काठमाडौं । सरकारले सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया फेरि अघि बढाएको छ । सर्टलिस्टमा परेर तीन जनालाई अर्थ मन्त्रालयको सिफारिस समितिले अन्तर्वार्तामा बोलाएको छ ।
मन्त्रालयले कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यवसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि मंसिर ९ गते बिहान ८ बजे बोलाएको छ ।
कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । चापागाईं नेपाल बिमा प्राधिकरणको पूर्वअध्यक्ष र अधिकारी धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् । चापागाईं कोरोना बिमा पोलिसी ल्याएर दाबी भुक्तानी अलपत्र पार्ने व्यक्ति हुन् ।
पहिलो चरणको छनोटमा परेर पनि अन्तर्वार्तामा नआएका तीनै जनालाई मन्त्रालयको नाम सिफारिस समितिले पुनः बोलाएको छ ।
यसअघि पनि मन्त्रालयले अन्तर्वार्ताका लागि बोलाएको थियो । उनीहरु अन्तर्वार्ता दिन मन्त्रालय गएनन् । सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तर्वार्ता दिइसकेका छन् । बाँकी अनुपस्थित भएका छन् ।
गत फागुनमा दरखास्त आह्वान गर्दा १९ जनामध्ये श्रेष्ठ, कार्की, चापागाईं र अधिकारी छनोटमा परेका थिए ।
गत असार २ गते अन्तर्वार्ताका लागि ५ जना नै उपस्थित हुनुपर्ने थियो । त्यसबाट तीन जनाको नाम सर्टलिस्ट गरेर समितिले सरकारलाई पठाउनुपर्ने र सरकारले त्यसबाट एक जनालाई नियुक्त गर्नुपर्ने थियो । तर, सर्टलिस्ट गर्न तीन जनाको नाम पुगेन । ऐनअनुसार तीन जनाको नाम सिफारिस हुनुपर्ने व्यवस्था छ ।
तीन जना अन्तर्वार्तामा अनुपस्थित भएका थिए । जसका कारण समितिले गत असार १४ मा छनोट प्रक्रिया रद्द गरेको थियो । त्यसविरुद्ध सन्तोषनारायणले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जसमा अदालतले प्रक्रिया रद्द नगर्न आदेश जारी गरेको थियो । उनको रिट सर्वोच्चमा विचाराधीन छ ।
तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्ड गएको पुसदेखि अध्यक्ष खाली भएको थियो । यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एमाले गठबन्धन सरकारमा छँदा आफ्नालाई ल्याउन तानतान गर्दा बोर्डको अध्यक्ष चयन प्रक्रिया अवरुद्ध भएको हो । एमाले–माओवादी सरकारमा रहँदा अध्यक्ष चयनमा विवाद भएको थियो ।
सत्ता समीकरण परिवर्तनको एउटा कारण धितोपत्र बोर्डको अध्यक्ष रहेको चर्चा त्यसबेला चलेको थियो । बिचौलियाका कारण आफ्नो सरकार ढलेको आरोप पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले लगाउँदै आएका छन् ।
लामो समयदेखि बोर्ड अध्यक्षविहीन भएर काम अवरुद्ध भएपछि गत साउनमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालयका सहसचिव महेश बराललाई अध्यक्ष नियुक्त गरेर पठाएका छन् । बोर्डको जिम्मेबारी लिए पनि बरालले काम नगरी बसेका छन् । अहिले बोर्डमा विभिन्न ३५ कम्पनीको २७ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर (आइपिओ) निष्कासन रोकिएको छ । यस्तै आइपिओ र हकप्रद सेयर निष्कासन अनुमति नहुँदा निर्माणधीन जलविद्युत आयोजनालाई लगानी जुटाउन सकस भएको स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले बताएका छन् ।
यसले गर्दा जलविद्युत आयोजना निर्माण प्रभावित हुने अवस्था आएको उनले सुनाएका छन् । यस्तै अन्य कम्पनीले पनि थप लगानी जुटाउन पाएका छैनन् ।
पाँच अर्ब कमिसनको कुरा
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ५ अर्ब रुपैयाँ कमिसन लिएर बोर्डको अध्यक्ष नियुक्ति गर्न लागेको आरोप लागेको थियो । गत असार १ गते नै प्रधानमन्त्री ओलीले पाँच अर्ब रुपैयाँ कमिसनको खण्डन गरेका थिए । पार्टी संसदीय दलको बैठकमा उनले ओलीले ५ अर्ब रुपैयाँ खाइसक्यो भन्ने आरोप लागेको बताएका थिए ।
स्टक एक्सचेन्जको लाइसेन्स हत्याउन ‘कर्पोरेट वार’
धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि अनुमतिपत्र (लाइसेन्स) का लागि प्रस्ताव आब्हान गरेको थियो । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति स्टक एक्सचेन्जको लाइसेन्ससँग जोडिएको छ । जसले अध्यक्ष बनाउन सक्यो उसैले स्टक एक्सचेन्जको लाइसेन्स हात पार्ने भएकाले व्यवसायिक घरनाहरु अहिले आफू अनुकुलको व्यक्तिलाई बोर्डको अध्यक्ष बनाउन कम्मर कसेर लागेका छन् । अहिले स्टक एक्सचेन्जको लाइसन्ेसका लागि व्यवसायिक घरनाबीच ‘कर्पोरेट वार’ सतहमा देखिएको छ ।
लाइसेन्स हत्याउन व्यवसायीक घरानाबीच लडाईंले गर्दा गत पुस २० गतेदेखि धितोपत्र बजारको नियामक निकाय बोर्ड नेतृत्व बिहिन छ ।
बोर्डमा हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नुपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् । शंकर ग्रुपको नेतृत्वमा हिमालयन स्टक एक्सचेन्ज, व्यवसायी उपेन्द्र महतोको नेसनल स्टक एक्सचेन्ज र क्याप्टेन रामेश्वर थापाको अन्नपूर्ण स्टक एक्सचेन्ज सञ्चालनका लागि धितोपत्र बोर्डमा निवेदन परेको छ । यि तिनवटै स्टक एक्सचेन्ज ल्याउन लागेका व्यवसायीबीच कस्ले लाइसेन्स लिने भन्ने विषयमा अहिले कर्पोरेट वार भएको देखिन्छ ।
तीन जना उम्मेदवार अनुपस्थित भएपछि गत असोज १८ गते बिहान ८ बजे अन्तरर्वार्ताका लागि डाकिएकोमा छनौट समिति संयोजक प्रा.डा. शिवराज अधिकारी एकाएक बिरामी भएर अस्पताल भर्ना भएपछि अन्तर्वार्ता पनि रोकियो ।
धितोपत्र बोर्डमा अध्यक्ष बन्नका १९ जनाले आवेदन दिएका थिए । तिमध्ये बोर्डकै कार्यकारी निर्देशकद्धय डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्जका सीईओ कृष्ण बहादुर कार्की, नेपाल बिमा प्राधिकरणका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईँ र सन्तोषनारायण श्रेष्ठ पाँच जनामा छानिएका थिए । सन्तोषनारायण विष्णु पौडेल उर्जा मन्त्री हुँदा नेपाल विद्युत प्राधिकरणको सञ्चालक थिए । उनीहरुमध्ये मुक्तिनाथ र सन्तोष नारायणले अन्तरवार्ता दिइसकेका छन् । यस्तै अधिकारी, कार्की र चापागाईँले अन्तरवार्ता बहिष्कार गरेका थिए ।
शंकर ग्रुपले सन्तोष नारायण र अर्को ग्रुपको चापागाईं वा कार्की मध्ये एक जनालाई अध्यक्ष बनाउन लागेको स्रोतको दाबी छ । कार्यकाल हुँदै स्टक एक्चेन्जको लाइसेन्स दिन आँट नगरेपछि शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवालले आफ्नो कार्यालयमा बोलाएर तत्कालिन अध्यक्ष रमेश हमाललाई झपारेको स्रोतको दाबी छ ।
व्यवसायिक घरनाबीचको लडाईंले बोर्डको अध्यक्ष नियुक्ति अझै पेचिलो बन्दै गएको छ भने स्टक एक्सचेन्ज लाइसेन्स प्रक्रिया कहिले सुरु हुने हो अनिश्चित छ । मुलुकमा अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मात्र सेयर कारोबार हुने गरेको छ ।