नेपालको संविधान २०७२ जारी भएपछि संघीय गणतान्त्रिक मुलुक भएको छ । संविधान जारी भएपछि संघीय स्वरुपमा २०७४ सालमा तीन तहको सरकारको लागि निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट संघीय तहमा करीब दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दीर्घकालीन सोच सहितको १५ औं योजना तर्जुमा गरेको थियो । उक्त योजनाले दीर्घकालीन सोचको रुपमा सम्वृद्ध नेपाल, सुखी नेपालीलाई लिइएको थियो । उक्त योजनाअनुसार दीर्घकालीन सोचको अर्थ ‘समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्र सहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुक’ भन्ने रहेको छ । १६ औं योजनाले पनि सारभूत रुपमा वि.स. २१०० सम्म हासिल गर्ने दीर्घकालीन लक्ष्यलाई नै आत्मसाथ गरेको छ । उक्त दीर्घकालीन सोच हासिल गर्न बैकिङ्ग क्षेत्र कसरी भूमिका खेल्न सक्छ भन्ने सन्दर्भमा यो लेख केन्द्रित रहेको छ ।
सम्वृद्ध नेपाल, सुखी नेपाली
१५ औं योजनाले सम्वृद्धिलाई परिभाषित गरेको छ । जसअनुसार सम्वृद्धिले चारवटा आधारलाई जनाउने देखाएको छ । पहिलो, सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघन अन्तरआवद्धता, दोस्रो मानवपूँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, तेस्रो उच्च र दिगो उत्पादन तथा उत्पादकत्व र चौथो, उच्च र समतामूलक राष्ट्रिय आय । त्यस्तै, सुखको लागि ६ वटा आधारहरुमा लिइएको छ । पहिलो, परिष्कृत तथा मर्यादित जीवन, दोस्रो सुरक्षित, सभ्य र न्यायपूर्ण समाज, तेस्रो स्वस्थ र सन्तुलित पर्यावरण, चौथो असल सुशासन, पाँचौ सबल लोकतन्त्र, र छैठौ राष्ट्रिय एकता, सुरक्षा र सम्मान ।
आर्थिक विकास र सम्पन्नताले सम्वृद्धि ल्याउन सक्छ तर यसैले मात्र सुख नल्याउन पनि सक्छ । सम्वृद्धिका लागि उत्पादन र उत्पादकत्वको अभिवृद्धि आवश्यक पर्दछ जसका कारण आयमा वृद्धि ल्याउन सकिन्छ । उच्च आयको यथासम्भव समान वितरणले समाजमा सामनस्यता ल्याउने हुन्छ । उच्च आयसँगै समाज सुरक्षित र सभ्य भएन भने बस्न लायक हुँदैन । उत्पादन र उत्पादकत्व वृद्धिसँगै आय बढाउन मानवीय र भौतिक पुँजीको आवश्यक पर्दछ । यसको लागि मानवीय पुँजी र भौतिक पूर्वाधारमा लगानी बढाउनु पर्दछ । भौतिक पूर्वाधारको अतिरिक्त प्रविधि र उपकरणहरुमा पनि लगानी बढाउनु पर्ने हुन्छ । सक्षम जनशक्ति र प्रविधिको प्रयोगले नै उत्पादन र उत्पादकत्व बढाउन सहयोग पुग्दछ ।
सम्वृद्धिले सुख वा खुशी प्राप्त गर्ने आधार दिन्छ तर सुख र खुशी मनसँग जोडिएको विषयहरु हुन् । पूर्वी दर्शनमा भौतिकताले भन्दा आध्यात्माले सुख र खुशीले दिने पनि ठानिन्छ । तापनि, यसो भन्दैमा गरिबी, अभाव र दुःखमा मानिस सुखी र खुशी हुन पक्कै सक्दैन । मुख्यतया मानवीय जीवनका आधारभूत भौतिक आवश्यकताहरु पुरा हुनु पर्दछ । त्योसँगै योजनाले परिलक्षित गरे झै परिष्कृत र मर्यादित जीवनको आवश्यकता पर्दछ ता कि मानिसहरु समाजमा अपहेलित हुन नपरोस र सम्मानित जीवन बाँच्न सकोस । भौतिक रुपमा सम्पन्न भए पनि समाजमा मुद्धा मामिला, झै झगडा भइरहे बस्न लायक नहुन सक्छ । तर, अन्याय भएकै अवस्थामा न्याय सजिलै पाउन सक्ने र कसैले अन्याय गर्न नसक्ने अवस्थाले सुख सिर्जना गर्न सक्छ ।
भौतिक उत्पादन र विकासले पर्यावरणलाई नकारात्मक असर पार्दछ । विकसित देशहरुको भौतिकताको चरम विकासले गर्दा अहिले जलवायू परिवर्तन भई थुप्रै विनास पनि हुने गरेको छ । भौतिकतातर्फ बढी आशक्तताले गर्दा वातावरण प्रदुषित भई बासस्थानहरु बस्न लायक हुन छाडेका थुप्रै उदाहरणहरु पाइन्छ । दुषित वातावरणले गर्दा मानिसहरुको स्वास्थ्य बिग्रिन जाँदा पक्कै पनि मानिसहरु सुखी र खुशी रहन सक्दैन । यसले अनावश्यक खर्च बढाउँछ भने मानिसको जीवनमा पीडा ल्याउँछ । साथै, सहज र गुणस्तरीय स्वास्थ्य सुविधाले मानवीय पुँजी निर्माणमा सहयोग पुराउँछ । अस्वस्थ र रोगी व्यक्ति आर्थिक गतिविधिमा सक्रिय रुपमा लाग्न सक्दैन ।
भौतिक उत्पादन र विकासले पर्यावरणलाई नकारात्मक असर पार्दछ । विकसित देशहरुको भौतिकताको चरम विकासले गर्दा अहिले जलवायू परिवर्तन भई थुप्रै विनास पनि हुने गरेको छ । भौतिकतातर्फ बढी आशक्तताले गर्दा वातावरण प्रदुषित भई बासस्थानहरु बस्न लायक हुन छाडेका थुप्रै उदाहरणहरु पाइन्छ । दुषित वातावरणले गर्दा मानिसहरुको स्वास्थ्य बिग्रिन जाँदा पक्कै पनि मानिसहरु सुखी र खुशी रहन सक्दैन । यसले अनावश्यक खर्च बढाउँछ भने मानिसको जीवनमा पीडा ल्याउँछ । साथै, सहज र गुणस्तरीय स्वास्थ्य सुविधाले मानवीय पुँजी निर्माणमा सहयोग पुराउँछ । अस्वस्थ र रोगी व्यक्ति आर्थिक गतिविधिमा सक्रिय रुपमा लाग्न सक्दैन ।
समाजमा असल वातावरणको लागि असल शासनको पनि आवश्यकता पर्दछ । व्यक्तिगत फाइदाको लागि सत्ता र शक्तिको दुरुपयोगले नै समाजमा भेदभाव र असमानता सिर्जना गर्दछ । कानूनी शासन नहुने हो भने मानिसहरुले सुरक्षा महसुस गर्न सक्दैन । समाजमा सबै मानिसहरु असल आचरणका हुन्छन भन्ने छैन । गलत आचरण भएका मानिसहरुले समाजको वातावरण खल्बल्याउन सक्छ । तसर्थ, कानूनी राज्यको आवश्यकता पर्दछ ताकि खराब गर्ने मानिस दण्डित हुन पुगोस ।
असल शासनको लागि लोकतन्त्र बलियो हुनु पर्दछ भन्ने मान्यता रहेको छ । खासगरी सत्ता र शक्तिको दुरुपयोग गरेर व्यक्तिगत फाइदा गर्ने, अरुलाई अन्याय र अत्याचार गर्ने हुन्छ । विभिन्न देश र नेपालकै विगतमा निरकुश शासन हुँदा सत्ता र शक्तिमा निश्चित वर्ग र तप्काका मानिसहरुको मात्र पहुँच हुँदा ठूलो तप्कालाई शोषण गर्ने अवस्था आउँछ । त्यस्लै, विश्वमा तुलनात्मक रुपमा लोकतान्त्रिक व्यवस्थालाई रुचाइन्छ । आवधिक रुपमा हुने निर्वाचनले गर्दा कुनै व्यक्ति वा समूहले जनता माथि अन्याय र अत्यचार गरिरहन सक्दैन । मतदाताहरु असन्तुष्ट भएमा शासन गर्नको लागि पर्याप्त मत नदिन सक्छन् । तर, मतदानको व्यवस्थाले मात्र लोकतान्त्रिक प्रणाली सबल हुन्छ भन्ने नहुन पनि सक्छ । मतदाताहरुको चेतना, बलियो कानूनी व्यवस्था र शक्ति सन्तुलनको स्थितिले लोकतान्त्रिक व्यवस्थालाई मजवुत बनाउन सघाउँछ ।
मानिसहरु खुशी र सुखी हुन देशमा अमनचयन पनि कायम हुनु पर्दछ । देशभित्र मात्र होइन बाह्य देशहरुसँग पनि सन्तुलित सम्बन्धहरु कायम गर्दै झैझगडामुक्त सुरक्षित हुनुपर्दछ । आन्तरिक द्वन्द् वा वाह्य युद्धले पक्कै पनि बस्नको लागि शान्तिपूर्ण वातावरण सिर्जना गर्न सक्दैन ।
यसरी सम्वृद्ध नेपाल र सुखी नेपालीले बहुआयामिक पक्षहरुलाई समेटेको छ । शायद यो भौतिक र मानवीय विकासको उच्चतम अवस्था हो । अभाव र समस्यारहित अधिकतम मानसिक सन्तुष्टि प्राप्त हुने अवस्था हो । बढी भन्दा बढी भौतिक उपयोगतर्फ अग्रसर वर्तमान समाज र विश्वमा मानसिक सन्तुष्टिको पर्याप्तता कहाँ गएर पुरा हुन्छ भनेर भन्न नसकिने अवस्था पनि छ । तापनि, कम्तिमा जीवन बाच्नको लागि देशका सबै नागरिकहरुलाई आर्थिक अभावरहित अवस्था सिर्जना हुन सकेमा पनि नेपालले लिएको दीर्घकालीन सोच हासिल गर्न सहयोग पुग्ने देखिन्छ । बैकिङ्ग क्षेत्रले कम्तिमा आर्थिक अभावको अवस्थाबाट मुक्ति दिन सहयोग पुराउन सक्छ । यसमा बैकिङ्ग क्षेत्रले कसरी सहयोग पुराउन सक्छ भन्ने सवाल तल चर्चा गरिएको छ ।
सम्वृद्धि र सुखको वर्तमान अवस्था
१५ औँ योजनाले लिएको दीर्घकालीन सोच वास्तवमा अति उच्चतम र आदर्शतम अवस्था हो । कतिपय अवस्थामा तथ्याङ्कीय सूचकमा यो मापन गर्न पनि सकिदैन । नयाँ राजनैतिक परिवेशमा दीर्घकालीन महत्वको साथ तर्जुमा गरिएको १५ औं योजना कार्यान्वयन शुरु भएकै आर्थिक वर्ष २०७६/७७ मा कोरना महामारी आयो जसले गर्दा उक्तवर्षको आर्थिक वृद्धिदर २.४ प्रतिशतले नकारात्मक रह्यो । कोरोनाको प्रभावमा तीन वर्षसम्म कुनै न कुनै रुपमा रह्यो ।
कोभिड १९ को प्रभावबाट आर्थिक क्षेत्रलाई बचाउन लिएका लचक नीतिहरुले गर्दा दुई वर्षपछि बाह्य क्षेत्रमा दवाव सिर्जना गर्यो जसका लागि नीतिगत कडाईहरु गर्नु पर्यो । दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न खोजेको १५ औं योजना अवधिमा आर्थिक वृद्धिदर २.८ प्रतिशतमात्र रहन गयो । तापनि प्रति व्यक्ति आम्दानी आधार वर्ष २०७५/७६ मा १२ सय १६ अमेरिकी डलर रहेकोमा अन्तिम वर्ष २०८०/८१ मा आइपुग्दा १९.७ प्रतिशत बढेर १४ सय ५६ अमेरिकी डलर पुग्यो । तापनि, तुलनात्मक रुपमा यो आय दक्षिण एसिया कै कम मध्येमा पर्दछ ।
आर्थिक वर्ष २०७९/८० मा सम्पन्न नेपाल जीवनस्तर सर्वेक्षण चौथोका अनुसार गरिबीको मापनलाई नेपाल जीवनस्तर सर्वेक्षण तेस्रो ( २०६७/६८) कै आधार मान्ने हो भने २०७९/८० मा गरिबीको दर ३.५ प्रतिशत झरेको छ । तर, १२ वर्षको अवधिमा उपभोगको संरचनामा व्यापक परिवर्तन आएको छ, मूल्यवृद्धि भएको छ र जीवनस्तरमा केही सुधार भएको छ । त्यसैले नयाँ गरिबीको रेखाको रुपमा ७२ हजार ९०८ कायम गर्दा निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसंख्या २०.३ प्रतिशत रहेको पाइएको छ । यसरी गरिबी घट्दै गए पनि अझै उच्च रहेको छ । यसले करीब ६० लाख जनसंख्या गरिबीको अवस्थामा रहेको देखिन्छ । गरिबीको अवस्थामा पक्कै पनि सम्बृद्धि र सुख प्राप्त नहुन सक्छ ।
आर्थिक वर्ष २०७९/८० मा सम्पन्न नेपाल जीवनस्तर सर्वेक्षण चौथोका अनुसार गरिबीको मापनलाई नेपाल जीवनस्तर सर्वेक्षण तेस्रो ( २०६७/६८) कै आधार मान्ने हो भने २०७९/८० मा गरिबीको दर ३.५ प्रतिशत झरेको छ । तर, १२ वर्षको अवधिमा उपभोगको संरचनामा व्यापक परिवर्तन आएको छ, मूल्यवृद्धि भएको छ र जीवनस्तरमा केही सुधार भएको छ । त्यसैले नयाँ गरिबीको रेखाको रुपमा ७२ हजार ९०८ कायम गर्दा निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसंख्या २०.३ प्रतिशत रहेको पाइएको छ । यसरी गरिबी घट्दै गए पनि अझै उच्च रहेको छ ।
सम्वृद्धिका केही अन्य सूचकहरु हेर्दा १५ औं योजना लक्ष्य गरे बमोजिम नभए पनि सुधारोन्मुख चाहि रहेका छन् । आर्थिक वर्ष २०७५/७६ मा १२ सय ५० मेगावाट भएको विद्युत उत्पादन २०८०/८१ मा साढे दुई गुणा जतिले बढेर ३२ सय ४३ मेगावाट पुगेको छ । सो अवधिमा विद्युतमा पहुँच प्राप्त जनसंख्या ८८ प्रतिशतबाट बढेर ९८ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८०/८१ देखि नेपालले आयात भन्दा बढी विद्युत निर्यात गर्न सकेको छ । राष्ट्रिय र प्रादेशिक लोकमार्ग आर्थिक वर्ष २०७५/७६ मा ७ हजार ८ सय ९० किमी रहेकोमा झण्डै दोब्बरले बढेर १४ हजार ७ सय ५५ किलोमिटर पुगेको छ । करीब २५ हजार किलोमिटर अष्टिकल फाइबर विछ्याइएको छ भने ७० प्रतिशत जनसंख्यामा फोर जी इन्टरनेट सेवा पुगेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा औसत आयु ७०.५ वर्ष रहेकोमा २०८०/८१ मा ७१.३ वर्ष पुगेको छ । साक्षरता दर ( १५ वर्ष माथि) उक्त अवधिमा ५८ प्रतिशतबाट बढेर ७१.२ प्रतिशत पुगेको छ । आधारभूत खानेपानी सेवा पुगेको जनसंख्या ८९ प्रतिशतबाट बढेर ९६.४ प्रतिशत, र आधारभूत सरसफाइ ९५.५ प्रतिशत जनसंख्यामा पुगेको छ ।
भौतिक प्रगति भए पनि आन्तरिक रोजगारी पर्याप्त सिर्जना हुन नसक्दा, कृषि र निर्माणमा सिर्जित रोजगारीमा युवाहरुले रुचि नराख्दा लाखौको संख्यामा नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीको आम्दानीले गरिबी घटाउन, शिक्षा र स्वास्थ्य सुविधा प्राप्त गर्न सफल भए पनि कति परिवारहरु कति सुखी र खुशी छन भन्ने कुरा आउन सक्छ । कोभिडपछि अलि बढी निराशा र नैराश्ता बढेको भने पाइन्छ । सञ्चार माध्यमको विकास र विस्तारले सूचनाको सहज पहुँचसँगै विकसित देशहरुको तुलनामा नेपालको विकासको अन्तरलाई लिएर युवाहरु बढी असन्तोष भएको देखिन्छ । सम्वृद्धिका लागि उल्लेख्य परिश्रम, मेहनत, त्याग, लगनशीलता, क्षमता अभिवृद्धि र उद्यमशीलता चाहिने कुरालाई भन्ने युवाहरुले नजर अन्दाज गरेको देखिन्छ ।
सम्वृद्धि र सुखको हासिलमा बैकिङ क्षेत्रको भूमिका
बैकिङ्ग क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको हुन्छ । नेपालमा आर्थिक र वित्तीय उदारीकरण पश्चात बैकिङ्ग क्षेत्र तीव्र रुपमा विस्तार हुन पुगेको छ । नेपालमा आधुनिक बैकिङ्ग क्षेत्रको विकास वि.स. १९९४ मा नेपाल बैंक स्थापना भएपछि भएको पाइन्छ । यसरी नेपालमा बैकिङ्ग क्षेत्रको शुरुवात जहाँनिया राणा शासनको समयदेखि नै भएको थियो । नेपालको बैकिङ्ग क्षेत्रले विभिन्न राजनैतिक व्यवस्था र कालखण्ड पार गर्दै आएको छ । पछिल्लो समय विभिन्न खालका राजनैतिक परिवर्तनपश्चात मुलुक अहिले संघीय गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेसँगै आर्थिक सम्वृद्धिको मुद्धाले प्राथमिकता पाउन थालेको छ । माथि उल्लेख गरे झै नेपाल अहिले सम्वृद्धि र सुख प्राप्तीतर्फ अग्रसर रहेको छ । यस अवस्थामा नेपालको बैकिङ्ग क्षेत्रले उक्त सोच हासिल गर्नतर्फ महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ र गर्नुपर्ने देखिन्छ ।
बैकिङ्ग क्षेत्रको महत्वपूर्ण कार्य भनेको वित्तीय मध्यस्थता गर्नु हो । बचतकर्ताहरुबाट बचत संकलन गरेर लगानीकर्ताहरुको लागि वित्तीय साधन उपलब्ध गराउने काम नै वित्तीय मध्यस्थताको काम हो । आफूसँग पर्याप्त बचत नभए पनि बैकिङ्ग क्षेत्रबाट ऋण लिएर आर्थिक गतिविधि बढाउनको लागि लगानी गर्न सकिन्छ । धेरै बचतकर्ताहरुबाट सानो सानो रकम संकलन गरेर बैकिङ्ग क्षेत्रले ठूलो र जोखिमयुक्त लगानीको लागि वित्तीय साधन उपलब्ध गराउँदछ । वित्तीय मध्यस्थताको कामले गर्दा अर्थतन्त्रमा पुँजी निर्माण हुन सघाउँछ । पुँजी निर्माणले नै आर्थिक वृद्धि बढाउँछ । आर्थिक वृद्धि भएमा मात्र प्रति व्यक्ति आम्दानी बढ्ने हुन्छ । बचत परिचालन, लगानी गर्दै हुने पुँजी निर्माणले बढाउने आर्थिक वृद्धिले बचत तथा लगानीकर्ता दुवैलाई फाइदा पुर्याउँछ । बचतकर्ता ब्याजको रुपमा आम्दानी प्राप्त गर्दछ भने लगानीकर्ताले लगानी गरेर वस्तु तथा सेवाको थप उत्पादन गरेर कमाउन सक्छ । आम्दानी बढेमा मात्र मानिस सम्वृद्ध र सुखी बन्न सक्छ । बढ्दो आर्थिक गतिविधिले गर्दा सरकारले बढी राजस्व संकलन गर्न सक्छ जसले गर्दा सरकारले भौतिक पूर्वाधारको निर्माण र शान्ति सुरक्षा कायम गर्न सक्छ ।
वित्तीय मध्यस्थताको कामले गर्दा अर्थतन्त्रमा पुँजी निर्माण हुन सघाउँछ । पुँजी निर्माणले नै आर्थिक वृद्धि बढाउँछ । आर्थिक वृद्धि भएमा मात्र प्रति व्यक्ति आम्दानी बढ्ने हुन्छ । बचत परिचालन, लगानी गर्दै हुने पुँजी निर्माणले बढाउने आर्थिक वृद्धिले बचत तथा लगानीकर्ता दुवैलाई फाइदा पुर्याउँछ । बचतकर्ता ब्याजको रुपमा आम्दानी प्राप्त गर्दछ भने लगानीकर्ताले लगानी गरेर वस्तु तथा सेवाको थप उत्पादन गरेर कमाउन सक्छ । आम्दानी बढेमा मात्र मानिस सम्वृद्ध र सुखी बन्न सक्छ । बढ्दो आर्थिक गतिविधिले गर्दा सरकारले बढी राजस्व संकलन गर्न सक्छ जसले गर्दा सरकारले भौतिक पूर्वाधारको निर्माण र शान्ति सुरक्षा कायम गर्न सक्छ ।
बैकिङ्ग क्षेत्रको अर्को महत्वपूर्ण काम भनेको भुक्तानी प्रणाली व्यवस्थित गर्नु हो । अर्थतन्त्रका प्रायः सबै आर्थिक कृयाकलापहरुको भुक्तानीको लागि कुनै न कुनै रुपमा बैकिङ्ग प्रणाली प्रयोगमा आउँछ । बैकिङ्ग प्रणालीको केन्द्रिय संस्थाको रुपमा रहेको केन्द्रीय बैकले छाप्ने मुद्राले आधारभूत रुपमा भुक्तानी प्रणालीको काम गरेको हुन्छ भने बैकिङ्ग प्रणालीले भुक्तानीको लागि चेक, प्रतितपत्र जस्ता अन्य उपकरणहरु प्रयोगमा ल्याएका छन् । सूचना प्रविधिको विकासले गर्दा अहिले भुक्तानीको लागि डिजिटल बैकिङ्ग प्रयोग बढ्दोे छ । भुक्तानी प्रणालीको विकासले आर्थिक गतिविधिमा विशिष्टता हासिल गर्न सहयोग पुराउँछ । वस्तु विनिमयमा जस्तो वस्तु तथा सेवाको विनिमयको लागि हुने जटिलता आधुनिक भुक्तानी प्रणालीमा हुदैन । भुक्तानी प्रणालीको सहजताले गर्दा विगतमा जस्तो आफूलाई चाहिने अधिकांश वस्तु आफै उत्पादन गर्नुपर्ने अवस्था रहेको छैन । आर्थिक कृयाकलापको कुनै क्षेत्रमा विशिष्टता हासिल गर्न भुक्तानी प्रणालीले सहयोग पुराउने हुँदा अर्थतन्त्रमा धेरै र विभिन्न प्रकारका वस्तु तथा सेवा उत्पादन र उपभोग गर्न सकिने हुन्छ । भुक्तानी प्रणालीको उपलब्धताले गर्दा विभिन्न खाल बजारहरुको विकास हुन्छ । यी सबै कुराले आर्थिक गतिविधि बढाउन सहयोग पुराउने हुँदा मानिसहरुको आम्दानी बढ्न पुग्छ । सहज ढंगले आर्थिक कृयाकलाप गरेर आम्दानी गर्दै आफ्नो आवश्यकताहरु पुरा गर्न सकिने हुँदा मानिस सुखी र खुशी हुन सक्छ ।
मानिसहरुले बैकिङ्ग क्षेत्रबाट आर्थिक गतिविधिमा लगानी गर्न मात्र ऋण लिदैनन् । आफूसँग पर्याप्त आम्दानी तथा बचत नभएको अवस्थामा ऋण लिएर शिक्षा र स्वास्थ्य उपचारमा पनि खर्च गर्न सक्छ । शिक्षा र स्वास्थ्यमा गरिने खर्च मानवीय पुँजी निर्माणमा सहयोग पुराउँछ । शिक्षित, त्यस्मा पनि प्राविधिक शिक्षा हासिल गर्दा मानिसको क्षमता र उत्पादकत्व बढ्दछ । क्षमतावान व्यक्तिले नै बजारमा उच्च आय हुने रोजगारी पाउन सक्छ भने विशिष्टिकृत ढंगले आर्थिक कृयाकलापहरु गर्न सक्छ । परम्परागत कृषि तथा साना कुटिर उद्योग बाहेक आधुनिक प्रकृतिका आर्थिक गतिविधि गर्न शिक्षा नभइ गर्न सक्दिैन । शिक्षा हासिल गर्न पनि खर्च लाग्ने हुन्छ । बैकिङ्ग क्षेत्रले प्रदान गर्ने ऋणले शिक्षा हासिल गर्न लाग्ने खर्चको जो हो हुन सक्छ । त्यस्तै, आफूसँग बचत नभएको अवस्थामा स्वास्थ्य उपचारको लागि प्राप्त हुने ऋणले स्वास्थ्य सेवा प्राप्त गरी व्यक्ति पुनः आर्थिक गतिविधिमा सक्रिय हुन सक्छ ।
बैकिङ्ग क्षेत्रले आफ्नो कार्यले गर्दा सम्वृद्धिका माथि उल्लेखित चार वटा आधार मध्ये तेस्रो आधार उच्च र दिगो उत्पादन तथा उत्पादकत्व बढाउन प्रत्यक्ष रुपमा सहयोग पुराएको हुन्छ । आर्थिक गतिविधिलाई आधुनिक र ठूलो आकारमा लैजान बैकिङ्ग क्षेत्रले ठूलो भूमिका खेलेको हुन्छ । सानादेखि ठूला उद्योग धन्धा र व्यवसायहरु गर्न बैकिङ्ग क्षेत्रको कर्जाले ठूलो सहयोग पुराइरहेको छ । पछिल्लो समय नेपालमा जलविद्युत आयोजनाहरुको तीव्र रुपमा विस्तार भइरहेका छन् । यिनीहरुको विकास र विस्तारको लागि बैकिङ्ग क्षेत्रले ठूलो भूमिका खेलेको छ ।
बैकिङ्ग क्षेत्रले आफ्नो कार्यले गर्दा सम्वृद्धिका माथि उल्लेखित चार वटा आधार मध्ये तेस्रो आधार उच्च र दिगो उत्पादन तथा उत्पादकत्व बढाउन प्रत्यक्ष रुपमा सहयोग पुराएको हुन्छ । आर्थिक गतिविधिलाई आधुनिक र ठूलो आकारमा लैजान बैकिङ्ग क्षेत्रले ठूलो भूमिका खेलेको हुन्छ । सानादेखि ठूला उद्योग धन्धा र व्यवसायहरु गर्न बैकिङ्ग क्षेत्रको कर्जाले ठूलो सहयोग पुराइरहेको छ । पछिल्लो समय नेपालमा जलविद्युत आयोजनाहरुको तीव्र रुपमा विस्तार भइरहेका छन् । यिनीहरुको विकास र विस्तारको लागि बैकिङ्ग क्षेत्रले ठूलो भूमिका खेलेको छ ।
माथि चर्चा गरे झै बैकिङ्ग क्षेत्रले सम्वृद्धिको दोस्रो आधार मानवपूँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग गर्न पनि सहयोग पुराउँछ । त्यस्तै, सम्वृद्धिको चौथो आधार उच्च र समतामूलक राष्ट्रिय आय हासिल गर्न आंशिक रुपमा सहयोग पुराउँछ । आर्थिक गतिविधिको विस्तार र विश्ष्टितासंगै आय उच्च हुन सक्छ । तर, बैकिङ्ग क्षेत्र आफैले आय समतामुलक बनाउन भने सक्दैन । सम्वृद्धिको पहिलो आधार सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघन अन्तरआवद्धता हासिल गर्न पनि अप्रत्यक्ष रुपमा मात्र सहयोग पुर्याउँछ । बैकिङ्ग क्षेत्रले आर्थिक गतिविधि बढाउँदा सरकारले राजस्व संकलन गरी पूर्वाधार निर्माणमा खर्च गर्न सक्छ ।
बैकिङ्ग क्षेत्रले सुखका ६ वटा आधारमध्ये पहिलो परिष्कृत तथा मर्यादित जीवन र तेस्रो स्वस्थ र सन्तुलित पर्यावरण हासिल गर्न सहयोग पुराउन सक्छ । आर्थिक गतिविधिहरु बढाई आम्दानी बढन पुग्दा मानिसहरुको जीवन परिष्कृत र मर्यादित बन्न सक्छ । आय बढ्दा नै मानिसको जीवन मर्यादित र समानित हुन पुग्छ । अझ देश धनी बन्न सके विश्वमा नै त्यसको इज्जत बढ्ने गरेको पाइन्छ । त्यस्तै, सुखको तेस्रो आधार हासिल गर्न पनि बैकिङ्ग क्षेत्रले भूमिका खेल्न सक्छ । बैकिङ्ग क्षेत्रले कर्जा लगानी गर्दा वातावरण नविगार्ने र बचाउन सहयोग पुराउने परियोजना तथा व्यवसायलाई प्राथमिकता राख्न सक्छ । बैकिङ्ग क्षेत्रले ऋण नदिए वातावरण प्रदुषण गराउने उद्योगधन्धा तथा व्यवसाय सञ्चालनमा नआउन सक्छन् । बैकिङ्ग क्षेत्रले कर्जा लगानी गर्दा वातावरणीय पक्षलाई हेर्नुपर्ने गरी नियामकीय व्यवस्थाहरु समेत भएका छन् ।
सम्वृद्धिका लागि बैकिङ्ग क्षेत्रले सशक्त भूमिका खेल्न सक्ने भए पनि समग्रमा हेर्दा नेपालमा जुन ढंगले बैकिङ्ग क्षेत्रको विकास र विस्तार भएको छ सो अनुरुप आर्थिक वृद्धि दर भने बढ्न सकेको छैन । आर्थिक वृद्धिदर कम हुँदा अपेक्षा गरेअनुसार आर्थिक सम्वृद्धि हासिल हुन सकेको छैन । पछिल्लो १० वर्षलाई हेर्दा मात्र पनि औसत मुद्रास्फीति समायोजित निजी क्षेत्रतर्फ प्रवाहित औसत कर्जा वृद्धिदर १०.६ प्रतिशत हुँदा आर्थिक वृद्धिदर ४.२ प्रतिशतमात्र रहेको छ । यसले नेपालमा बैकिङ्ग क्षेत्रको कर्जा वृद्धि उत्पादन र उत्पादकत्व बढाउनतर्फ त्यति केन्द्रित हुन सकेको छैन । अझै पनि एकातर्फ कर्जाको ठूलो हिस्सा सीमित ऋणीहरुमा केन्द्रित छ भने प्रवाहित कर्जा धेरै उपभोग र आयाततर्फ प्रवाहित छ । कर्जा प्रवाहले उत्पादन बढाउने भन्दा घरजग्गा जस्ता सम्पत्तिका मूल्य बढाउन सहयोग पुराएको छ । घरजग्गाका मूल्य उच्च दरले बढेकोले सामान्य आम्दानी हुनेले शहरी क्षेत्रमा आधारभूत वासस्थानको लागि पनि घरजग्गाको व्यवस्था गर्न गाह्रो स्थिति रहेको
छ ।
कर्जा प्रवाहअनुरुप आर्थिक वृद्धिदर बढ्न नसक्नुमा थुप्रै कारणहरु रहेका छन् । पहिलो त सो अनुरुप कर्जा प्रवाह भएको छैन, दोस्रो सो अनुरुप कर्जा प्रवाहको लागि आवश्यक वातावरण रहेको छैन । बढ्दो उपभोगमुखी संस्कृति, उच्च लागत अर्थतन्त्र, भूपरिवेष्ठिता, छिमेकी देशहरुसँग कृषि र औद्योगिक उत्पादनमा प्रतिस्पर्धा गर्न कठिनाई आदिले गर्दा कर्जाको वृद्धि दर र आर्थिक वृद्धिबीच तादम्यता मिल्न सकेको छैन । कर्जा प्रवाहको दर अनुरुप उत्पादन, उत्पादकत्व र रोजगारी बढ्न नसक्दा धेरै युवाहरु वैदेशिक रोजगारीमा गएका छन् ।
कर्जा प्रवाहअनुरुप आर्थिक वृद्धिदर बढ्न नसक्नुमा थुप्रै कारणहरु रहेका छन् । पहिलो त सो अनुरुप कर्जा प्रवाह भएको छैन, दोस्रो सो अनुरुप कर्जा प्रवाहको लागि आवश्यक वातावरण रहेको छैन । बढ्दो उपभोगमुखी संस्कृति, उच्च लागत अर्थतन्त्र, भूपरिवेष्ठिता, छिमेकी देशहरुसँग कृषि र औद्योगिक उत्पादनमा प्रतिस्पर्धा गर्न कठिनाई आदिले गर्दा कर्जाको वृद्धि दर र आर्थिक वृद्धिबीच तादम्यता मिल्न सकेको छैन । कर्जा प्रवाहको दर अनुरुप उत्पादन, उत्पादकत्व र रोजगारी बढ्न नसक्दा धेरै युवाहरु वैदेशिक रोजगारीमा गएका छन् । सशस्त्र द्वन्द्धको समयमा बाध्यताले शुरु भएको वैदेशिक रोजगारी अहिले कतिपय अवस्थामा संस्कृतिको रुप धारण गरेको छ । वैदेशिक रोजगारीका थुप्रै सकारात्मक पक्ष भए पनि समाजमा उच्च बसाईसराई, पारिवारिक विछोड, काम कम गर्ने र उपभोग गर्ने सँस्कृति बढाउने सवालमा वैदेशिक रोजगारीले भूमिका खेलेको छ । वैदेशिक रोजगारीले उपभोग गर्ने क्षमता बढाएर घरपरिवारमा केही हदसम्म सुख त ल्याएको छ । तर, पारिवारिक विखण्डन, विछोड, बेमेल, असमझदारी बढाउन सहयोग पुराएको छ जसले केही दुःख पनि सिर्जना गरेको छ ।
कर्जाको सही प्रयोगले आर्थिक वृद्धिसँगै सम्वृद्धि ल्याउन सहयोग पुर्याउन सक्छ । तर, कर्जाको दुरुपयोग वा कर्जा व्यवस्थापन सही ढंगले नभएमा भने कर्जा भुक्तानी समयमा गर्न नसकेर कालो सूची पर्न सकिने र घरपरिवार व्यवस्थापन कठिन भै सुखको अभिलाषामा दुःख निम्तिने पनि देखिएको छ । कर्जा लिएर सही ढंगले प्रयोग गर्न सक्दा कर्जा भुक्तानीको बोझ सम्हालन नसकेका थुप्रै उदाहरण समाजमा पाउन सकिन्छ ।
बैकिङ्ग क्षेत्रले पुँजी निर्माणमा सहयोग पुर्उँदै आर्थिक सम्वृद्धिलाई सहयोग पुराउँदै गर्दा बैकिङ्ग क्षेत्र आफै पनि सबल र सक्षम हुनुपर्ने हुन्छ । बैकिङ्ग संस्था न्यूनतमको नाफा कमाई आफै पनि सबल हुन सक्नु पर्छ । बैकिङ्ग क्षेत्रमा सबल र सक्षम लगानीकर्ता आकर्षित भै जोखिम व्यवस्थापन गर्ने क्षमता राख्नुपर्दछ । पछिल्लो समय बैकिङ्ग क्षेत्रको नाफा कम भैरहेको, निष्कृय कर्जा अनुपात र गैरबैकिङ्ग सम्पति बढि रहेको अवस्था छ । बैकिङ्ग क्षेत्र अस्थिर हुन गएमा भने आर्थिक सम्वृद्धि र सुख दुवै नकारात्मक रुपमा प्रभावित हुने हुन्छ ।
निष्कर्ष
१५ औं योजनादेखि नेपालले दीर्घकालीन सोचको रुपमा सम्वृद्ध नेपाल र सुखी नेपालीलाई अंगिकार गरेको छ । उक्त सोच हासिल गर्न अर्थतन्त्रमा सबै क्षेत्रहरुले आफ्नो ठाँउबाट लाग्नु पर्ने आवश्यकता छ । यस सन्दभर्मा नेपाली अर्थतन्त्रमा सबैभन्दा बढी विकसित र क्षमतावान क्षेत्रको रुपमा बैकिङ्ग क्षेत्र रहेको छ । यसले गर्ने कार्यले अर्थतन्त्रमा सम्वृद्धि हासिल गर्न सहयोग पुराउन सक्छ र पुराउनु पर्दछ । हालसम्म बैकिङ्ग क्षेत्रले आफ्नो कार्यहरुलाई विस्तार र विकसित गर्दै नेपाली अर्थतन्त्रलाई आधुनिक बनाउन सहयोग पुर्याउँदै आए पनि यो क्षेत्र विस्तार भएझै समग्र अर्थतन्त्र विकास र विस्तार हुन सकेको छैन । वास्तविक अर्थतन्त्रको विकास र विस्तार नभएसम्म बैकिङ्ग क्षेत्र दिगो बन्न सक्दैन । हुनत् सम्वृद्ध नेपाल र सुखी नेपालीको सोच हासिल गर्न बैकिङ्ग क्षेत्र मात्रैले गर्न सक्दैन ।
अन्य क्षेत्रहरुको पनि भूमिका आवश्यक पर्छ । लगानीयोग्य वातावरण, असल शासन, शान्ति सुरक्षा, क्षमतावान जनशक्ति, भौतिक पूर्वाधारको उपलब्धता पनि आवश्यक पर्छ । तापनि, बैकिङ्ग क्षेत्रको विस्तार र क्षमता भए बमोजिम अझ बढी यसको भूमिका बढाउनु आवश्यक छ । यसको भूमिका बढाउन हालसम्मको भूमिका र योगदानको मूल्याकँन र आत्मसमीक्षा गर्दै अझ नयाँ ढंग र रणनीति अनुरुप आर्थिक सम्वृद्धि बढाउन बैकिङ्ग क्षेत्रले सहयोग पुराउनु पर्दछ । उद्यमशीलता विकास गर्दै, व्यवसायी एवम् ग्राहकमैत्री ढंगले बैकिङ्ग सेवा दिएर आन्तरिक अर्थतन्त्रमा उत्पादन र उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने गरीे बैकिङ्ग क्षेत्र लाग्नु पर्ने आवश्यकता रहेको छ ।
अर्थतन्त्रको वर्तमान अवस्था र बदलिदो परिवेशमा परम्परागत शैलीको बचत परिचालन र कर्जा प्रवाहका साथै भुक्तानी प्रणाली सञ्चालन गर्न मात्र बैकिङ्ग क्षेत्र सीमित हुनु हुँदैन । अर्थतन्त्रका लाभदायक क्षेत्रको पहिचानसँगै व्यवसाय प्रवद्र्धनमा पनि योगदान गर्ने, बढ्दो जोखिमको कुशलतापूर्वक व्यवस्थापन गर्ने, कार्यकुशलता बढाई निक्षेप र कर्जाको ब्याजदर घटाउँदै जाने गरी रणनीतिक ढंगले बैकिङ्ग क्षेत्र लाग्नु पर्ने देखिन्छ । बैकिङ्ग क्षेत्र बढ्दो विस्तारसँगै बढ्दै गएको जोखिम निवारणको लागि केन्द्रीय बैक लगायत सम्पूर्ण बैकिङ्ग क्षेत्रले ध्यान दिनु पर्ने हुन्छ । अन्यथा वित्तीय अस्थिरता सिर्जना भर्ई सम्वृद्धि र सुख दुबै प्रभावित हुने हुन्छ । आर्थिक सम्वृद्धिमा बैकिङ्ग क्षेत्रको भूमिकालाई मध्यनजर राख्दै सरकारले करमा सहुलियत दिनुको अतिरिक्त न्यूनतम नाफा कमाउने वातावरण सिर्जना गरी यो क्षेत्रको स्थिरता कायम गर्नुपर्दछ ।
हुनत आर्थिक सम्वृद्धिले सुख अनुभूति गर्ने आधार दिन्छ । तर, कति आम्दानी र भौतिक सुविधापछि मानिस पूर्ण सन्तुष्ट भइ सुखानुभूति गर्छ भनेर भन्न कठिन हुन्छ । एक पछि अर्को भौतिक आंकाक्षाहरु सिर्जना हुन्छ । यस्तो अवस्थामा वास्तवमा हाम्रो पूर्वीय दर्शनले भने झै ‘सन्तोषम् परम सुखम्’लाई आधार बनायो भने मात्र पूर्ण सुखानुभूति हुन सक्छ । यसो भन्दै गर्दा पनि न्यूनतम तहको भौतिक आवश्यकता पुरा हुने गरी आर्थिक सम्वृद्धि हुनु जरुरी छ ।