागेको छ । यो हार बिर्सन धेरै समय लाग्नेछ । यो हामी दोस्रो भएको भन्दापनि योग्य रहेको ट्रफी जित्न नसकेको भन्ने बुझेको छु । यहाँहरुको साथ र सहयोगका लागि सदा ऋणी रहनेछु । आशा छ, यो विश्वासलाई अर्कोपटक उपाधिका साथ न्याय दिन सक्नेछु । आज नै आफ्नो व्यावसायिक यात्राका लागि फ्रान्स प्रस्थान गर्दैछु । यहाँहरुले नेपालमा हुने महिला फुटबल गतिविधिलाई अझ सहयोग गरेर थप बलियो बनाउन सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।