logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सन् २०२० का  विश्वमा भएका महत्वपूर्ण उपब्धिहरु 

    सन् २०२० का  विश्वमा भएका महत्वपूर्ण उपब्धिहरु 

    3.9K
    Shares

    काठमाडौं । सन् २०२० मा विश्व नै कोरोना भाइरसको चपेटामा पर्यो । लाखौं मानिसले ज्यान गुमाए, धेरै मानिसहरु अझै पनि भाइरस संक्रमणविरुद्ध संघर्ष गरिरहेका छन् । भाइरसकै प्रकोपका कारण विश्वभर नै ठूलो आर्थिक मन्दी भयो । वर्षभरि कोरोना संक्रमण, यसको रोकथाम, नियन्त्रण र खोप विकासमात्रै चर्चामा रह्यो र वर्षको अन्तिमतिर खोप निर्माणमा पनि सफल भयो । यही बीच वर्षभर केही महत्वपूर्ण उपलब्धि पनि भए । 

    कोरोनाभाइरसविरुद्ध खोप कार्यक्रम सुरु
    कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा पहिला बेलायतमा प्रयोगमा आयो । ८ डिसेम्बरबाट त्यहाँ भ्याक्सिनेसन कार्यक्रम सुरु भयो । यसमा पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेरका मानिस र स्वास्थ्यकर्मीलाई खोप लगाउन थालियो । बेलायतले फाइजर–बायोन्टेकले विकास गरेको ८ लाख डोज खोप खरीद गरेको छ । हालसम्म चीनको ४, रुसको २, अमेरिकाको १ खोपलाई प्रयोगका लागि अनुमति मिलेको छ । 

    अन्तरिक्षमा ११ महिनासम्म महिला अन्तरिक्षयात्री
    अन्तरिक्षमा ११ महिना बिताएर नासाकी एस्ट्रोनट क्रिस्टिना कोच फेबु्रअरी ६, २०२० मा आइन् । महिला अन्तरिक्षयात्रीले अन्तरिक्षमा यति लामो समय बिताएको यो विश्वमै पहिलो मिसन थियो । क्रिस्टिनाले इन्टरनेसनल स्पेस स्टेशनमा ३२८ दिन बिताएकी थिइन् । यही क्रममा उनले मंगल मिसन, गुरुवात्कर्षण, स्पेस रेडिएसन र यसले महिलाको शरीरमा पार्ने असरसम्बन्धी महत्वपूर्ण तथ्य संकलन गरिन् । नासाका अनुसार यसभन्दा अगाडि २०१६–१७ मा पेगी विटसनले २८८ दिन अन्तरिक्षमा बिताएकी थिइन् । 

    अफ्रिका पोलियोमुक्त 
    कोरोना भाइरससँग लडिरहेकै समयमा अगस्ट २५ मा विश्व स्वास्थ्य संगठनले अफ्रिकालाई पोलियोमुक्त भएको घोषणा गर्यो । त्यस समयसम्म अफ्रिकी देश नाइजेरियामा मात्र पोलियो भाइरस थियो भने अन्य देशबाट उन्मुलन भइसकेको थियो । त्यहाँ पछिल्लो ४ वर्षभित्र एउटा पनि पोलियोको बिरामी भेटिएनन् । सन् १९९६ मा अफ्रिकाभर करिब ७५ हजार बालबालिका पोलियोको शिकार भएका थिए । डब्ल्युएचओका अनुसार हाल विश्वमा पाकिस्तान र अफगानिस्तानमात्र पोलियो भाइरस रहेको छ । 

    इजरायल र युएईबीच सम्झौता
    कट्टर शत्रु मानिने इजरायल र संयुक्त अरब इमिरेट्स (युएई) बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा अगस्टमा ऐतिहासिक शान्ति सम्झौता भयो । सन् १९४८ मा स्वतन्त्र भएपछि इजरायलको अरब देशबीच भएको यो तेस्रो सम्झौता हो । 

    अमेरिकी अन्तरिक्षयान समुद्रमा अवतरण
    अमेरिकाको निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको ड्रयागन क्याप्सुल अगस्ट २ मा १९ घण्टापछि समुद्री सतहमा अवतरण गर्यो । ४५ वर्षपछि अमेरिकाको अन्तरिक्षयान पहिलोपटक समुद्री सतहमा ल्यान्डिङ भएको हो । मिसन चुनौतिपूर्ण थियो, फ्लोरिडा क्षेत्रमा आँधीको चेतावनी दिइरहेकै समयमा यानको सफल अवतरण गरियो । सन् २०११ मा स्पेस कार्यक्रम सकिएपछि अमेरिकी स्पेस एजेन्सी नासाले अन्तरिक्षमा यात्री पठाउन रुसको भर पर्नुपथ्र्यो । यसका लागि अमेरिकाले ५५० करोड रुसको स्पेसकम्पनीलाई बुझाउनु पथ्र्यो । तर अब योसँगै अमेरिका अन्तरिक्ष यात्राका लागि रुससँग निर्भर हुन पर्दैन । एलन मस्कको कम्पनी स्पेसएक्सले अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाएको यो पहिलोपटक थियो । 

    चीनको चन्द्रमा यात्रा 
    अमेरिकाको एपोलो र रुसको लुना मिसनपछि चीन चन्द्रमामा पुग्ने विश्वको तेस्रो देश बन्यो । नोभेम्बर २३ मा उडेको चीनको चांग–इ–५ यान चन्द्रमाको सतहबाट माटोको २ किलो नमूना लिएर डिसेम्बर १७ मा फर्कियो । यसले राति साँढे दुई बजे मंगोलियाको भित्री क्षेत्रमा अवतरण गरेको थियो । यसभन्दा ४४ वर्षअगाडि अमेरिकाको एपोलो यानले पहिलोपटक चन्द्रमाबाट ढुंगाका टुक्रा लिएर आएको थियो । चीनको चन्द्रमा मिसनमा मानिसहरु गएका थिएनन । यो यान रोबोटिक थियो, यसकारण यसलाई बढी जटिल मानिएको थियो । 

    अमेरिकामा पहिलो महिला उपराष्ट्रपति
    अमेरिकामा नोभेम्बर महिनामा भएको राष्ट्रपतीय निर्वाचनसँगै विश्वमा एउटा महत्वपूर्ण रेकर्ड कायम भयो । अश्वेत एवं एसियन मूलकी महिला पहिलोपटक अमेरिकाको उपराष्ट्रपति पदमा निर्वाचित भइन् । डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति बनिन् । राष्ट्रपति निर्वाचित भएका जो बाइडेन पनि अमेरिकामा सबैभन्दा बढी उमेरका राष्ट्रपतिको रुपमा रेकर्ड कायम गरेका छन् । उनी ७८ वर्षमा राष्ट्रपति भए । यसभन्दा अघि रोनाल्ड रेगन ७७ वर्षमा राष्ट्रपति भएका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend