
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले सहायक कम्पनीमार्फत बनाउन लागेको १ सय ३५ मेगावाटको मनाङ–मस्र्याङ्दी क्यास्केड जलविद्युत आयोजनालाई लगानी जुटेको छ । चीनको निर्यात–आयात (एक्जिम) बैंकले ऋण आयोजनामा लगानी सम्झौता गरेको छ ।
एक्जिम बैंक, बिपिसी र चिनियाँ कम्पनीबीच ऋण लगानी सम्झौता भएको छ । आयोजना मनाङ–मस्र्याङ्दी हाइड्रोपावरले निर्माण गर्न लागेको छ ।
आयोजना बनाउन कूल ३३ अर्ब ३७ करोड रुपैयाँ (३२ करोड ३० लाख डलर) लागत अनुमान गरिएको छ । अहिलेसम्म जलविद्युतमा आउन लागेको ठूलो चिनियाँ लगानी हो ।
आयोजना आउँदो सन् २०२८ मा सञ्चालनमा ल्याउन योजना रहेको बिपिसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उत्तरकुमार श्रेष्ठले बताए ।
२०७९ पुस ३ मा जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालय र निर्माण कम्पनीबीच आयोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भइसकेको छ । यस्तै नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ ।
सुक्खायामको ६ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बखायामको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पिपिए भएको छ । वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउनेछ ।
आयोजना आफ्नो तर्फबाट स्वपुँजी (इक्विटी) लगानी गर्न प्रिमियम मूल्यमा १ करोड कित्ता थप (एफपिओ) निष्कासन गर्ने भएको छ ।
इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (इपिसी) खाकामा बन्नेछ । प्रस्तावित आयोजनाबाट ७६ करोड ६५ लाख ९३ हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।
आयोजनामा चिनियाँ कम्पनीको ८० र बाँकी २० प्रतिशत बिपिसीको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।
जलविद्युतमा लगानी गर्न बिपिसी र ३ वटा चिनियाँ कम्पनीले एससीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि स्थापना गरेका छन् ।
बिपिसीका अतिरिक्त एससीआइजी इन्टरनेसनल, जीचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी, क्युआइइसी इन्टरनेसनल कम्पनी लिमिटेड हङकङको लगानी रहनेछ । आयोजनाको हेड ४ सय ३० मिटर र सुरुङको लम्बाइ ६ किलोमिटर रहनेछ ।
चिनियाँ कम्पनीको साझेदारीमा बिपिसीले मस्र्याङ्दी बेसिनमै ३ सय २७ मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ र १ सय ३९ मेगावाटको तल्लो मनाङ–मस्र्याङ्दी आयोजना निर्माणको तयारी गरेको छ ।
तीन आयोजनाको क्षमता ६ सय १ मेगावाट छ । तीनवटै आयोजना शृंखला (क्यासकेड) खाकामा निर्माण हुने भएको छ ।
आयोजना मनाङको नासो र चामे गाउँपालिकामा निर्माण हुने भएको छ। आयोजनाबाट उत्पादित बिजुली मनाङको धारापानीस्थित प्राधिकरणको २ सय २० केभी धारापानी सबस्टेसनमा जोड्ने गरी प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भएको छ ।
बिपिसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन २०१८ मा लगानी चिनियाँसँग सम्झौता गरेको हो ।
होल्डिङ कम्पनीमार्फत आउँदो केही वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ । बिपिसीले ३० मेगावाटको न्यादी आयोजना निर्माण गरिसकेको छ । बिपिसीले साढे ३७ मेगावाटको काबेली–ए आयोजना निर्माण गरिरहेको छ ।
१ अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा बीपीसीका २० प्रतिशत र बाँकी चिनियाँको छ । जसअनुसार सिचुवान इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको ५१, चेन्दु सिच्याङ इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको १७ र क्विङयाङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडको १२ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend