कात्तिक २९ काठमाडौं – भारत–पाकिस्तान सीमामा झडप भएको छ। जम्मू-कश्मीरस्थित भएको झडपमा १६ जनाको ज्यान गएको छ भने ३ दर्जन बढी घाइते भएका छन्।
ज्यान गुमाउनेमा तीन भारतीय सैनिक र एक जना पाकिस्तानी सैनिक पनि रहेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
झडपको सुरुवात कसले गर्यो भन्नेमा भारत र पाकिस्तान दुवैले एकअर्कालाई आरोप लगाएका छन्।
पाकिस्तानका अनुसार एक जना पाकिस्तानी सैनिक र ५ जना सर्वसाधारणको भारतीय आक्रमणमा परी मृत्यु भएको छ । त्यस्तै पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार आक्रमणमा परी ३० जना सर्वसाधारण र ५ जना सैनिक घाइते भएका छन् ।
भारतका अनुसार पाकिस्तानले गरेको आक्रमणमा परी ६ जना सर्वसाधारण, तीन जना सैनिक र एक जना बीएसएफ जवानको मृत्यु भएको छ । भारतीय सेनाले पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्दै पहिले आक्रमण गरेको पनि आरोप लगाएको छ । जवाफी कारबाहीमा पाकिस्तानतर्फको भौतिक संरचना ध्वस्त बनाएको भारतीय सेनाले दाबी गरेको छ ।
पाकिस्तानी अधिकारीले भने पाकिस्तान प्रशासित जम्मू–कश्मीरको नीलम र लीपा उपत्यकामा सर्वसाधारणलाई लक्षित गरी भारतले आक्रमण गरेको आरोप लगाएका छन् ।
विगत केहि समयदेखि जम्मू-कश्मीरमा भारत र पाकिस्तानबिचको सिमा विवादका कारण पटकपटक झडप भैरहेको छ।