logo

२०८१ मंसिर ३ सोमबार

logo
  • सोमबार, ३ मंसिर २०८१
  • १३५ मेगावाटको मनाङ–मर्स्याङ्दीलाई जुट्यो लगानी, चाइना एक्जिम बैंकको २७ अर्ब ऋण

    १३५ मेगावाटको मनाङ–मर्स्याङ्दीलाई जुट्यो लगानी, चाइना एक्जिम बैंकको २७ अर्ब ऋण

    448
    Shares
    १३५ मेगावाटको मनाङ–मर्स्याङ्दीलाई जुट्यो लगानी, चाइना एक्जिम बैंकको २७ अर्ब ऋण

    काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले सहायक कम्पनीमार्फत बनाउन लागेको १ सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी क्यास्केड जलविद्युत आयोजनामा चीनको निर्यात–आयात (एक्जिम) बैंकले ऋण लगानी गर्ने भएको छ ।

    मुख्य ऋण लगानीकर्ता एक्जिम बैंक, बिपिसी र चिनियाँ कम्पनीबीच आउँदो शुक्रबार ऋण लगानी सम्झौता हुने भएको छ । आयोजना मनाङ–मस्र्याङ्दी हाइड्रोपावरले निर्माण गर्ने भएको छ । कम्पनीले साधारण सेयर (आइपिओ) पनि जारी गर्नेछ ।

    यसअघि नै एक्जिम बैंकले आयोजनामा ऋण लगानी गर्ने सैद्धान्तिक सहमति जनाएको थियो । आयोजना बनाउन कूल ३३ अर्ब ३७ करोड रुपैयाँ (३२ करोड डलर) लागत अनुमान गरिएको छ । २७ अर्ब रुपैयाँ बढी लगानी चीनबाट आउने बताइएको छ ।

    कुल ऋण लगानीको ६८ प्रतिशत एक्जिम बैंक र बाँकी निर्माण कम्पनीले व्यवस्थापन गर्ने भएको छ । ऋण लगानी व्यवस्थापन चिनियाँ लगानीकर्ताले गरेका छन् ।

    २०७९ पुस ३ मा जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालय र निर्माण कम्पनीबीच आयोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भइसकेको छ । यस्तै नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ ।

    सुक्खायामको ६ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्खायामको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पिपिए भएको छ । वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउनेछ ।

    यसअघि आयोजना २०२३ देखि निर्माण सुरु भई ४० महिनामा सक्ने लक्ष्य तय भएकोमा भर्खरै वित्तीय व्यवस्थापन हुन लागेकाले पछि धकेलिएको छ ।

    आयोजनामा स्वपुँजी (इक्विटी) लगानी गर्न बिपिसीले प्रिमियम मूल्यमा १ करोड कित्ता थप (एफपिओ) निष्कासन गर्ने भएको छ ।

    इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (इपिसी) खाकामा बन्नेछ । प्रस्तावित आयोजनाबाट ७६ करोड ६५ लाख ९३ हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

    आयोजनामा चिनियाँ कम्पनीको ८० र बाँकी २० प्रतिशत बिपिसीको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । उक्त कम्पनीको सेयरमा बुटवल पावर कम्पनीको २२.४० प्रतिशत, एससीआइजी इन्टरनेशनल लिमिटेडको नाममा ४९.४७ प्रतिशत, छिङजोङ इन्टरनेशनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको १६.४९ प्रतिशत र क्यूआइईसी इन्टरनेशनल कम्पनी लिमिटेडका नाममा ११.६४ प्रतिशत सेयर रहनेछ ।

    जलविद्युतमा लगानी गर्न बिपिसी र ३ वटा चिनियाँ कम्पनीले एससीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि स्थापना गरेका छन् । बिपिसीका अतिरिक्त एससीआइजी इन्टरनेसनल, जीचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी, क्युआइइसी इन्टरनेसनल कम्पनी लिमिटेड हङकङको लगानी रहनेछ ।

    आयोजनाको हेड ४ सय ३० मिटर र सुरुङको लम्बाइ ६ किलोमिटर रहनेछ । चिनियाँ कम्पनीको साझेदारीमा बिपिसीले मस्र्याङ्दी बेसिनमै ३ सय २७ मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ र १ सय ३९ मेगावाटको तल्लो मनाङ–मस्र्याङ्दी आयोजना निर्माणको तयारी गरेको छ ।

    तीन आयोजनाको क्षमता ६ सय १ मेगावाट छ । तीनवटै आयोजना शृंखला (क्यासकेड) खाकामा निर्माण हुने भएको छ ।

    आयोजना मनाङको नासो र चामे गाउँपालिकामा निर्माण हुने भएको छ । आयोजनाबाट उत्पादित बिजुली मनाङको धारापानीस्थित प्राधिकरणको २ सय २० केभी धारापानी सबस्टेसनमा जोड्ने गरी प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भएको छ ।

    बिपिसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन २०१८ मा लगानी चिनियाँसँग सम्झौता गरेको हो ।

    होल्डिङ कम्पनीमार्फत आउँदो केही वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ । बिपिसीले ३० मेगावाटको न्यादी आयोजना निर्माण गरिसकेको छ । बिपिसीले साढे ३७ मेगावाटको काबेली–ए आयोजना निर्माण गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend