कात्तिक २८ काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बैठक सुरु भएको हो।
पार्टीमा चर्किएको विवादका कारण बस्न नसकेको बैठक एक महिना पछि बस्न लागेको हो। नेकपाका बहुमत सदस्यहरुले बैठकको माग गर्दा पनि अध्यक्ष केपी ओलीले सहमति नजनाउँदा बैठक बस्न सकेको थिएन। आजको लागि ओलीले सहमति जनाएसनगै बैठक बस्न लागेको हो।
पार्टीका दुवै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले बैठक डाकेका हुन्।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर सचिवालय सदस्यहरुले बैठक बस्न निरन्तर आग्रह गर्दै आएका थिए। तर ओलीले पहिला दुई अध्यक्षबीच सहमति भएमात्रै बैठक बस्ने अडान लिँदै आएका थिए।
नेकपामा दुई अध्यक्षको सहमतिमा महासचिवले सचिवालय बैठक बोलाउने प्रावधान रहेको छ।