काठमाडौं । बुटवल-नारायणगढ सडक खण्ड र नागढुंगा सुरुङमार्गको शिलान्यास गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब सुरुङमार्ग (टनेल) को नयाँ युगमा प्रवेश गर्न लागेको बताएका थिए । त्यसबेला उनले २०८० देखि मुलुक सुरुङ युगमा प्रवेश गर्ने जानकारी दिएका थिए ।
प्रधानमन्त्री ओलीले भने झै मुलुक सुरुङमार्ग युगमा प्रवेश गरेको तथ्यांकले देखाएको छ । सडक सुरुङ धेरै कम बने पनि जलविद्युत आयोजना बनाउन खनिएको सुरुङले प्रधानमन्त्री ओलीले भने जस्तै मुलुक त्यही युगमा गएको झल्को दिएको छ ।
अहिलेसम्म जलविद्युत, खानेपानी, सिँचाइ र सडक पूर्वाधार गरी कूल ४ सय १६ किलोमिटर लामो सुरुङ खनिएको नेपाल टनेलिङ एसोसियसनले जनाएको छ । एसोसियसनका अनुसार ३ सय १३ किलोमिटर सुरुङ निर्माणाधीन अवस्थामा रहेको छ । यस्तै ६ सय २० किलोमिटर थप सुरुङ बनाउन सरकारले तयारी गरेको छ ।
अहिलेसम्म सबैभन्दा बढी सुरुङ जलविद्युत आयोजनमा निर्माण भएको छ । जलविद्युतमा मात्रै ३ सय ५० किलोमिटर लामो सुरुङ सम्पन्न भइसकेको छ । बिजुली उत्पादनका लागि पानी प्रवाह गर्न आयोजनाले सुरुङ बनाएको हो ।
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, कुलेखानी, कालिगण्डकी, मध्यमस्र्याङदी र मस्र्याङदीका साथै निजी लगानीमा बनेका अधिकाँश जलविद्युत आयोजनाले बिजुली उत्पादन गर्न सुरुङ बनाएका छन् । अधिकांश आयोजनाको विद्युतगृह भूमिगत छन् ।
खानेपानी आपूर्तिका लागि अहिलेसम्म २७ किलोमिटर लामो सुरुङ बनेको छ । मेलम्चीबाट राजधानी काठमाडौंमा पानी ल्याउन बनाइएको सुरुङ हो यो । सुरुङबाट दैनिक १७ करोड लिटर पानी राजधानीको सुन्दरीजलमा आपूर्ति हुने गरेको छ । २०७४ को चैतमा मेलम्चीको सुरुङ छिचोलिएको थियो । यो सुरुङ खन्न भण्डै एक दशक समय लागेको थियो ।
यस्तै सिँचाइ परियोजना बनाउने क्रममा अहिलेसम्म २५ किलोमिटर लामो सुरुङ निर्माण भइसकेको छ । भेरी बबइ डाइभर्सनको १२ र सुनकोसी मरिण डाइसर्नको १३ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएको छ । यि दुई आयोजनाबाट सिँचाइका अतिरित्त बिजुली उत्पादन हुनेछ । आयोजनाको बाँधका साथै सिँचाइ र विद्युत उत्पादनको पूर्वाधार निर्माण सुरु भइसकेको छ । जलविद्युत आयोजनाले साढे ३ सय किलोमिटर सुरुङ बनाउँदा सडकमा अहिलेसम्म जम्मा ११ किलोमिटर मात्र सुरुङ बनेको छ ।
ढलका लागि पनि सुरुङ बनेको छ । काठमाडौंमा तिलगंगा-गुहेश्वरी खण्डमा ढलका लागि सुरुङ खनिएको छ । यसको लम्बाइ ५ सय २२ मिटर छ । यो भूमिगत ढलमार्ग अहिले पनि सञ्चालनमा छ ।
सुरुङ खन्न नयाँ प्रविधि
नेपालमा सुरुङ खन्न नयाँ प्रविधिको प्रयोग भएको छ । नेपालमा पहिलोपटक आधुनिक प्रविधि अर्थात टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिको प्रयोगबाट खनिएको भेरी-बबई डाइभर्सन सुरुङ हो । टिबिएमको प्रयोगबाट निर्धारित समय अगावै सुरुङ खन्ने काम सकिएको थियो । यो सुरुङबाट गएको पानीबाट ४५ मेगावाट बिजुली पनि निकालिने भएको छ ।
यस्तै नयाँ प्रविधिको प्रयोग भएका अर्को आयोजना हो, सुनकोसी मरिण डाइभर्सन । टिबिएम मेशिनको प्रयोगबाट निर्धारित समय भन्दा अगावै सुरुङ खन्ने काम सकिएको छ ।
३ सय १३ किलोमिटर सुरुङ बन्दै
अहिले मुलुकभरी ३ सय १३ किलोमिटर लामो सुरुङ निर्माण भइरहेको एसोसियसनले जनाएको छ । जसमध्ये सबैभन्दा बढी जलविद्युत आयोजनाको ३ सय, सडक १० र सिँचाइको ३ किलोमिटर सुरुङ निर्माणधीन रहेको छ । १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनालगायत ठूला जलविद्युत आयोजनामा सुरुङ निर्माण भइरहेको छ । सडकअन्र्तगत काठमाडौंदेखि निजगढ जोड्न फास्ट ट्रयाक, पाल्पाको सिद्धबाबा र नागढुंगा सुरुङ मार्ग निर्माणधीन छ । नागढुंगा सुरुङको काम अन्तिम चरणमा पुगेको छ ।
योजनामा ६ सय २० किलोमिटर सुरुङ
एसोसियसनले ६ सय २० किलोमिटर लामो सुरुङ निर्माणको तयारीमा रहेको जनाएको छ । निर्माणको तयारीमा जलविद्युत आयोजनाले २ सय ७२ किलोमिटर लामो सुरुङ खन्ने भएका छन् । खानेपानी आयोजनामा १५, सिँचाइमा ७०, सडकमा १ सय, रेल्वेमा १ सय ५०, खानीमा २० र मेट्रो टनेल ४० किलोमिटर लामो बनाउने योजना सरकारको छ । धेरै सडक आयोजना निर्माण भइरहेकाले सुरुङको लम्बाइ बढ्ने छ ।
पूर्वपश्चिम विद्युतीय रेल निर्माण भइरहेको छ । यस्तै भारतको ३ खर्ब ६५ अर्ब रुपैयाँ सहयोगमा वीरगञ्ज-काठमाडौं रेल परियोजना सुरु गर्ने लक्ष्य छ । यो रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।
यसपछि बागलुङस्थित भिरकोटको सुरुङ मार्ग पनि निर्माणका लागि तयारी भइरहेको छ । निर्माणाधीन काठमाडौँ तराई दुर्त मार्गमा चार स्थानमा गरी झन्डै ६ किलोमिटर सुरुङमार्ग निर्माण हुँदैछ ।
त्यसैगरी, बिपी कोइराला राजमार्गको खुर्कोट-चियाबारी सुरुङमार्ग पनि बन्ने तयारीमा छ । दुई सय मिटरसम्मका सुरुङ मार्ग सहजै सञ्चालन गर्न सकिने भए पनि त्यसभन्दा लामा सुरुङ मार्ग भने सुरक्षा, अक्सिजन र वातानुकूलन जस्ता धेरै विषय वस्तुको प्रबन्ध मिलाउनुपर्ने भएकाले खर्चिलो गरेको छ ।
८५ प्रतिशत पहाडी भूभाग भएको र नदीनालाका कारण कहीँबाट कतै जान उकाली ओराली गर्नुपर्ने र अनगिन्ती घुम्तीबाट गुज्रनुपर्ने बाध्यतालाई सुरुङमार्गले कम गर्न सक्ने विज्ञहरुको भनाई छ ।
यस्तो छ सुरुङको इतिहास
नेपालको पहिलो सुरूङमार्ग राणा प्रधानमन्त्री चन्द्रशम्शेरका पालामा हेटौंडा-पथलैया सडक खण्डको चुरियामाईमा खनिएको थियो । यो सुरुङमार्ग सन् १९१७ मा खनिएको हो । यो सुरुङमार्ग २ सय ३९ मिटर लामो छ ।
चुरिया सुरुङको उचाई ५ मिटर छ भने चौंडाई ५ मिटर छ । यो सुरुङमार्ग भएर लामो समयसम्म मकवानपुरको भीमफेदीसम्म गाडी आवात-जावत हुन्थे । बागमती प्रदेश सरकारले यो सुरुङमार्गको पुनर्निर्माण गरिरहेको छ ।
यस्तै विभिन्न जलविद्युत आयोजनाहरुमा सुरुङहरु बनाउने काम चलिरहेको छ । अब मेलम्चीमा यांग्री र लार्के खोलको पानी मिसाउने भएपछि करिब ११ किलोमिटरको खानेपानी सुरुङ बन्ने भएको छ । प्रस्तावित मेट्रो तथा अन्तरदेशीय रेलमार्गहरु बनेमा सुरुङको प्रयोग नेपालमा बढ्नेछ ।