काठमाडौं । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ । सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु स्वभाविक रहेको बताउछन् । “बजार भाउ घटेपछि त्यसको प्रभाव स्वभाविक रुपमा मागमा देखिन्छ । सस्तो भएपछि मान्छेले किन्न खोज्छन्”, उनले भने । सोमबार बजारमा सुनचाँदीको राम्रो कारोबार भएको छ ।
पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सय रुपैयाँ घटेको छ । आइतबार प्रतितोला १ लाख ६७ हजार दुई सयमा कारोबार भएकोमा सोमबार घटेर १ लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज सुन प्रतितोला २ हजार छ सय रुपैयाँ घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सरकारले सुनमा २० प्रतिशत भन्सार लगाउँदै आएकामा १० प्रतिशत विन्दु अर्थात् आधार घटाएर १० प्रतिशत कायम गरेको छ । उच्च भन्सार दरका कारण नेपाली बजारमा सुनको मूल्य उच्च रहेको र छिमेकी भारतमा सस्तो सुन पाइने भएपछि त्यहाँबाट अवैध आयात बढेको आशंकाबीच सरकारले भन्सार दर घटाएको हो ।
हिजो र आज दुई दिन काठमाडौँको न्युरोड क्षेत्रका सुनचाँदी पसलहरुमा ग्राहकको भीड बढेसँगै कारोबार पनि बढेको व्यवसायीको भनाइ छ । महासंघका निर्देशक राजेन्द्र तुलाधर सुनचाँदी पसलमा भीड देखिएको भए पनि कति कारोबार भयो भन्ने विवरण उपलब्ध नरहेको बताउछन् । “हरेक पसलमा ग्राहकको भीड देखिए भन्ने जानकारी आएको छ । तर कारोबारको यकिन तथ्यांक उपलब्ध छैन । महासंघले कारोबारको तथ्यांकसमेत मागेको थियो । तर व्यापारीले दिँदैनन्”, उनले भने ।
सुन आयातको अधिकार वाणिज्य बैंकहरुले पाएका छन् । तर बजारमा माग नहुँदा यसअघि बैंकहरुले सुन आयात नगरेको महासंघका पूर्व अध्यक्ष शाक्य बताउछन् । “बैंकहरुले आयात गरेका छैनन्। भन्सार घटेपछिको दरमा आयात गरेर सुन बजारमा पुग्न एक हप्ता समय लाग्छ”, उनले भने । नेपालमा सुन आपूर्ति आयात तथा बिक्री वितरणसम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंकले मिलाउँदै आएको छ । सुनको बजार मूल्य निर्धारण भने महासङ्घमा रहेको मूल्य निर्धारण समितिले गर्ने गरेको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रअनुसार सुन आयातसम्बन्धी हालको व्यवस्था हेर्दा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन उपलब्ध गराउन राष्ट्र बैंकले बैंकमा स्वर्णकोषको व्यवस्था गरेको छ । उक्त कोषमा रहेको सुनको मौज्दातबाट सम्बन्धित बैंकहरूले निर्यातकर्ता तथा विदेशी मुद्रा स्वीकार गर्ने इजाजत प्राप्त स्थानीय बिक्रेतालाई सुन बिक्री गर्ने गर्छन् । राष्ट्र बैंकले सुनको बिक्री मूल्य अमेरिकी डलरमा निर्धारण गर्ने गर्छ ।
जसकारण अमेरिकी डलरको मूल्य तलमाथि हुँदा त्यसको असर सुनको नेपाली मूल्यमा देखिने गरेको छ । राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एक प्रतिशतभन्दा बढी घटबढ भएमा सोअनुसार समायोजन गरी कायम गरिएको सुनको संशोधित बिक्री मूल्यको जानकारी राष्ट्र बैंकले बैंकलाई गराउँदछ । बैंकहरूले राष्ट्र बैंकले निर्धारण गरेको मूल्यको आधारमा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन बिक्री गर्दछन् ।
बैंकहरूले यसरी स्वर्णकोषबाट बिक्री गरेको सुनको भुक्तानी अमेरिकी डलरमा राष्ट्र बैंकलाई गर्छन् । निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई स्वर्णकोषबाट सुन बिक्री गरेबापत सेवा शुल्कस्वरुप बिक्री गरेको सुनको मूल्यको शून्य दशमलव २५ प्रतिशत रकम नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकलाई उपलब्ध गराउँछ । बैंकहरूले निर्यातकर्तालाई सुनका गर–गहना निर्यात गर्न प्राप्त अग्रिम भुक्तानी प्रमाणपत्रको आधारमा सुन उपलब्ध गराउँछन् ।
बैंकहरूले निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई न्यूनतम एक सय ग्राम र बढीमा १० ग्रामको गुणन खण्डले हुन आउने परिमाणमा सुन बिक्री गर्नुपर्ने व्यवस्था छ । वाणिज्य बैंकहरुले दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न पाउने व्यवस्था छ ।
भन्सार विभागका अनुसार पछिल्लो पाँच वर्षमा मात्र १६ हजार नौ सय ४७ किलोग्राम सुन आयात भएको छ । चालु आर्थिक वर्षको चार महिनामा मात्र एक अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको एक सय ३३ किलोग्राम सुन आयात भएको छ । जसबाट राज्यले २८ करोड ५५ लाख रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार बराबरका दुई हजार छ सय ५२ किलोग्राम सुन आयात भएको थियो । जसबाट सरकारले तीन अर्ब ६४ करोड ८३ लाख रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार रुपैयाँ बराबरको दुई हजार नौ सय १७ किलोग्राम सुन आयात भएको देखिन्छ । जसबाट राज्यले दुई अर्ब ५३ करोड ८३ लाख ५८ हजार बराबर राजस्व प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७८/८९ मा ३५ अर्ब ६१ करोड ९६ लाख बराबरको पाँच हजार ५३ किलोग्राम सुन आयात भएको थियो ।
सो वर्ष सुन आयातबाट सरकारले चार अर्ब २९ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७७र७८ मा तीन हजार नौ सय २५ किलोग्राम सुन आयात भएको थियो । सो आर्थिक वर्ष २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार बराबरको सुन आयात हुँदा सरकारले तीन अर्ब ३३ करोड ५८ लाख रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा १३ अर्ब ४६ करोड पाँच लाख बराबरको दुई हजार चार सय किलोग्राम सुन आयात भएको थियो भने त्यसबाट एक अर्ब ५० करोड ७५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।