वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जस्थित कारागारको अनुगमन गरेका छन् । शनिबार कारागार पुगेर मन्त्री यादवले त्यहाँको समस्याबारे जानकारी लिएका हुन् ।
त्यस अवसरमा कैदीबन्दीले कारागारमा खानेपानीको अभाव भएको, शौचालय एउटा मात्रै भएको, भान्सामा समेत छाना नभएको लगायतका समस्या राखेको र आफूले तत्काल ती समस्या समाधानका लागि काम शुरु गर्न स्थानीय निकायलाई आग्रह गरिएको मन्त्री यादवले बताए । स्थानीय तहका जनप्रतिनिधि र प्रहरी प्रशासनसहित कारागारमा पुगेका उनले ती समस्याहरु तत्काल समाधान हुनेगरी काम गर्ने पनि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिए ।
मन्त्री यादवले भने, ‘यहाँ आउँदा कैदीबन्दीको समस्या पनि सुनेँ, नाईकेहरुलाई बोलाएर उहाँहरुको पनि कुरा सुने । के समस्या छ त भनेर सोँधे । महिला पुरुष दुवैको समस्या सन्दाखेरी उहाँहरुको छुट्टाछुट्टै समस्याको कुरा आयो । एउटा यहाँ शौचालयको समस्या आयो । शौचालय भत्केको अवस्था छ । लाईन लागेर बस्नुपर्ने भएकाले धेरै कैदीबन्दीको पाईन्टमा नै पिसाव गर्नुपर्ने अवस्था देखियो । ती समस्याहरु छन् । अर्को खानेपानीको समस्या छ । अर्को बिजुलीको समस्या पनि राखेका छन् ।
वायरिङको समस्या भएकाले एउटा कैदीबन्दीको केही समय अघि मृत्यु पनि भएको थियो । कहिल कैदीबन्दीको किचनको पनि समस्या छ । छाना नभएको अवस्था हो । यी अवस्थाहरु उहाँहरुले बताउनु भयो । अब तत्काल शौचालय बनाउने काम, बोरिङ बनाउने काम, बिजुलीको वायरिङ गर्ने काम, छाना फेर्ने काम मैले तत्काल पहल गरेर शुरु गर्छौं भनेको छु । स्थानीय तहसँग पनि कुरा गरेर यो काम अघि बढाउँछु । ’
त्यस अवसरमा मन्त्री यादवले कारागार प्रशासनलाई कैदीबन्दीको आधारभुत आवश्यकता पूर्ति गर्ने दिशामा सचेत भएर काम गर्न पनि निर्देशन दिएका थिए ।