विराटनगर । एउटा उखान छ, ‘हातमा सीप भए भोकै मरिदैन’ । झापा बुधबारेकी तारादेवी अधिकारी र मोरङ बुढीगंगाकी अन्जु राई बस्नेतले आफ्नो सीपलाई यतिमा सिमित राखेका छैनन् आर्थिक रुपमा सक्षम भएका छन् । धेरैलाई रोजगारी दिएर सीप सिकाउनुका साथै आर्थिक रुपमा सबल बनाएका छन् ।
यति मात्र हैन, उनीहरुले मुलुकमा अवसर छैन भनेर विदेशीने युवा पुस्तालाई स्वदेशमै संभावना छ भनेर सकरात्मक सन्देश दिएका छन् ।
झापाकी अधिकारीको मोरङको इटहरामा विवाह भयो । सानैदेखि आफै केहि गर्नुपर्छ भन्ने सोच भएकी उनलाई विवाह भएपछि परिवारले काम नगर्दा नी हुन्छ भनेका थिए । पण्डित परिवारमा विवाह भएकाले पनि उनलाई परिवारको इज्जतलाई ख्याल गरेर काम गर्न भनिएको थियो ।
प्लस टु सम्म पढाई सकेकी उनले आफ्नो लागि आफै गर्नुपर्छ भनेर सोचिरहेकी थिईन् । बच्चा भएपछि आफ्नो सोचलाई पर सारिन । छोरी ३ वर्षको भएपछि फेरी उनलाई कमाउनुपर्छ भन्ने धङ्धङ्गीले छाडेन ।
छोरी तीन वर्षकी हुँदा गाउँमा नै सहकारी खुल्यो । छोरीलाई हेरेर नै भए पनि जागिर गर्ने निधोमा अधिकारी पुगिन् ।
सहकारीले पनि उनलाई पत्यायो । सहकारीको लेखा तालिम लिएर उनले २०६५ सालदेखि सहकारीको लेखा हेर्न थालिन् । उनले धेरै पटक छोरीलाई सँगसँगै लिएर पनि काम गरिन् । पछि छोरीलाई विद्यालय भर्ना गरेपछि उनलाई काम गर्न अलि सहज भयो ।
सहकारीमा काम गर्दा गर्दै उनको २०६९ सालमा दोस्रो सन्तान भयो । छोरी पनि सानै र भर्खर जन्मिएको छोरो हेर्ने मान्छे नभएपछि उनले सहकारीको जागिर छाडिन् । र, अठोट गरिन यो छोड्नुपर्ने जागिर अब खाँदिन । उनले जागिर खोज्ने काम पनि गरिनन् ।
‘घरमा मान्छे नभएका पनि हैनन्, तर बच्चा हेर्ने मान्छे नभएपछि आफुले गरिरहेको जागिर छाड्नुप्यो’, उनले सुनौलो नेपालसँग भनिन्, ‘मलाई मात्र हैन, यस्तो समस्या धेरै पढेलेखेका महिलालाई पनि छ । परिवारले सहयोग गर्दिदैन । यो या त्यो बहनामा जागिर छाड्नुपर्ने बाध्यता हुन्छ ।’ ‘सहकारीको जागिर छाडेपछि आफ्नै सीपमा केही गर्ने निधो मैले गरे र पुनः जागिर नखोज्ने निर्णय गरेको हुँ’, उनले भनिन् ।
सुरुवातमा काम गर्न चुनौति
घिमिरेले एसएलसी दिएपछि सिलाई कटाई सिकेकी थिइन । उनले त्यही आफ्नो सीपलाई सदुपयोग गर्ने निष्कर्षमा पुगिन् । छोरा छोरी र श्रीमान्को साथमा माइतिघर नजिकै झापाको बुधबारे पुगिन् ।
छोरो एक वर्षको हुँदा नहुँदै उनले २०७० भदौंमा एउटा सिलाई कटाई मेशिन भाडामा लिएर काम गर्न थालिन् । उनले सुरुमै सिलाई कटाई ट्रेनिङ सेन्टर भनेर सञ्चालन गरिन् । सञ्चालन गरेको केही समयपछि उनले तीनवटा मेशिन भाडामा लिईन ।
चार वटा मेशिन लिएपछि घिमिरेले १८ जनालाई सिलाई कटाई सिकाउन थालिन् । उनले दिनमा १८ जनासम्मलाई सिकाउने गरेकी थिईन् ।
उनले मासिक ३ सयमा सिलाई कटाई तालिम दिन्थिन । आफ्नो व्यवसाय बढाउनलाई सुरुमा थोरै पैसा लिएर सिकाएको बताउँदै उनले पछि सिक्न आउने पनि धेरै बढेको बताईन । आफ्नो सीपको सदुपयोग गर्न पाएकोमा उनलाई गर्व लागेको थियो । तर, परिवारलाई भने मन परेको थिएन ।
‘परिवार सबै पण्डितको काम गर्ने भएकाले सिलाईकटाई व्यवसाय नगरे पनि खान पुगिहाल्छ नि, किन गर्नुपर्यो व्यवसाय, अरु केही गर्दा नी हुन्छ, परिवारको इज्जतको नि ख्याल गर्नुपर्छ भन्ने कुरा हुने गरेको थियो’, उनले भनिन्, छाड्नलाई दवाव नदिए पनि व्यवहार भने परिवारको त्यस्तै भएको थियो, श्रीमान् पण्डित भए पनि फुर्सदको समयमा छोराछोरी हेरिदिने, काममा नी केही सघाउने गर्नुहुन्थ्यो ।’
‘हामी महिलालाई धेरै कुराको चुनौति हुनेरैछ’, उनले भनिन्, ‘मेरो अनुभवले पनि यही भन्छ, हामीले सीप सिकेर केही गर्न सकेन भने कुन बेला बेरोजगार बन्नुपर्ने हो थाहा हुँदैन ।’ पारिवारिक चुनौतिदेखि लिएर व्यवसाय गर्दा होस् या जागिर गर्दा परिवारले सहयोग नगर्दा सुरुमा निकै संघर्ष गर्नुपर्ने उनको भनाई छ ।
‘सुरुमा दुःख पर्दा कसैले साथ दिदैनन्, सफल भएपछि मात्र हो सबैले हेर्ने’, उनले भनिन्, ‘त्यही भएर बेलैमा संघर्ष गरेर अगाडि बढ्न सकियो भने र आफ्नै हातमा सीप भयो भने कहिले बेरोजगार बस्न पर्दैन्, अरुले हेर्ने नजर पनि फरक पर्छ ।’ ‘मलाई त जागरि भन्दा पनि सबै महिला दिदीबहिनीले सीप सिकेर अघि बढुन जस्तो लाग्छ, त्यही भएर पनि धेरै महिलाहरुलाई सीप सिकाईरहेको छु’, उनले भनिन् ।
२०७६ मंसिरदेखि झोला उद्योगमा परिणत
२०७६ कात्तिकसम्म सिलाई कटाई ट्रेनिङ सेन्टरको रुपमा रहेको उनको व्यवसाय मंसिरदेखि शीतला तालिम केन्द्र तथा झोला उद्योगमा परिणत भयो । त्यती बेलासम्म उनले मेशिनहरु आफ्नै बनाईसकेकी थिइन ।
झोला उद्योगमा परिणत गर्ने वित्तिकै खाँदबारी नगरपालिकाले पुसमा साँढे ७ हजार वातावरणमैत्री झोला अर्डर गर्यो । उनले चैतमा नगरपालिकाले माग गरेअनुसारको झोला उपलब्ध गराईन । पहिला तालिम दिएकाहरुलाई नै निःशुल्क सिकाउँदै उनले झोला बनाउन लगाईन र नगरपालिकाले दिएको समयमा नै उपलब्ध गराईदिईन । त्यतिबेलासम्म कोरोनाको पहिलो लहर सुरु भईसकेको थियो ।
फागुनदेखि नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको थियो । अब उद्योग बन्द हुनेभयो भन्ने चिन्ता उनलाई हुन थाल्यो । तर, पहिलो कोरोनामा मास्क कम थियो । उनले मास्क बनाउने निधो गरिन । पालिकाबाट सिफारिस पनि लिइन् । त्यसपछि उनले उद्योग खोल्न पाइन ।
झापाका सबै पसल तथा साना ठूला उद्योग बन्द हुँदा उनको मात्र खुलेको थियो । ‘सुरुमा रेवन कपडाको मास्क बनाउन सुरु गरे’, उनले भनिन्, ‘पछि वीरगञ्जबाट मास्कको कपडा मगाएर बनाए ।’
कोरोना कहरलाई पनि अवसरको रुपमा सदुपयोग गर्न सकेकोमा उनलाइ आनन्द लाग्छ । कोरोनाको समयमा १४ लाख मास्क बनाएर बेचेको उनले सुनाईन । ‘२२ जना महिलाले बनाउनुहुथ्यौं’, उनले भनिन्, ‘हाम्रो रोजगारी नि गुमेन, आम्दानी भइरह्यो, त्यसैले सीप जस्तो ठूलो केही रहेनछ ।’ ‘जागिर भएको भए छोडेर घरमा बस्नुबाहेक विकल्प हुँदैन थियो’, उनले भनिन् ।
चुनौतिमा अवसर खोज्न सक्यो भने सफल हुन सकिन्छ भन्ने अनुभव अधिकारीेसँग छ । छोटो समयमा महिला उद्यमी बन्न सफल उनी अझै आफ्नो व्यवसायलाई बढाउने सोचमा छिन् । भाडाको एउटा मेशिनकाट सुरु भएको व्यवसायमा अहिले २५ लाख रुपैयाँ लगानी भईसकेको छ । वार्षिक २० लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको उनले सुनाइन् ।
अहिले उनको उद्योगमा दैनिक २० जनाले काम गरिरहेका छन् । कतिपयले घण्टाको हिसावले काम गर्छन भने केही तलवीमा काम गर्ने छन् । उनले भनिन्, ‘अहिले नयाँ प्रविधिको मेशिन सहित काम गरिरहेको छु, पहिला प्रिन्ट गर्न अरुलाई दिँदा सोचेजस्तो हुदैन थियो । अहिले प्रिन्ट मेशिन राखेर काम गरिरहेको छु ।’
सफल उद्यमीको रुपमा विभिन्न पुरस्कारसमेत पाईसकेकी उद्यमी अधिकारी सबैको प्रेरणाको स्रोत बनेकी छिन् । घरपरिवारले साथ नदिँदा र साना बच्चा हुँदा पनि आँट र हिम्मत अनि हातमा सीप भए सफल बन्न सकिन्छ भन्ने उदाहरण अधिकारी भएकी छिन् ।
उनले विभिन्न संघ संस्था तथा स्थानीय तहहरुको सहयोगमा हुने तालिमको व्यवस्थापन तथा प्रशिक्षक उपलब्ध गराउने कामसमेत गर्दै आएकी छिन् । उनले आफ्नो उद्योगलाई ब्राण्डको रुपमा स्थापित गरेकी छिन् । उनले उत्पादन गरेका झोला कोशी प्रदेशका विभिन्न जिल्लासँगै मागअनुसार अन्य प्रदेशमा पनि पठाउने गरेको अधिकारीले जानकारी दिइन् ।
मेशिन विना सुरु भएको अन्जुको सिलाई यात्रा
मोरङको बुढीगंगाकी अन्जुले आफ्नो सिलाई यात्रा सुरु गरेको दुई दशकको हाराहारीमा पुगिसक्यो । सिलाई मेशिन नहुँदा उनले बच्चा र महिलाहरुको धेरै लुगा हातले नै सिलाएर बेचेकी थिइन् ।
हातमा सीप र जाँगर भए केही कुराले नी रोक्दैन भने जस्तै उनको सीपको अगाडि कसैको केही लागेन् । उनले हातले कपडा सिलाएर बेच्दा १२ रुपैया ज्याला लिने गरेकी थिइन । श्रीमान प्रहरीको जागिरे भए पनि आफ्नो लागि आफै कमाउनुपर्छ भन्ने हुटहुटीले उनलाई छाडेन । श्रीमतीको त्यो हुटहुटीमा उनको श्रीमान्ले पनि हार खाए, अनि जोगवनीबाट खरिद गरेर एउटा सिलाई मेशिन ल्याईदिए । अनि सुरु भयो अन्जुको व्यवसायिक सिलाई यात्रा ।
उनले लामो समयसम्म दर्ता विना नै व्यवसाय सञ्चालन गरिन् । पछि संस्था दर्ताभएपछि सरकारी अनुदानहरु पनि पाईने कुरा थाहा भएपछि आफूले व्यवसाय दर्ता गरेको उनले बताइन् । ‘मलाई अनुदानहरु पाईन्छ भन्ने थाहा थिएन । सरकारी सहयोग पनि पाईन्छ भन्ने थाहा पाएपछि व्यवसाय दर्ता गरे’, उनले भनिन्, ‘प्रदेश सरकारको अनुदान ल्याएर मेशिन किनेको छु । प्रदेश तथा स्थानीय सरकारको सहयोग पाएको छु । जसले गर्दा पहिलाको दुःख भुलेको छु । तर पहिलाको दुःखले नै हौसला भने मिल्दो रहेछ ।’
महिलाहरुले बोक्ने ब्याग, सब्जी ब्याग लगायतका सामाग्री बनाएर उनले कोशी प्रदेश तथा अन्य प्रदेशमा पनि बिक्री वितरण गर्दै आईरहेकी छिन् । उनले अनलाईनमार्फत पनि उत्पादित सामान बिक्री गर्ने गरेकी छिन् । उनले ढाकाको कपडा, अल्लोको कपडालगायत विभिन्न थरिका कपडाबाट ब्याग बनाउने गरेको सुनाईन् ।
उनले ७ जनालाई रोजगारीसमेत दिएकी छिन् । सीप सिक्न आउनेलाई रोजगारी पनि दिने गरेको उनले सुनाइन् । महिलाहरु आत्मनिर्भर हुन सक्यो भने मात्र घर समृद्धि हुन्छ भन्ने उनको बुझाई छ । आत्मनिर्भर भए कसैको भर पर्नु नपर्ने भन्दै सबै महिलाहरुलाई आत्मनिर्भर भएर सम्मानकासाथ बाँच्न उनको सुझाव पनि छ ।
अहिले उनी सिलाई प्रशिक्षक पनि हो । उनले विभिन्न ठाउँमा गएर सिलाई सिकाएकी छन् । आफ्नो व्यवसायलाई ब्राण्डको रुपमा स्थापित गर्ने सोच रहेको अन्जुले बताईन् ।