२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

निक्षेपको ब्याज घटेपछि सञ्चय कोष समस्यामा, सञ्चयकर्तालाई न्यूनतम सुविधा दिन नसक्ने अवस्था

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । अहिले बैंकिङ प्रणालीमा अधिक तरलता छ । तरलता बढेको छ तर बैंकहरुले कर्जा बढाउन सकेका छैनन् । हप्तैपिच्छे नेपाल राष्ट्र बैंकले निक्षेप उपकरणमार्फत अर्बौं रुपैयाँ तरलता खिचिरहेको छ । यो समस्याबाट अबकास कोष सञ्चालन गरिरहेको कर्मचारी सञ्चय कोष पनि प्रभावित भएको छ ।

बैंकहरुले दिने मुद्धति निक्षेपको ब्याजदर घटेर तल्लो स्तरमा आएपछि अहिले सञ्चय कोषलाई समस्या परेको हो ।

घट्दो ब्याजदरले गर्दा कोषले सञ्चयकर्तालाई प्रतिफल र प्रत्याभूति गरेको सुविधा पनि दिन नसक्ने अवस्थामा पुगेको प्रशासक जितेन्द्र धितालले बताएका छन् । उनका अनुसार कोषले विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्धतिमा १ खर्ब ७० अर्ब रुपैयाँ राखेको छ । यो कूल पुँजीको ३५ प्रतिशत हो ।

मुद्धति निक्षेपको ब्याजदर घटेर ३ देखि ४ प्रतिशतमा सिमित भएको छ । यता कोषले सञ्चयकर्तालाई साढे ५ प्रतिशत ब्याजदर र त्यसमा पनि १ प्रतिशत थपेर दिइरहेको उनले जानकारी दिए ।

ब्याजदर घट्दा मुद्धति निक्षेपबाट हुने आम्दानीमा भारी गिरावट आएको उनले सुनाए । यो अवस्था अब केही समय कायम रहे कोषले न्यूनतम सुविधा पनि दिन नसक्ने उनको भनाई छ । अहिले नै कोषलाई ‘सर्भाइभ’ गर्न गाह्रो परेको उनले बताए ।

यस्तै पछिल्लो समय कर्जाको माग नभएपछि बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । लगानी गर्ने ठाउँ नभएपछि अहिले कोषले सरकारको ट्रेजरी बिल्समा लगानी गरिरहेको छ ।

‘अबकास कोषले आफ्नो लगानी ट्रेजरीमा गर्नु राम्रो हैन् । ठूलो पूर्वाधार र पुँजी निर्माणको परियोजनामा लगानी गर्नुपर्ने हो । कोषले बैंकसँग प्रतिस्पर्धा गरेर ट्रेजरीमा पैसा हालेको अवस्था छ । ब्याजदरको अवस्था यही रहेमा हामीले प्रत्याभुति गरेका सामाजिक सुरक्षा सुविधा दिन असफल हुने छौं’ उनले सुनौलो नेपालसँग भने ।

पछिल्लो समय राम्रो प्रतिफल पाउँदै आएको सेयर बजारमा समस्या आइरहेको छ । नेपाल राष्ट्र बैंकले धेरै आक्रमक भएर सेयर बजारमा लगानी नगर्न भनेको उनले सुनाए । बैंक तथा वित्तीय संस्थाको बाहेक सेयरमा लगानी गर्न पाउँदैन् । संस्थापक सेयर किनेर लाभांश लिँदै आएको छ ।

प्रोजेक्ट फाइनान्सिङ हुन सकेको छैन् । कोषको पैसा जति सबै मुद्धति निक्षेपमा थुप्रिएको छ । घरजग्गा कारोबार कम भएपछि सञ्चयकर्ताले पनि अहिले ऋण लिन छाडेको उनले सुनाए ।

‘पैसा फालफाल छ, बैंकले लिन मानेका छैनन् । सञ्चयकर्ताले पाउने सुविधामा असर पर्ने भएको छ । विगतका वर्षसम्म ठिक थियो । बजारमा ब्याजदर बढेको अवस्था थियो । त्यो बेला कोषले माथिल्लो लेभलमा ब्याजदर दिएका थियौं । पछिल्लो समय बजारमा पनि ब्याजदर घटेको छ’ उनले भने ।

नेपाल वायुसेवा निगमलाई जहाज किन्न दिएको ऋण उठाउन सकेको छैन् । यस्तै माथिल्लो तामाकोसी आयोजना बन्दा किस्ता पाएको छैन भने चिलिमे जलविद्युत कम्पनीबाट निर्माण भइरहेका आयोजना भर्खरै सम्पन्न भएकाले लगानी फिर्ता पाउन अझै केही समय कुर्नुपर्ने देखिएको छ ।

यो अवधिसम्मको कूल स्रोत ५ खर्ब १४ अर्ब ३० करोड रुपैयाँ रहेको छ । कोषले ५ खर्ब ८ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेको छ ।

राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा अहिले ७ खर्ब रुपैयाँ अधिक तरलता रहेको छ । ६६ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप परिचालन हुँदा ५२ खर्ब ९० अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । बैंकमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले विभिन्न वित्तीय उपकरण परिचालन गरेर पैसा तानिरहेको छ । बैंकको सिडी रेसियो औसत ७८.४३ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट