काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउन दैनिक १० घण्टा बन्द गर्न थालिएको छ ।
विस २००६ सालमा निर्माण भएको यस विमानस्थलले पछिल्ला वर्षहरुमा बढ्दो हवाई यात्रुको चापलाई पूरा गर्न कठिन हुँदै गएकोले नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेदेखि पाँच महिना दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल बिस्तार गर्न लागेको हो ।
हाल त्रिभुवन विमानस्थलको जहाज पार्किङ वे अर्थात एप्रोन र ट्याक्सी वेको सिमित क्षमताका कारण उडानमा र अवतरणमा ढिलाई हुने, जहाजहरु आकासमै होल्ड गर्नुपर्ने र अन्य बिमानस्थलमा डाइभर्ट गर्नुपर्ने जस्ता कठिनाई भोग्नु परेको छ ।
यिनै समस्याहरुलाई समाधान गरी बिमानस्थलको क्षमता बिस्तार गर्न तथा अन्तर्राष्ट्रिय नागरीक उड्डयन संगठन (आइकाओ) को सुरक्षा मापदण्ड पुरा गरी सन् २०३५ सम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमतालाई पूर्ण रुपमा उपयोग गर्ने गरी नेपाल नागरीक उड्यन प्राधीकरणले गुरु योजना अद्यावद्यिक गरेर निर्माण कार्यलाई केही समय अगाडी देखीनै युद्धस्तरमा अगाडी बढाएको थियो ।
हाल सञ्चालनमा रहेका ट्याक्सीवेहरुको विस्तार र नयाँ ट्याक्सीवेहरु निर्माण गरी विमानस्थलमा हाल कायम रहेको ३ हजार ३७४ मिटर धावनमार्गको क्षमतालाई अधिकतम उपयोग गर्नु , आन्तरिक तथा अन्तरर्राष्ट्रिय जहाजहरु पार्किङ्ग गर्ने क्षमताको विस्तार गर्नु, जहाजहरुलाई मर्मत सम्भार गर्न स्तरीय ह्याङ्गरहरुको लागि स्थान उपलब्ध गराउनु र यात्रुको चाप अनुसार अन्तरर्राष्ट्रिय यात्रुको लागि नयाँ सुबिधासम्पन्न टर्मिनल भवनको निर्माण गर्नु र हालको अन्तरराष्ट्रिय भवनलाई आन्तरिक भवनमा परिणत गर्नु यस गुरु योजनाको प्रमुख उदेश्य रहेको छ ।
गुरुयोजना कार्यान्वयनका लागि प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धी आयोजना र स्वदेशी तथा विदेशी परामर्शदाता कम्पनीहरुले तीनवटा प्याकेजमा केही समय अगाडी देखि निर्माणका कामलाई निरन्तरता दिदै आएका थिए ।
यसअघि धावनमार्गबाट ७५ मिटर भन्दा बाहिरका काम धमाधम भैरहेका थिए । तर धावनमार्गको केन्द्रबाट ७५ मिटरभित्र पर्ने ठाउँमा आइकाओको सुरक्षा मापदण्डअनुसार विमानस्थल सञ्चालन भैरहेको अवस्थामा उक्त क्षेत्रमा निर्माण कार्य गर्न नमिल्ने हुँद बन्द गरेर भित्री भाग अन्तरगत तीनवटा प्याकेजमा राती धमाधम काम हुनेछन ।
पहिलो प्याकेज अन्तर्गत विमानस्थलको उत्तर पश्चिम क्षेत्रमा अन्तर्राष्ट्रिय विमानहरूको पार्किङको लागि एप्रोन निर्माणको कार्य हुनेछ । धावनमार्गको सतह भन्दा निकै गहिराईमा रहेको यो भागलाई करिव २७ मिटरसम्म रेइन्फोर्स्ड अर्थ स्लोप प्रविधिको माध्यमबाट माटो पुरेर धावनमार्गको सतहसम्म समतल बनाइने छ । यसको काम सन् २०२० अगस्ट २० देखि निर्माण शुरु भएको थियो । यस एप्रोनको काम सम्पन्न भएपछी वाइड बडी कोड ‘ई’ र न्यारो बडी कोड सी’ क्याटोगोरीका १२ देखी १८ वटा सम्म अन्तरराष्ट्रीय जहाजहरु पाकिंग गर्न मिल्नेछ । धावनमार्ग देखि निर्माणाधीन एप्रोनसम्म आउन जान तीन वटा कनेक्टिङ ट्याक्सीवेहरु ट्याक्सिवे एस, टी र यू को पनि निर्माण अब हुनेछ ।
हाल बिमानस्थलमा प्रयाप्त पार्किङ्ग स्ट्याण्ड नहुँदा पार्किङ्ग स्ट्याण्ड खाली नहुँदा सम्म जहाजलाई आकाशमै होल्ड गर्नुपर्ने मात्र नभई अन्यत्रका बिमानस्थल डाईभर्ट गर्नुपर्नेसम्मको समस्या यो निर्माणाधीन अन्तरराष्ट्रीय पार्किङ्गस्थल निर्माण सम्पन्न भए पश्चात निर्धारीत समयमा जहाजको उडान र अवतरण गर्न सहज हुनेछ।
त्यसैगरी दोश्रो प्याकेज अन्तर्गत विमानस्थलको दक्षिण पश्चिम क्षेत्रमा हाल कायम रहेको ट्याक्सीवे ‘ई’ देखि धावनमार्ग ०२ सम्म समानान्तर ट्याक्सीवेको निर्माण कार्य तीव्र गति हुदैछ । समानान्तर ट्याक्सीवेलाई धावनमार्गसँग जोड्नको लागि दक्षिणतर्फ दुईओटा कनेक्टिङ ट्याक्सीवेहरु ट्याक्सीवे के र एल को निर्माण गरीदै छ । यी दुईवटा ट्याक्सीवेहरुको केही भाग धावनमार्गको केन्द्रबाट ७५ मिटरभित्र पर्ने भएकोले विमानस्थल बन्द भएपछि सो क्षेत्रमा समेत काम तीब्र गतिमा गरिने भएको छ।
उक्त समानान्तर ट्याक्सीवे र दुईवटा कनेक्टिङ ट्याक्सीवे के र एलको निर्माण सम्पन्न भएपछि उडानको लागि विमानहरु सोझै धावनमार्गको शुरु बिन्दुसम्म सहज रुपले पुग्न सक्ने छन् । हाल धावनमार्गको दक्षिणतर्फ शुरु बिन्दुसम्म ट्याक्सीवे नजोडीएको हुँदा जहाजहरु उडान तथा अवतरण गराउन धेरै समय लाग्ने गरेको थियो ।
त्यसै गरी तेस्रो आयोजनाअन्तर्गत विमानस्थलको पूर्वतर्फ दुईओटा ह्याङ्गर एप्रोनहरू र उक्त एप्रोनहरुलाई धावनमार्गसँग जोड्ने गरी तीनओटा ट्याक्सीवेहरु निर्माण गरीदैछ।
यो आयोजना सम्पन्न भएपछि ह्याङ्गर एप्रोन १ मा २ वटा कोड सी र ३ वटा कोड ईका विमानहरू मर्मतका लागि पार्किंग गर्न सकिनेछ । त्यसै गरि एप्रोन २ मा ३ वटा कोड सी र ४ वटा हेलिकोप्टरहरु पार्किंग गर्न सक्ने क्षमता रहनेछ।
माथि उल्लेखित तीनवटा प्याकेज का निर्माणकार्यहरु सम्पन्न भए पश्चात अर्को चरणमा धावनमार्गको पश्चिमपट्टि रहेका बिभिन्न ह्याङ्गरहरु निर्मणाधीन एप्रोनहरुमा स्थानान्तरण गरिनेछ । ती ह्याङ्गरहरू सारिसकेपछि खाली हुने उक्त जग्गामा विमानस्थलको गुरु योजनाअनुसार भविष्यमा अत्याधुनिक सुविधासम्पन्न अन्तराष्ट्रिय टर्मिनल भवनको निर्माण हुनेछ ।
प्राधिकरणले गुरु योजना अध्यावद्यिक गरी बिस्तार गर्न लागेको नयाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भविष्यमा हवाई यात्रुको माग पूरा गर्न मात्र नभई देशको आर्थिक वृद्धिलाई सहज बनाउन र नेपाललाई विश्वभर जोड्न ठूलो भूमिका खेल्ने बिश्वास गरिएको छ ।