logo

२०८१ कार्तिक १६ शुक्रबार

logo
  • शुक्रबार, १६ कार्तिक २०८१
  • अमेरिकामा चुनाव हुन चार दिन बाँकी, कमला ह्यारिस र डोनाल्ड ट्रम्प को बन्लान् राष्ट्रपति ?

    अमेरिकामा चुनाव हुन चार दिन बाँकी, कमला ह्यारिस र डोनाल्ड ट्रम्प को बन्लान् राष्ट्रपति ?

    987
    Shares
    अमेरिकामा चुनाव हुन चार दिन बाँकी, कमला ह्यारिस र  डोनाल्ड ट्रम्प को बन्लान् राष्ट्रपति ?

    बीबीसी । संयुक्त राज्य अमेरिकामा आगामी नोभेम्बर ५ अर्थात अब चार दिनमा नयाँ राष्ट्रपति चुन्न निर्वाचन हुँदै छ । गत जुलाईमा राष्ट्रपति जो बाइडनले आफू उम्मेदवार नबन्ने घोषणा गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई अगाडि सारे।

    के अमेरिकाले प्रथम महिला राष्ट्रप्रमुख पाउला त ? कि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएलान् ? अमेरिकी राजनीतिमा यो अहिले चासोको मुख्य विषय बनेको छ। यसअघि हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प राष्ट्रपति बनेका थिए ।

    राष्ट्रिय मतसर्वेक्षणमा कसको अग्रता ?

    कमला ह्यारिस गत जुलाई महिनाको अन्त्यतिर प्रतिस्पर्धामा आएदेखि नै राष्ट्रव्यापी सर्वेक्षणहरूका औसत मानमा उनलाई ट्रम्पभन्दा केही अगाडि देख्न थालियो। उनले निरन्तर आफ्नो अग्रता कायम राखेकी सर्वेक्षणहरुले देखाएका छन् ।

    निर्वाचन अभियान थालेपछि सुरुका केही साताहरूमा उनीप्रति समर्थन बढेको देखियो। अगस्ट महिनाको अन्तिमसम्म आइपुग्दा उनले झन्डै चार प्रतिशतको अग्रता कायम गरिन्।

    तर सेप्टेम्बरको पूर्वार्धदेखि दुई उम्मेदवारहरूप्रति समर्थन व्यक्त गर्ने मतदाताको सङ्ख्या तुलनात्मक रूपमा स्थिर छ। सेप्टेम्बर १० मा ह्यारिस र ट्रम्पबीच भएको बहसपछि पनि त्यसमा ठूलो परिवर्तन देखिएको छैन। टेलिभिजनबाट प्रत्यक्ष प्रसारित उक्त बहस सात करोड मानिसले हेरेका थिए।
    केही दिनयता प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ। तलको चित्रले त्यसलाई देखाउँछ। यस्ता सर्वेक्षणहरूले उम्मेदवारको लोकप्रियताको झल्को दिने भए पनि तिनकै आधारमा निर्वाचनको परिणाम यस्तै हुन्न भन्न चाहिँ सकिँदैन।

    किनभने अमेरिकामा इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलमा आधारित प्रणालीले निर्वाचनको परिणामको छिनोफानो गर्छ। त्यसअन्तर्गत राज्यहरूलाई त्यहाँको जनसङ्ख्याका आधारमा निश्चित सङ्ख्यामा मतभार अर्थात् इलेक्टोरल कलेज मत दिइएको हुन्छ।

    देशभरिका सबै राज्यसँग कुल ५ सय ३८ इलेक्टोरल कलेज मत हुन्छ। निर्वाचन जित्न २ सय ७० इलेक्टोरल कलेज मत पाउनैपर्छ सर्वसाधारण मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मत दिन्छन्, राष्ट्रिय स्तरमा हैन।

    दुई राज्यमा बाहेक अन्यत्र सर्वाधिक मत ल्याउने उम्मेदवारले उक्त राज्यका लागि तोकिएको सबै मतभार अर्थात् इलेक्टोरल कलेज मत हात पार्ने प्रावधान छ।

    अमेरिकामा ५० राज्य छन्। अधिकांश राज्यले प्रत्येक निर्वाचनमा प्रायः एउटै पार्टीलाई मत दिन्छन्। केही राज्यमा मात्र दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ। ती राज्यले नै समग्र निर्वाचनको परिणाम तलमाथि पारिदिन्छन्। ती राज्यलाई सङ्ग्रामभूमि राज्य अथवा स्विङ स्टेट भन्ने गरिन्छ।

    स्विङ स्टेटमा को अघि ?

    यो निर्वाचनमा सात राज्यमा दुई उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ। मत सर्वेक्षणहरूमा ती राज्यमा कुनै पनि उम्मेदवारले स्पष्ट र निर्णायक अग्रता कायम गरेको देखिँदैन।

    कमला ह्यारिस प्रतिस्पर्धामा आएदेखिको प्रवृत्ति हेर्दा राज्यहरूमा देखा परेका भिन्नताबारे बुझ्न सकिन्छ। तर राष्ट्रिय मतसर्वेक्षणभन्दा राज्यस्तरीय सर्वेक्षणको सङ्ख्या कम भएकाले हामीसँग पर्याप्त तथ्याङ्क उपलब्ध छैन। अनि प्रत्येक सर्वेक्षणमा केही त्रुटि हुने सम्भावना पनि हुन्छ। अर्थात् सर्वेक्षणले देखाउने सङ्ख्या वास्तविक सङ्ख्याभन्दा केही धेरै वा केही थोरै हुन सक्छ।

    अगस्टदेखि एरिजोना, जोर्जा र नोर्थ क्यारलाइनामा एकै उम्मेदवारको अग्रता छैन। ती तीन राज्यमा केही सातादेखि ट्रम्प झिनो मतले अगाडि देखिएका छन्।

    नभाडा राज्यमा पनि अगाडि हुने उम्मेदवार एकै छैनन्। त्यहाँ अहिले ह्यारिसलाई ट्रम्पभन्दा केही अगाडि देखिन्छ। मिशिगन, पेन्सिल्भेनिआ र विस्कन्सिनमा अगस्ट महिनादेखि ह्यारिस अगाडि छिन्। कहिलेकाहीँ उनी ट्रम्पभन्दा दुई वा तीन प्रतिशतले अगाडि भइन्। तर केही दिनदेखि प्रतिस्पर्धा बढेको देखिन्छ। अहिले पेन्सिल्भेनिआमा ट्रम्पले झिनो अग्रता पाएका छन्।

    सन् २०१६ मा ट्रम्प विजयी हुनुअघि यी तीनवटै राज्यलाई डेमोक्र्याटिक पार्टीको गढ मानिन्थ्यो। सन् २०२० मा जो बाइडनले ती राज्यमा आफ्नो पार्टीको प्रभाव पुनः स्थापित गरे। यसपालि ह्यारिसले ती राज्यलाई आफ्नो पक्षमा पार्न सकिन् भने उनलाई चुनाव जित्न सजिलो हुने छ।

    उम्मेदवार नबन्ने घोषणा गर्नुअघि सातवटा स्विङ स्टेटमा जो बाइडन आफ्ना प्रतिस्पर्धी ट्रम्पभन्दा औसतमा पाँच प्रतिशतले पछाडि रहेको मतसर्वेक्षणहरूले देखाएका थिए। तर उनको ठाउँमा ह्यारिस उम्मेदवार बनेपछि डेमोक्र्याटिक पार्टीका पक्षमा समर्थन बढेको देख्न थालियो।

    पेन्सिल्भेनिआ राज्यमा बाइडन ४.५ प्रतिशतले पछाडि थिए। सात राज्यमध्ये सर्वाधिक इलेक्टोरल कलेज मत १९ भएकाले दुवै उम्मेदवारका लागि पेन्सिल्भेनिआ महत्त्वपूर्ण छ।

    सो राज्यमा निर्वाचन जित्ने उम्मेदवारलाई परिणाम आफ्नो पक्षमा पार्न आवश्यक २७० मतभार पुर्‍याउन सहज हुन्छ।

    औसत मान यसरी निकालिन्छ

    सर्वेक्षित मानिसको सङ्ख्या अनि सर्वेक्षण गरिएको मिति र माध्यम फोनबाट, टेक्स्ट मेसेजबाट, अनलाइनमाध्यमबाट आदि जस्ता विवरण खुलाउने कम्पनीबाट मात्र उक्त वेबसाइटले विवरण लिन्छ।

    कडा प्रतिस्पर्धा हुने सात राज्यमा कमला र ट्रम्प अहिले दुई प्रतिशत मतले मात्र अगाडिपछाडि भएको देखिन्छ। यस्तो परिस्थितिमा निर्वाचनको परिणाम कसको पक्षमा जान्छ भन्न सकिँदैन।

    सन् २०१६ र २०२० मा सर्वेक्षणहरूले ट्रम्पको पक्षमा जाने समर्थनलाई कम आकलन गरेका थिए। सर्वेक्षण कम्पनीहरू अहिले त्यस्तो त्रुटि सच्च्याउने प्रयासमा छन्। उनीहरू आफूले प्रस्तुत गर्ने परिणाममा मतदान गर्ने जनसङ्ख्याको संरचना प्रतिबिम्बित गराउन खोज्दै छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend