logo

२०८१ कार्तिक २२ बिहिबार

logo
  • बिहिबार, २२ कार्तिक २०८१
  • डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि डलर महंगिएर नयाँ रेकर्ड, नेपाली रुपैयाँ झनै कमजोर

    डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि डलर महंगिएर नयाँ रेकर्ड, नेपाली रुपैयाँ झनै कमजोर

    329
    Shares
    डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि डलर महंगिएर नयाँ रेकर्ड, नेपाली रुपैयाँ झनै कमजोर

    काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्नेसँगै विश्व बजारमा डलरको मूल्य बढेर उच्च भएको छ । डलरसँगै सेयर बजार बढेको छ भने बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ । विश्लेषकहरूले ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्न बताएका छन् ।

    डलर महंगीको असर नेपाल र भारतलगायत विश्वभरी परेको छ । नेपालमा अमेरिकी डलर महँगिएर नयाँ रेकर्ड कायम भएको छ ।

    अब १ डलर किन्न १३५.१६ रुपैयाँ खर्चिनुपर्ने अवस्था आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार डलरको यो भाउ अहिलेसम्मकै उच्च हो । बुधबारसम्म डलरको भाउ १३४.८८ रुपैयाँ थियो । बिहीबार उक्त दरलाई तोड्दै नयाँ रेकर्ड कायम भएको छ ।

    भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो । बिहीबार १ डलरबराबर ८४.२९ भारु पुगेको छ । डलरसँग भारु हालसम्मकै कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो ।

    भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स्ड पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ । भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ ।

    रुस–युक्रेन युद्ध र पछिल्लो समय इजरेलले हमास, हजबुल्लाह इरानमा गरेको आक्रमणका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएकोमा ट्रम्पको ह्वाइट हाउसमा भएको पुनरगमनले डलर झनै बलियो भएको छ ।

    नेपाल र भारतमा मात्र होइन, विश्वबजारमा डलर बलियो हुँदा अन्य स्थानीय मुद्रा कमजोर बन्दै गएका छन् ।

    विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको तथ्याँक छ । यद्यपि विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले डलरको कारोबार घटाउँदै लगेर ४२ प्रतिशतमा झारेको छ ।

    अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर २५ प्रतिशत विन्दुले घटाउने अनुमान गरिएको छ । भारतजस्ता उदीयमान देशबाट डलरमा भएको लगानी फिर्ता गइरहेको छ । डलर सञ्चिति घट्दै गएपछि स्थानीय मुद्रा कमजोर हुन बल पुगेको छ । विश्वबजारमा डलरको ग्राफ उकालो लाग्दै गएको छ ।

    अहिले डलरका कारण विश्व बजारमा सुन, पेट्रोलियम पदार्थ र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ ।

    डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन् । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्ने छ ।

    यस्तै पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ । विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउने छन् ।

    डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि बजारभाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ । यस्तै विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि हुन्छ ।

    डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढेको छ ।

    यसैगरी विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने छ ।

    अझ बढ्ने प्रक्षेपण

    आगामी तीन आर्थिक वर्षमा अमेरिकी डलर बलियो भई नेपाली रुपैयाँ झनै कमजोर हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनाले डलरको मूल्य बढेर नयाँ कीर्तिमान राख्ने प्रक्षेपण सार्वजनिक गरेको हो ।

    मध्यकालीन खर्च संरचनाको अन्तिम आर्थिक वर्ष २०८२/०८३ मा १ डलरबराबर १ सय ३६ रुपैयाँ ९ पैसा पुग्ने अनुमान छ । यस्तै २०८०/०८१ मा १ सय ३३.६ र २०८१/८२ मा १ सय ३४.२ पुग्ने अनुमान छ ।

    यो पनि :

    डोनाल्ड ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, सेयर र बिटक्वाइनमा उछाल

    अमेरिकी डलर महंगिएर नयाँ रेकर्ड, १३६ रुपैयाँको बाटोमा लागेको हो ?

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend