काठमाडौँ । नेपालमा आजदेखि सुरु हुन लागेको क्रिकेटको महाकुभ्भ मेला नेपाल प्रिमियर लिग (एनपिएल) मा व्यवसायीक घरानाले करोडौँ रुपैयाँ लगानी गरेका छन् ।
नेपाली क्रिकेट खेल इतिहासमा कर्पोरेट हाउसहरुको सक्रिय सहभागिता रहेको फेन्चाइज लिगको अभ्यास नेपालमा नौलो होइन । यसअघि एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगजस्ता तीनवटा फ्रेन्चाइज लिग आयोजना भैसकेका छन् ।
तर, यसपालि परिदृष्य अलि फरक देखिएको छ । विभिन्न टिममा लगानी गर्न धेरै व्यापारिक घराना तथा अन्य निजी क्षेत्रले देखाएको उत्साह उल्लेखनीय छ ।यसले गर्दा आगामी वर्ष हुने एनपिएलमा कर्पोेरेट जगतको लगानी अझ बढ्ने देखिन्छ । एनपिएलले विश्वव्यापी पंहुच बढाउने भएको छ ।
एनपिएललाई मुख्य प्रायोजन सिद्धार्थ बैंकले गरेको छ । सिद्धार्थ बैंकले मात्रै ३० करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । नेपाली क्रिकेटको सबैभन्दा ठूलो ‘इभेन्ट’का लागि क्यानले सिद्धार्थ बैंकलाई प्रमुख प्रायोजकको रूपमा भित्र्याएको हो ।
क्यान र सिद्धार्थ बैंकबीच पाँच वर्षका लागि सम्झौता भएको छ । सम्झौताअनुरुप एनपिएलका लागि यस वर्ष उसले ३० करोड रुपैयाँ प्रायोजन गरेको छ । यो नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रायोजन सम्झौता हो ।
सिद्धार्थ बैंकको प्रायोजनपछि अरु नीजि क्षेत्रको पनि क्रिकेटतर्फ ध्यान गएको देखिएको छ । यस्तै मोबाइल सेवा प्रदायक एनसेल, नेपाल टेलिकमलगायत ठूला कम्पनीहरुले लगानी गरेका छन् ।
फ्रेन्चाइजीको बोलकबोलमा सहभागी १३ कम्पनी मध्ये ८ कम्पनीले करिब १७ करोड रुपैयाँमा स्वामित्व खरिदमा खर्चिएका थिए ।
जसमा पोखरा एभेन्जर्सका लागि सर्वाधिक ३ करोड ५७ लाख रुपैयाँ बिडिङ भएको थियो भने सबैभन्दा कम कर्णालीका लागि १ करोड ११ लाख ७० हजार रुपैयाँ थियो ।
विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स जस्ता आठ वटा टिममा व्यापारिक समूह जोडिएका छन् । विभिन्न टिम किन्नका लागि उद्योगपति तथा व्यापारीहरुले करोडौं रुपैंयाँ लगानी गरेका छन् ।
एनसेल एनपिएलको ‘पावर्ड बाइ’ मा जोडिएको छ । डिसहोमले युटयुबको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । फ्रेन्चाइजहरुले टिमको ‘एम्बास्डर’ बनाउन पनि राम्रै रकम खर्चिरहेका छन् ।
निजी क्षेत्रका तर्फबाट घोषणा गरिएको खेलाडीको पारिश्रमिक तथा बिजेताले पाउने पुरस्कारले पनि खेलाडीहरुलाई प्रोत्साहित गर्न सक्ने देखिएको छ । व्यवसायिक घराना शारडा समूहले प्रतियोगितामा प्लेयर अफ दि सिरिज घोषणा हुने नेपाली खेलाडीलाई कार पुरस्कार प्रदान गर्ने भएको छ ।
ग्रुपसँग क्यानको १ करोड २० लाख रुपैयाँ बराबरको सम्झौता भएको बुझिएको छ । यसरी अक्सन गरिदा एउटा टिमलाई १० खेलाडी खरिद गर्ने अवसर दिइएको थियो ।
समूह ए मा परेका खेलाडीलाई १० देखि १५ लाख, समूह बी मा परेकालाई पाँचदेखि १० लाख तथा समूह सी मा छानिएकालाई दुई लाखदेखि पाँच लाख रुपैयाँ दिइने भएको छ । नेपालको सन्दर्भमा यस्तो पारिश्रमिक आकर्षक मानिएको छ । क्रिकेट खेलाडीहरुले आफ्नै गृह मैदानमा खेलेर लाखौं रुपैयाँ पारिश्रमिक पाउनु राम्रो कमाइ हो ।
विदेशी खेलाडीसँग बढ्यो सम्बन्ध
एनपिएलले विदेशी खेलाडीसँगको सम्बन्ध बढाएको छ । एनपिएलले विश्वको ध्यान तानेको छ । विश्वभरबाट आएका ४० विदेशी खेलाडीको सहभागिता एनपिएलमा अझ विशेष बनेको छ । एनपिएलमा सहभागी आठवटै क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका छन् ।
आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो संस्करणका लागि एउटा टोलीले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम बनाएको हो । विभिन्न टिम किन्नका लागि उद्योगपति तथा व्यापारीहरुले करोडौं रुपैंयाँ लगानी गरेका छन् ।
अन्य निजी संस्था तथा कम्पनीहरु पनि क्रिकेट टिमहरुसँग आबद्ध भएका छन् । क्रिकेटमा लगानी गर्दैमा तत्काल नाफा हुन सक्ने क्षेत्र होइन ।
स्वदेशी तथा विदेशी खेलाडीहरुको महंगो पारिश्रमिक, सिमित प्रायोजन, क्रिकेट मैदानको भौतिक अवस्था तथा दर्शक क्षमता, टिकट दर आदि कारणले नेपालमा क्रिकेटमा लगानी गरेर तत्काल प्रतिफल उठन सक्ने अवस्था छैन । यद्यपि, निरन्तर यथोचित लगानी गर्न सकेमा केही वर्षमा सन्तोषजनक अवस्था आउन सक्नेछ ।
नेपालको विश्वव्यापी पहुँच
भारतको आइपिएल जस्तै नेपालको एनपिएल क्रिकेटको पहुँच विश्वव्यापी रुपमा हुँदैछ । टेलिभिजनको प्रत्यक्ष प्रसारणका साथै अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिताका कारण विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकर्षित हुने भएको हो ।
यसपटक अन्तर्राष्ट्रिय खेलकुद टेलिभिजन च्यानल स्टार स्पोर्टसमार्फत विश्वका विभिन्न मुलुकका क्रिकेटप्रेमीहरुले एनपिएलको प्रत्यक्ष प्रसारण हेर्ने अवसर पाउने भएका छन् ।
विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा प्रत्यक्ष प्रसारण गरिसकेका कमेन्टेटरहरुको सहभागिता रहेको यसप्रकारको अन्तर्राष्ट्रिय प्रसारणबाट विश्वमा नेपालको प्रचारप्रसार हुन गई आगामी दिनमा पर्यटकहरुको वृद्धि हुन जाने अपेक्षा गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय ख्यातीप्राप्त क्रिकेट खेलाडीहरुको नेपाल आगमनका साथै अन्य गतिविधिको निरन्तर समाचार प्रचारप्रसारले पनि विश्वको ध्यान आकर्षित गरेको छ ।