चितवन । भरतपुर महानगरपालिकाको आयोजनामा शुक्रबार आर्थिक वर्ष ०८१/८२ को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रेनु दाहालले निर्माणधीन राष्ट्रिय गौरवको आयोजनालाई यो कार्यकालमा पूर्णता दिने दाबी गरिन् ।
भरतपुरमा निर्माणधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तीब्र रुपमा अघि बढेको बताइन् । रंगशालाको काम अहिले १२ प्रतिशत पुरा भइसकेको छ ।
भ्रष्टाचार विरुदको अभियान चितवनको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरुले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए ।
सहभागीहरुले ६ लेन सडकमा ट्राफिक लाईट राख्नुपर्ने, फोहर व्यवस्थापन, घरबाहल कर, ड्रेनको निर्माण, भरतपुरका सडकको मापदण्ड, विमानस्थलको विस्तारलगायतका प्रश्न सोधेका थिए । सहभागीहरुले गुनासो तथा सुझावहरुको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी लगायतले जवाफ दिएका थिए ।
भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुरमा मुख्य चोकमा ५ वटा ट्राफिक लाईट राख्ने कार्यलाई अगाडि बढाइएको बताइन् । यस्तै उनले संघीय खानेपानी तथा सरसफाई योजनाबाट हुन लागेको ३ अर्बको योजनाको डिपिआर बन्ने अन्तिम चरणमा रहेको उल्लेख गरिन् । भरतपुरलाई सौन्दर्यकरण गर्न मापदण्ड विपरितका संरचना भत्काउने कार्य निरन्तर रुपमा अघि बढिरहने उनको भनाई थियो ।
महानगरपालिकाको आन्तरिक आय कम हुँदा हुँदै पनि सक्रिय पहल र समवन्यमा ठुला ठुला विकास निर्माणका कार्यहरु अगाडि बढाउन सकिएको उल्लेख गरिन् ।
उनले ६ लेन सडक निर्माण भए पश्चात सर्भिस लेनमा पाकिङ हुने समस्या हटेर जाने विश्वास व्यक्त गरिन् । यसका लागि कार्यदल बनाएर काम भइरहेको जानकारी दिइन् ।
मेयर दाहालले कुनै पनि कुरामा गुनासो नआउने गसरी काम अगाडि बढाउन सम्बन्धीत महाशाखा, शाखाका कर्मचारीहरुलाई निर्देशन समेत दिइन् । उनले महानगरपालिकाको कामलाई छिटो छरिदो बनाउन नयाँ सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गर्न लागेको पनि प्रष्ट पारिन् ।
कार्यक्रममा कार्यक्रममा जिल्ला समवन्य समिति चितवनका प्रमुख नारायणप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, चितवन प्रहरी प्रमुख गौतम मिश्रको उपस्थिति रहेको थियो ।