काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्नेसँगै विश्व बजारमा डलरको भाउ उकालो लागेको छ । डलर मजवुत हुँदै गएको छ । डलरसँगै सेयर बजार र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ ।
डलर बढ्दा यसको असर विकशित, उदियमानका साथै नेपाल र भारतलगायत विश्वभरी परेको छ । नेपालमा अमेरिकी डलर महँगिएर नयाँ रेकर्ड कायम भएको छ ।
अब १ डलर किन्न १३५.३७ रुपैयाँ खर्चिनुपर्ने अवस्था आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार डलरको यो भाउ अहिलेसम्मकै उच्च हो ।
भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो । बुधबार १ डलर बराबर ८४.३९ भारु पुगेको छ । डलरसँग भारु हालसम्मकै कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो ।
भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स्ड पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ । भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ ।
रुस–युक्रेन युद्ध र पछिल्लो समय इजरेलले हमास, हजबुल्लाह इरानमा गरेको आक्रमणका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएकोमा ट्रम्पको ह्वाइट हाउसमा भएको पुनरगमनले डलर झनै बलियो भएको छ ।
नेपाल र भारतमा मात्र होइन, विश्वबजारमा डलर बलियो हुँदा अन्य स्थानीय मुद्रा कमजोर बन्दै गएका छन् ।
विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको तथ्याँक छ ।
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर २५ प्रतिशत विन्दुले घटाइसकेको छ । भारतजस्ता उदीयमान देशबाट डलरमा भएको लगानी फिर्ता गइरहेको छ । डलर सञ्चिति घट्दै गएपछि स्थानीय मुद्रा कमजोर हुन बल पुगेको छ । विश्वबजारमा डलरको ग्राफ उकालो लाग्दै गएको छ ।
अहिले डलरका कारण विश्व बजारमा सुन, पेट्रोलियम पदार्थ र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ ।
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन् । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्ने छ ।
यस्तै पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ । विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउने छन् ।
डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि बजारभाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ । यस्तै विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि हुन्छ ।
डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढेको छ ।
यसैगरी विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने छ ।
यो पनि :
डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि डलर महंगिएर नयाँ रेकर्ड, नेपाली रुपैयाँ झनै कमजोर