सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

२१० मेगावाटको चैनपुर सेती बनाउन साढे ४७ अर्ब लगानी स्वीकृत, ७ वर्षमा सकिएला ?

२१० मेगावाटको चैनपुर सेती बनाउन साढे ४७ अर्ब लगानी स्वीकृत, ७ वर्षमा सकिएला ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सहायक कम्पनीमार्फत २ सय १० मेगावाटको चैनपुर सेती अर्धजलासय (पिआरओआर) आयोजना बनाउने भएको छ । लगानी बोर्डले चैनपुर सेती आयोजना बनाउन ४७ अर्ब ५४ करोड रुपैयाँ लगानी स्वीकृति गरेको छ । लगानी स्वीकृत भएकाले अब आयोजना बनाउन आवश्यक लगानी जुटाउन सहज हुने भएको छ ।

आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सहित स्थानीय र प्रदेश सरकारको समेत लगानी हुने गरी वित्तीय लगानी खाकामा छलफल भइरहेको छ ।

यस्तै सरकार स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले पनि आयोजनामा लगानी गर्ने भएको छ ।

विद्युत प्राधिकरणले आयोजना बनाउन चैनपुर सेती जलविद्युत कम्पनी लिमिटेड स्थापना गरेको छ । आयोजना काम सुरु भएको ७ वर्ष अर्थात सन् २०३१ को मे महिनामा सक्ने कम्पनीले जनाएको छ । आयोजनाबाट वार्षिक १ अर्ब १५ करोड ८० लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको सम्भाव्यता अध्ययनले देखाएको छ ।

सुक्खायाममा २१ करोड ९५ लाख र वर्खामा ९३ करोड युनिट बिजुली उत्पादन हुनेछ । यो आयोजनाको कुल हेड ४ सय ९६ मिटर रहेको छ । आयोजना बनाउन विद्युत विकास विभागले अनुमतिपत्र (लाइसेन्स) जारी गरिसकेको छ ।

प्राधिकरणले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) सकेर वन तथा वातावरण मन्त्रालयमा बुझाएको छ । बझाङमा पर्ने चैनपुर सेतीलाई सुदूरपश्चिम प्रदेशको रुपान्तरणकारी (गेमचेन्जर) आयोजनाको रूपमा अगाडि बढाइएको छ ।

चैनपुर सेती आयोजना जनताको जलविद्युत कार्यक्रम अन्तर्गत निर्माण गरिने भएको हो । संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको सेयर लगानी रहनेछ ।

७० प्रतिशत ऋण र बाँकी ३० प्रतिशत स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बन्ने बताइएको छ । आयोजना सुदुरपश्चिम प्रदेशको बझाङको तलकोट मष्टा र साइपाल गाउँपालिकमा पर्छ ।

सेती नदीको पानीलाई उपयोग गर्दे दायाँ किनारामा मुख्य संरचनाहरु रहने भएको छ । सेती नदीमा ५२.५ मिटर लम्बाइ भएको र ३७ मिटर अग्लो बाँध निर्माण हुनेछ । आयोजनाको अडिट सुरुङ खन्ने काम जारी छ ।

आयोजनाको जलासयमा पानीको भण्डार ९८ लाख घनमिटर हुने कम्पनीले जनाएको छ । आयोजनाको पिकिङ क्षमता बढीमा ६ घण्टाको हुनेछ । सुक्खायाममा पनि आयोजना दैनिक ६ घण्टा पूर्ण क्षमतामा सञ्चालन हुनेछ ।

आयोजनाको विद्युतगृह भुमिगत हुनेछ । आयोजनामो ७१.६२ मेगावाट क्षमताका तीनवटा भर्टिकल एक्सेस पेल्र्टन टर्वाइन जडान हुनेछ । तीनवटा थ्रि फेज जेनेरेटर ८२.१५ एमभिए रटेड क्यापसिटीबाट २ सय १० मेगावाट बिजुली उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादन हुने बिजुली आधा किलोमिटर दुरीमा बन्न लागेको बझाङ हबमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने कम्पनीले जनाएको छ ।

आयोजनाको बाँध क्षेत्रमा बस्ती नभएको र विद्युतगृहको संरचना रहने ठाउँमा पातलो बस्ती भएकाले स्थानीयको २ सय ३० रोपनी निजी जग्गा अधिग्रहण गर्दा आयोजनालाई पुग्ने देखिएको चैनपुर सेतीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend