सुर्खेत । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका नागरिकका लागि दिगो विकास र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्न लागि आफु निरन्तर प्रयासरत रहेको बताउनु भएको छ ।
आज सुर्खेतको वीरेन्द्रनगरस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयमा आयोजित विशेष कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले देशभरका नागरिकका लागि आत्यावश्यक पर्ने दिगो विकास एवम् सुरक्षित खानेपानीको पहुँच पुर्याउनका लागि ठोस योजना बनाईने बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशभरका नागरिकका लागि दिगो विकास र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्न निरन्तर म प्रयासरत छु, यस विषयमा सबैको सहयोग र साथ आवश्यक रहेको छ ।”

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले बाढी पहिरोका कारण देशभरमा खानेपानीका आयोजनाको निर्माणको काममा केही ढिलाई भइरहेको तथा अधिकाँस ठाउँमा बाढीले पानीका मुहानहरु बगाएका कारण खानेपानीको समस्या उत्पन्न भएकाले बाढीले क्षती गरेका ठाउँहरुमा सुरक्षित खानेपानी सञ्चालन गरी नागरिकलाई पानी बितरणका लागि मन्त्रालयको सिङ्गो टिम अहोरात्र खटिईरहेको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा संघीय सरकारले सञ्चालन गरिरहेका विभिन्न योजनाहरुको समीक्षा गर्दै आयोजना अन्तर्गतका योजनाहरुको वर्तमान अवस्था, प्रगतिका मुख्य चरणहरु तथा कार्यान्वयनका क्रममा देखा परेका चुनौतीहरुको विश्लेषण गर्नुका साथै समस्याहरु समाधान गर्न ठोस योजना बनाउने विषयमा गहन छलफल गरिएको थियो ।
मन्त्री यादव सहित खानेपानी मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ सहितको टोली आज अपरान्न काठमाडौँबाट सुर्खेत आइपुग्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस