बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

बिआरआई फ्रेमवर्कमा भएन सहमति : चीनले अनुदान नदिने, नेपालले ऋण नलिने

बिआरआई फ्रेमवर्कमा भएन सहमति : चीनले अनुदान नदिने, नेपालले ऋण नलिने

प्रधानमन्त्री ओली चीनका राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता बेइजिङ (चीन), १८ मङ्सिरः चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा चीनका राष्ट्रपति सि चिनपिङसँग शिष्टाचार भेटवार्ता गर्दै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौं । नेपालले बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना अघि बढाउन अनुदान माग गरेपछि चीनले असहमति जना सहमति हुन सकेन । प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी लि छ्याङसँग मंगलबार बेइजिङमा भएको वार्तामा बिआरआई परियोजना अघि बढाउने विषयमा सहमति जुटेन ।

‘चीनले अनुदान नदिने, नेपालले कुनै पनि परियोजनामा ऋण नलिने भएपछि बिआरआईमा कुरा मिलेन’ परराष्ट्र मन्त्रालयल स्रोतले सुनौलो नेपाललाई भन्यो । स्रोतका अनुसार नेपालले प्रस्ताव गरेको बिआरआर को–अपरेसन फ्रेमर्वकमा चीनले सहमति जनाएन । त्यसैले तत्काल बिआरआई कार्यान्वयन नहुने भएको छ ।

सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा एमालेले बिआरआई कार्यान्वयनका विषयमा चार बुँदे समझदारी भएपछि चीनको धारणा बुझ्न गत साता परराष्ट्रमन्त्री राणा चीन भ्रमणमा गएकी थिइन् ।

गत शुक्रबार परराष्ट्रमन्त्री डा. आरजु राणाले बेइजिङ पुगेर समकक्षी वाङ यिसँग भेटेर बिआरआई अनुदान मात्र लिने जानकारी गराएकी थिइन् । कांग्रेस र एमालेबीच बिआरआई कार्यान्वयनमा चारबुँदे समझदारी भएको थियो ।

१.बिआरआई को–अपरेसन फ्रेमवर्कअन्र्तत नेपालले बिआरआईको पुरै प्लानमा हामी हस्ताक्षर नगर्ने ।

२. नेपालमा आवश्यक पर्ने परियोजनाहरु चीन सरकारले बिआरआईअन्तर्गत राखेर दिए पनि अनुदानमा मात्र स्वीकार गर्ने ।

३. नेपालको अहिले चीनसँग मात्र नभएर कुनै पनि देशसँग ऋण लिन सक्ने अवस्था नभएका कारण ऋणमा प्रवेश नगर्ने ।

४. नेपालले सात वर्षअघि बिआरआईको सैदान्तिक सहमतिमा हस्ताक्षर गरिसकेकाले सरकार पछि हट्ने छैन् र कार्यान्वयनका लागि तयार छ ।

यी चारवटा बुँदाको अर्थ हो, बिआरआई होल इम्पिलिमेन्टेसन प्लानमा जस्ताको त्यस्तै हस्ताक्षर नगर्ने । बिआरआईको परियोजना अनुदानमा मात्र गर्ने र ऋण नलिने भन्ने हो ।

परियोजनाको फ्रेमवर्क डकुमेन्टमा नेपालले पहिले नै हस्ताक्षर गरिसकेको छ । अब यसको कार्यान्वयन मोडल के कस्तो हुने, यसलाई अनुदान या ऋण केमा सञ्चालन गर्ने भन्ने विषय निर्णय भइसकेको छैन ।

नेपाल सन् २०१७ मा नेपाल बिआरआई ‘फ्रेमवर्क’ मा आबद्ध भएको हो । नेपाल–चीनबीच २०१७ मेमा बिआरआईको साझेदार पक्षमा हस्ताक्षर भएको थियो । तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा बेइजिङ गएर बिआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेका थिए ।

चीनले एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा बिआरआई अन्तर्गत लगानी गरेका अधिकांश परियोजना प्रभावकारीरूपमा अघि बढ्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दाबी गर्दै आएका छन् । तर, चीनले यसलाई अस्वीकार गर्दै आएको छ ।

बिआरआईका नौ परियोजना अलपत्र

नेपालले पहिलो चरणमा ३५ वटा पूर्वाधार परियोजनाको सूची चीनलाई पठाएको थियो । चीनकै आग्रहमा पछि नेपालले विभिन्न ९ परियोजना अघि बढाउने निर्णय गरेको थियो । केरुङ–काठमाडौं रेल, रसुवागढी–काठमाडौं सडक स्तरोन्नति, किमाथांका–हिले सडक निर्माण, गल्छी–रसुवागढी–केरुङ ४०० केभी प्रशारण लाइन, ७ सय ५६ मेगावाटको तमोर जलाशय आयोजना निर्माण, मदन भण्डारी प्राविधिक शिक्षालय निर्माण, फुकोट कर्णाली जलविद्युत, दिपायलदेखि चीनका सीमासम्म सडक र टोखा–विदुर सुरुङमार्ग सडक छनौट भएका थिए ।

बिआरआई अन्तर्गत अघि बढाउने भनिएका यि कुनै परियोजनाको प्रगति भएको छैन् । यसबीचमा कुनै पनि परियोजना अघि नबढेपछि सरकारले ४ सय ९० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरण र भारतको एनएचपिसी लिमिटेड मिलेर बनाउने समझदारी भएको छ ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण भएको ५ वर्ष बितिसक्दा पनि छनौटमा परेका नौ परियोजना कुनैको पनि काम अघि बढेको छैन । त्यसबेला केरुङ–काठमाडौं सीमापार रेल निर्माण अघि बढाउने, टोखा–छहरे सुरुङमार्ग निर्माण गर्नेलगायत दिर्घकालीन महत्वका ठूला परियोजना अघि बढाउन २० वटा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको थियो ।

आर्थिक विकास र अन्तरक्षेत्रीय सम्पर्क प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको बिआरआईको अवधि २०४९ सम्म छ । चीनको उदीयमान विश्वछवि र त्यससँग जोडिएको रणनीतिक वर्चश्वको स्वार्थको एक कडीका रूपमा समेत अथ्र्याइएको बिआरआईमा हालसम्म नेपाललसहित डेढ सय मुलुकहरुले हस्ताक्षर गरेका छन् ।

चाइना डेभलपमेन्ट बैंक र चाइना एक्जिम बैंकले २०१६ मा मात्रै विभिन्न देशलाई सर्वाधिक उच्च ऋण लगानी गरेका थिए । बिआरआईको ऋणको ब्याज न्यूनतम २.५ देखि ५ प्रतिशतसम्म छ । जबकि विश्व बैंक, एडिबीलगायत अन्य दातृ निकायबाट लिइने ऋणको ब्याज एक प्रतिशतभन्दा तल छ । त्यसमाथि कतिपय ऋण पछि अनुदानमा परिणत भएका छन् ।

बिआरआईबाट ठूलो सहयोग लिएको पाकिस्तानको आर्थिक अवस्था कमजोर छ । पाकिस्तानमा चीनले बीआरआईमार्फत अर्बौं डलर ऋण लगानी गरेको छ ।

दक्षिण एसियामा महंगो चिनियाँ ऋणको पासो सामना गरेका दुई मुख्य देश श्रीलंका र पाकिस्तान हुन् । यी दुबै देशको आर्थिक स्थिति अहिले राम्रो छैन । श्रीलंकाले त अरु कुनै उपाय नदेखिएपछि चिनियाँ लगानीको हम्बन टोटा बन्दरगाह ९९ वर्षका लागि चीनलाई नै लिजमा दिएको छ ।

यो पनि :

बिआरआईमा नेपालले तयार पारेको फ्रेमर्वकमा छलफल गर्न चीन तयार, आउला अनुदान ?

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend