काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह वृद्धि भई रू चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । यस्तै आयात ४.२ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले घटेको छ ।
यस्तै शोधनान्तर स्थिति रु.१८४ अर्ब ९९ करोडले बचतमा रहेको बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चिति रु.२२३२ अर्ब २८ करोड र अमेरिकी डलरमा १६ अर्ब ६० करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.३२९ अर्ब २० करोड र राजस्व परिचालन रु.२४८ अर्ब २६ करोड रहेको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा चार खर्ब सात अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । असोज मसान्तसम्म विप्रेषण आप्रवाह गत वर्षको तुलनामा ११.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो ।
यस्तै विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेश घुमफिरमा धेरै खर्च गर्ने गरेको पाइएको छ । चालु आव पहिलो तीन महिनामा भ्रमण व्यय ५५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।
यसमध्ये शिक्षामा ३२ अर्ब १८ करोड रुपैयाँ विदेशिएको हो । बाँकी रकम नेपालीले घुमफिर प्रयोजनमा विदेश लगेका हुन् ।
यो अवधिमा वैदेशिक रोजगारीका निम्ति अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख १० हजार ६५४ छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९३९ छ । दुवै गरी यो अवधिमा एक लाख ७० हजार ५९३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति :