काठमाडौं । सरकार स्वामित्वको विद्युत उत्पादन कम्पनी लिमिटेडले २३ सय ५६ मेगावाट क्षमताका दुई ठूला जलासय आयोजना प्रतिस्पर्धाबाट अघि बढाउन लागेको छ ।
१९ सय २ मेगावाटको मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजना र ४ सय ५४ मेगावटको किमाथांका अरुण अर्धजलासय अयोजना बोलकबोलबाट नेपाली निजी क्षेत्रलाई दिन लागेको हो । दुई आयोजना बनाउन ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
दुई आयोजना लगानी साझेदारीमा निजी क्षेत्रमार्फत बनाउन विद्युत उत्पादन कम्पनीले वित्तीय लगानी प्रस्ताव आब्हान गरेको छ । कम्पनीका अनुसार दुई आयोजना स्वदेशी लगानीकर्तामार्फत सार्वजनिक निजी साझेदारी ढाँचामा लगानी जुटाउने प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ ।
स्वदेशी क्षमता अभिवृद्धिका साथै स्थानीय लगानीलाई प्रोत्साहित गर्न यि दुई ठूला जलासय आयोजना अघि बढाएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार स्वपुँजी (इक्विटी) को ५१ प्रतिशत लगानी गर्न साझेदारी चाहिने भएको छ ।
आयोजना बनाउन स्वदेशी लगानीकर्ता, नेपाली नागरिक मात्र प्रवद्र्धक रहेको कम्पनी र संगठित संस्थालाई १५ दिनभित्र आशयपत्र पेश गर्न विद्युत उत्पादन कम्पनीले समय दिएको छ । लगानी पेश गर्ने समय पुस ९ गते दिउसो १२ बजेसम्मलाई तोकिएको छ । आयोजनाको स्वपुँजी र ऋण लगानी अनुपात २५ः७५ प्रतिशत हुनुपर्ने कम्पनीले जनाएको छ । प्रस्तावकले ५१ प्रतिशत सेयर लगानीको प्रस्ताव गर्नुपर्ने भएको छ ।
किमाथांका जलविद्युतका लागि न्यूनतम् कबोल मूल्य ९० करोड ८१ लाख ९ हजार ३ सय २ रुपैयाँ तोकिएको छ । यस्तै मुगु कर्णालीलाई ४८ करोड ७२ लाख ४३ हजार ४ सय २३ रुपैयाँ तोकिएको उत्पादन कम्पनीले जनाएको छ । प्राविवधिक प्रस्तावमा न्यूनतम् ६० प्रतिशत प्राप्त गर्ने प्रस्तावको मात्र प्रस्ताव खोलिने कम्पनीले स्पष्टपारेको छ ।
फुकोट कर्णालीको ढाँचामा निर्माण गर्न भारतको एनएचपिसी लिमिटेडले मुगु कर्णाली पनि मागेको थियो ।
मुगु कर्णाली नेपालमा हाल अध्ययन भइरहेकामध्ये सबैभन्दा ठूलो जलाशययुक्त जलविद्युत आयोजना हो । आयोजनाले वार्षिक ५ अर्ब ८८ करोड ३१ लाख युनिट बिजुली उत्पादन गर्ने संभाव्यता अध्ययनले देखाएको छ । कर्णाली नदीमा पहिचान भएको यो आयोजना सबैभन्दा माथि निर्माण हुनेछ ।
आयोजनाको बाँध करिब २८५ मिटर उचाइको हुने अनुमान छ । यो आयोजनाले कर्णालीका कालिकोट, मुगु, हुम्ला र जुम्ला गरी चार जिल्ला र सुदुरपश्चिमको बाजुराका विभिन्न क्षेत्रहरु प्रभावित हुनेछ ।
आयोजनाबाट प्रभावित हुने जिल्लाअनुसार गाउँपालिकामा हुम्ला जिल्लाको सर्केगाड, अदानचुली र ताँजाकोट गाउँपालिका रहेका छन् भने बाजुराका हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिका रहेका छन् । त्यसैगरी मुगु जिल्लाका खत्याड र सोरु गाउँपालिका, कालीकोटको पताला गाउँपालिका र जुम्लाका कनका सुन्दरी र सिञ्जा गाउँपालिका रहेका छन ।
यो आयोजना नेपाल चीन सीमा नजिक पर्छ । किमाथांका अरुण अर्धजलाशययुक्त आयोजना संखुवासभा जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका नेपाल–चीन सीमानजिक पर्छ । आयोजनाको परामर्शदाता नेपाल विद्युत प्राधिकरणको एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड रहेको छ ।
बिजुलीको अधिकतम माग हुने समयमा आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । भोटखोलाको वडा नम्बर २ स्थित छुम्सुर गाउँनजिक नदीको सतहदेखि ७० मिटर अग्लो बाँध बनाउने प्रस्ताव गरिएको छ ।
बाँध बनेपछि सो क्षेत्रमा १०३ लाख घनमिटरको जलाशय बन्ने छ । भोटखोला गाउँपालिका वडा नम्बर २ स्थित लिङगम गाउँको ५०० मिटर तल पुङमुछिमा विद्युतगृह बन्ने भएको छ ।
आयोजनामा ८ मिटर व्यास भएको ५१ सय ९८ मिटर लामो हेडरेस सुरुङ बनाइने भएको छ । आयोजनामा पानीको वहाव १४३ घनमिटर प्रतिसेकेन्ड ३७९ मिटर अग्लो हेडबाट खसालेर वार्षिक २ अर्ब ६५ करोड ५१ लाख २० हजार युनिट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको छ ।
सुक्खायाममा आयोजनाबाट १ अर्ब ५ करोड ११ लाख ३० हजार युनिट बिजुली उत्पादन गर्ने अनुमान छ । यस्तै बर्खामा १ अर्ब ८७ करोड ३५ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।
आयोजनाको विद्युतगृह भूमिगत हुने भएको छ । यस्तै सुरुङबाट ल्याइएको पानीलाई ४ वटा टर्वाइनमा खसाली विद्युत उत्पादन गरिने भएको छ । बिजुली उत्पादनपछि सो पानीलाई पुनः अरुणमा छाडिने छ । आयोजनास्थलसम्म पुग्न २६.८ किलोमिटर लामो पहुँचमार्ग बनाउनुपर्ने भएको छ । आयोनाको अधिकांश संरचनाहरु मकालु र वरुण राष्ट्रिय निकुञ्जमा बन्नेछ । नेपाल र चीन सीमामा पर्ने यो आयोजना पनि अरुण तेस्रो बनाइहेको भारतको सतलज जलविद्युत निगमले मागिरहेको छ ।