काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको संसद विघठनको कदमले पार्टी एकतामा कुनै तात्विक असर नपर्ने बताएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले कुनै पनि व्यक्तिको असंबैधानिक कदम र राष्ट्रघाती गतिविधिले समग्र पार्टीमा कुनै असर नगर्ने बताएका हुन्।
प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरूका विरूद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन।’
नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणामस्वरूप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भएको विज्ञप्तिमा उल्लेख छ।