logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • १५ महिनाअघि नै उद्योग वाणिज्य महासंघमा चुनावी रौनक, फरक उद्देश्य राखेर हुन थाल्यो पार्टी

    १५ महिनाअघि नै उद्योग वाणिज्य महासंघमा चुनावी रौनक, फरक उद्देश्य राखेर हुन थाल्यो पार्टी

    994
    Shares
    १५ महिनाअघि नै उद्योग वाणिज्य महासंघमा चुनावी रौनक, फरक उद्देश्य राखेर हुन थाल्यो पार्टी

    काठमाडौं । कात्तिक १४ गते बुधबार नक्सालमा रहेको सिल्भर ओक ब्यांकेटमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले दिपावलीको शुभकामना आदानप्रदान तथा देउसीभैलो कार्यक्रम राखेका थिए ।

    सो अवसरमा सांस्कृतिक कार्यक्रमसहित देउसीभैलो खेल्ने कलाकारको टोलीनै राखिएको थियो । कार्यक्रममा महासंघ आवद्ध उद्योगी व्यवसायीका साथै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल लगायतका अन्य व्यवसायिक संस्थाका पदाधिकारीको बाक्लो उपस्थिति थियो ।

    ढकालले निम्तोमा तिहारको शुभकामना आदानप्रदान भने पनि उनको भित्री उदेश्य भने फरक रहेको कार्यक्रमबाट देखिन्थ्यो । कार्यक्रममा महासंघको राजनीतिक गन्ध प्रतिविम्वित थियो ।

    महासंघको आगामी साधारणसभा आउन झण्डै १५ महिना बाँकी छ । तर, त्यो कार्यक्रममा महासंघको निर्वाचन सरगर्मी सुरु भएको आभास हुन्थ्यो । ढकाल अहिले महासंघको वस्तुगततर्फको उपाध्यक्ष हुन् । उनले शुभकामनाको बहाना बनाएर महासंघको वरिष्ठ उपाध्यक्षमा उठ्न संकेत गरेको गाईगुई हल्ला त्यहाँ चलेको थियो । ढकाल जस्तै केही व्यवसायीको अनौपचारिक रुपमा उम्मेदवारीको चर्चा हुन थालेको छ भने केही अझै खुल्न चाहेका छैनन् ।

    महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल आफ्नै भाई हेमराजलाई वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनाउन जोडतोडका साथ लागेका छन् । उनी महासंघको वरिष्ठ उपाध्यक्षका लागि प्रवल दावेदार पनि हुन् ।

    ढकालको कार्यक्रमभन्दा केही दिनअघि त्रिवेणी समूहका प्रवन्ध निर्देशक रामचन्द्र संघईले कमलपोखरीमा रहेको आफ्नै निवासमा भव्य पार्टी गरेका थिए । पार्टीमा महासंघसँग आवद्ध धेरै उद्योगी व्यवसायीको सहभागिता थियो । तिहारको पूर्वसन्ध्यामा संघईले गरेको यो पार्टी पनि ढकालको जस्तै महासंघको राजनीति नै जोडिएको छ ।

    संघई यसअघि भएको महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए । उनी महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठसँग पराजित भएका हुन् । संघई पराजित भए पनि महासंघको नेतृत्वको हाक्ने उनको चाहना भने रत्तिभर घटेको छैन ।

    आगामी निर्वाचनमा जुनसुकै हालतमा महासंघको नेतृत्वमा पुग्ने गरी तयारी थालेको उनी निकटस्थहरु बताउँछन । यसअघि आफ्नै बलबुताले लडेका संघई अहिले रणनीतिक योजनासहित महासंघको राजनीतिमा होमिदैछन् । त्यही भएर उनले घरमै उद्योगी व्यवसायी बोलाएर भव्य पार्टी गरेका हुन् । संघइ एशोसिएट उपाध्यक्षको उमेदवार हुँदा कमजोर ठानिएको थियो । तर, सौरभ ज्योतिलाई उपाध्यक्षमा हराएपछि सबै चकित परेका थिए । उनले चकित मात्र पारेनन् महासंघमा आफ्नो हैसियत पनि स्थापित गरेका छन् ।

    ढकाल र संघईले जस्तै महासंघका कार्यकारिणी सदस्य भरत आचार्यले आफ्नो भाईको विवाह पार्टी सोल्टी होटलमा राखेका थिए । कात्तिक ४ गते सोल्टी होटलमा भएको पार्टीमा पनि महासंघको राजनीतिक छायाँ देखिन्थ्यो । त्यो पार्टीमा आगामी नेतृत्व लिन खोज्ने समूहहरुबीच महासंघको राजनीतिको बारेमै छलफल भएको थियो । आचार्य यसअघिको निर्वाचनमा एशोसिएट उपाध्यक्षमा पराजित भएका हुन् । औद्योगिक क्षेत्रमा राम्रो ज्ञान भएका आचार्य महासंघको नेतृत्वको सम्भावित सूचीमा थिए ।

    १५ महिना अघिनै चुनावको रौनक

    निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षलगायत अन्य पदाधिकारीहरुको निर्वाचन हुन झण्डै डेढ वर्ष बाँकी छ । तर, अहिलेदेखि नै व्यवसायीमाझ चुनावी सरगर्मी बढ्न थालेको छ । महासंघको नयाँ नेतृत्वका लागि चुनावी साधारणसभा २०८२ चैत अन्तिममा हुन्छ । तर, अहिलेदेखि नै चुनाव लागिसकेको छ । ७७ वटै जिल्लामा सञ्जाल रहेको शक्तिशाली व्यवसायिक संस्था भएकाले नेतृत्वमा आउन चाँडै कसरत हुने गर्छ ।

    महासंघका एक पूर्वअध्यक्षका अनुसार साधारणसभा सकिनेवित्तिकै नयाँ नेतृत्वका लागि राजनीति सुरु हुन्छ । ‘महासंघ यस्तो संस्था हो, जसमा मतगणना सकिनेवित्तिकै नयाँ नेतृत्वका लागि राजनीति सुरु हुन्छ’ उनले सुनौलो नेपाललाई भने, १५ महिनाअघि आउनु त के नौलो कुरा भयो र ?’

    महासंघ अध्यक्षको प्रत्यक्ष निर्वाचन

    महासंघको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ ।

    यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुने बताइएको छ । भवानी राणाको पालादेखि विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएको थियो । वहालवाला अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने वाचा गरेका थिए ।

    संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ । हाल एक महिला उपाध्यक्ष रहेकामा थप एक जना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।

    विशेष साधारणसभा आउँदो मंसिर २५ गते हुने भएको छ । साधारणसभाले अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने कार्ययोजना रहेको छ ।
    महासंघको कार्यकारणी समितिको असार २४ को वैठकले वर्तमान वरिष्ठ उपाध्यक्ष र अर्को वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी विद्यान संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

    महासंघको विद्यान संशोधन गरेर पहिलाको अवस्था अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्नका लागि कार्यकारणी समिति बैठकले अनुमोदन गरिसकेको छ । सो प्रस्तावलाई पारित गर्न महासंघले मंसिर २५ मा विशेष साधारणसभा बोलाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend