logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • लोकतान्त्रिक आन्दोलनले तानाशाह बसर अल असदको २५ वर्ष शासनको गर्यो अन्त्य

    लोकतान्त्रिक आन्दोलनले तानाशाह बसर अल असदको २५ वर्ष शासनको गर्यो अन्त्य

    1.1K
    Shares
    लोकतान्त्रिक आन्दोलनले तानाशाह बसर अल असदको २५ वर्ष शासनको गर्यो अन्त्य

    पेरिस, एएफपी । सन् २००० मा पिता हफेज अल–असदको मृत्युपछि सिरियाली राष्ट्रपति बसर अल असद सत्तामा आए । उनी सत्तामा आएदेखि नै आन्दोलन गर्न सिरियाली विपक्षीहरूले गठबन्धन गर्न थालेको पाइन्छ ।

    सन् २००० जुलाई १७ मा, असद आफ्ना ६९ वर्षका पिताको मृत्युपछि सिरियाको नयाँ राष्ट्रप्रमुख बनेका थिए। असदका पिता हफेजले ३० वर्षसम्म सिरियामा शासन गरेका थिए ।सन् २००० जुन १० मा हफिजको मृत्यु भएको दिन संसद्ले राष्ट्रपति बन्न आवश्यक पर्ने न्यूनतम उमेर घटाउन संविधान संशोधन गरी असदलाई राष्ट्रपति बन्ने मार्ग प्रशस्त गरेको थियो ।

    पिताको मृत्युलगत्तै उहाँलाई सशस्त्र बलको कमान्डर इन चिफ र सत्तारुढ बाथ पार्टीको नेता नियुक्त गरिएको थियो ।

    सोही वर्ष सेप्टेम्बरमा १०० जना सिरियाली बुद्धिजीवीहरूले सन् १९६३ देखि लागू भएको सैनिक शासनको अन्त्य, थप स्वतन्त्रता र राजनीतिक बहुलवादको माग गरेका थिए । यसलाई ‘दमास्कस वसन्त’ भनिन्छ ।

    असदको सरकारले सन् २००१ को जुलाईमा १० जना विरोधीलाई गिरफ्तार गरेको थियो ।

    सन् २००५ को फेब्रुअरीमा लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीको बेरुतमा भएको बम विस्फोटमा मृत्यु भएको थियो ।प्रमुख पश्चिमा शक्ति र लेबनानी विपक्षीहरूले लेबनानमा बलियो सैन्य उपस्थिति रहेको सिरियालाई हरिरीको मृत्युका लागि दोष दिन्छन् र आफ्ना सेना फिर्ता गर्न आह्वान गर्छन् । दमास्कसले यसको जिम्मेवारी अस्वीकार गरेको छ ।

    सोही बर्षको अप्रिलमा सिरियाली सेनाको २९ वर्षको सैन्य र राजनीतिक प्रभुत्वको अन्त्य गर्दै दशौं हजार सिरियाली सेना लेबनानबाट बाहिरिएका थिए ।

    सन् २००५ अक्टोबरमा विपक्षी पार्टीहरूले संयुक्त ‘दमास्कस घोषणापत्र’ जारी गर्न एकजुट भए र आमूल र लोकतान्त्रिक परिवर्तनको आह्वान गरे र ‘अधिनायकवादी शैली र साम्प्रदायिक शासन’ को आलोचना गरे।

    तत्कालिन प्रशासनले विपक्षी कार्यकर्ता र बुद्धिजीवीहरूमाथि व्यापक दमन गरेको थियो । दमनले प्रजातन्त्रका लागि गरिएको आन्दोलनलाई थप उर्जा मिलेको थियो । सन् २००५ को दमनपछि देशव्यापीरूपमा थप व्यक्तिहरूले असदको विरोधमा सङ्ठित बनेका थिए ।

    सन् २००७ को डिसेम्बरमा प्रजातन्त्र पक्षधर विपक्षीहरूको गिरफ्तारीको नयाँ लहर सुरु भएको थियो ।

    उनीहरूले थप सङ्गठित बन्दै सन् २०११ मार्चमा अरब वसन्त नाम दिइएको सशक्त आन्दोलनको घोषणा गरियो । यसले सिरियामा नागरिक स्वतन्त्रता र राजनीतिक कैदीहरूको रिहाईको माग गर्दै विरोध प्रदर्शनहरू सुरु गरेको थियो भने प्रशासनले आन्दोलनलाई व्यापक बल प्रयोग गरी दबायो ।

    सन् २०११ मार्च महिनामा नै असद प्रशासनले ‘आतङककारी’ घोषणा गरेका व्यक्तिहरूमाथि रक्तपातपूर्ण कारबाही सुरु गर्यो जुन तत्कालिन सरकारका लागि अभिसाफ नै सावित हुन पुग्यो । आन्दोलनले सरकारविरोधी प्रदर्शनबाट सशस्त्र विद्रोहको स्वरूप लिन पुग्यो र सिरियामा गृहयुद्धको सुरुवात भयो । यस युद्धमा धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिहरू पनि सामेल भए, साथै जिहादीहरू पनि सामेल भए ।

    सन् २०१२ मा सरकारले विद्रोहीविरुद्ध हवाई आक्रमणलगायत भारी हतियार प्रयोग गरेको थियो । यसलाई धेरै पटक रासायनिक हतियार प्रयोग गरेको आरोप लगाइएको छ, तर असद प्रशासनले यो आरोपको बारम्बार खण्डन गर्दै आएको छ ।

    रूस, इरान तथा तेहरान समर्थित लेबनानी सिया लडाकू समूह हिजबुल्लाहको ठूलो सैन्य समर्थनका साथ नेता असदलाई सत्तामा टिकाइयो ।

    लामो समयसम्म चलेको युद्धमा करिब पाँच लाख मानिसले ज्यान गुमाएपछि र झण्डै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित भएपछि सन् २०२० को मार्चमा रूस र टर्कीबीच भएको सम्झौतापछि युद्धविरामको घोषणा गरिएको थियो तर यसद्धविरामको वाबजुद त्यसपछिको समयमा पनि सिरियामा बमबारी र छिटपुट जिहादी आक्रमणहरूले भने निरन्तरता पाएका थिए ।

    यस युद्धमा पाँच लाख भन्दा बढी मानिसको मृत्यु भएको छ, देशको युद्धपूर्वको आधा जनसङ्ख्या विस्थापित भएको छ । यसले असदलाई विश्वव्यापी पराया बनाएको छ ।

    विपक्षीहरूको तीव्र विरोध र शक्तिशाली विपक्षी दलहरूको निर्वाचन बहिस्कारका बीच सन् २०२१ मे २६ मा गरिएको निर्वाचनमा असद ९५.१ प्रतिशत मतका साथ चौथो कार्यकालका लागि पुनः निर्वाचित भएका थिए ।

    सन् २०११ मा जनविद्रोहविरुद्ध गरेको कारबाहीको प्रतिक्रियास्वरुप सिरियालाई अरब लिगबाट बर्खास्त गरिएको थियो । तर, सन् २०२३ को मे महिनामा रूस र इरानको पहलमा सिरियालाई पुनः अरब लिगमा सामेल गराइएको थियो ।

    सन् २०१३ मा सिरियामा भएको रासायनिक आक्रमणका लागि मानवताविरुद्धको अपराधमा संलग्न रहेको आशंकामा फ्रान्सले सन् २०२३ को नोभेम्बरमा असदविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेको थियो ।

    त्यसको अर्को दिन संयुक्त राष्ट्रसंघको सर्वोच्च कानुनी निकाय अन्तर्राष्ट्रिय अदालतले सिरियालाई यातना र क्रूर र अपमानजनक व्यवहार अन्त्य गर्न आदेश दिएको थियो । एक दशक लामो गृहयुद्धमा फसेको सिरियामा सत्ता उलटपलट भएपछि शासन व्यवस्था कस्तो हुने हो त्यो अझै अनिश्चित छ ।

    विश्व बैंकका अनुसार सन् २०२१ मा सिरियाको कूल ग्राहस्थ उत्पादन (जिडिपी) आकार ८ अर्ब ९८ अर्ब डलर मात्र छ । सिरियाको प्रतिव्यक्ति आम्दानी वार्षिक ४ सय २१ डलर छ भने आर्थिक वृद्धि १.३ प्रतिशत मात्र छ ।

    एचटीएस नेतृत्वको निर्णायक आक्रमण

    नोभेम्बर २७ मा इस्लामिक समूह हयात तहरीर अल–शाम (एचटीएस) ले विद्रोही आक्रमणको नेतृत्व गरेको थियो र युद्धमा पहिलो पटक असदको सेनाबाट दोस्रो शहर अलेप्पोको नियन्त्रण खोसेको थियो ।विद्रोहीहरूले आइतबार राजधानी दमास्कस आइपुगेको घोषणा गर्नुअघि हामा र होम्सजस्ता अन्य प्रमुख शहरहरू माथि कब्जा जमाएका छन्।

    शनिबार असदको कार्यालयले उनी राजधानीबाट भागेको अस्वीकार गरेको केही घण्टापछि एचटीएसले ‘तानाशाह’लाई सत्ताच्यूत गरेको बताएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सनामक बेलायतस्थित युद्ध अनुगमनकर्ताले आइतबार सेनाले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल छोड्नुअघि नै राष्ट्रपति असदले देश छोडेको जनाएको छ ।

    सिरियामा असद शासन अन्त्य भएको विद्रोहीको घोषणा

    कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दावी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् ।

    सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामी दमास्कस शहरलाई स्वतन्त्र घोषणा गरेका छौँ’ भन्दै सडकमा विजय उत्सव मनाएका देखिन्थे। दमास्कसबाट एएफपी टिभीले खिचेको तस्बिरमा विद्रोहीहरूले सूर्योदयको समयमा हवाई फाएर गरेका, केहीले विजयको चिन्ह चम्काइरहेको र ‘अल्लाहु अकबर’ वा ईश्वर महान् हुनुहुन्छ भनी चिच्याइरहेको देख्न सकिन्छ ।

    तस्वीरमा कोही उत्सव मनाउन सेनाका बख्तरबन्द गाडीमाथि चढेका कोही असदका पिता हाफेजको ढलेको शालिकमा सुतेर तस्वीर लिइरहेको देखिएको छ । दमास्कसका बासिन्दा आमेर बाथाले एएफपीसँग फोनमा भन्नुभयो । “म विश्वास गर्न सक्दिनँ कि म यो क्षणको प्रत्यक्षदर्शी बनिरहेको छु ।

    एचटीएस समूहले असद परिवारको पाँच दशकभन्दा लामो शासनलाई चुनौती दिँदै आफ्नो अभियान सुरु गरेको दुई हप्ता नबित्दै राष्ट्रपतिको कथित बहिर्गमन भएको बताइएको छ ।

    “बाथ शासनमा ५० वर्षको उत्पीडन, १३ वर्षको अपराध र अत्याचार र जबर्जस्ती विस्थापनपछि हामी आज यो कालो समयको अन्त्य र सिरियाका लागि नयाँ युगको सुरुवातको घोषणा गर्दछौँ,’ विद्रोही समूहले टेलिग्राममा भनेका छन् ।

    सिरियाली प्रधानमन्त्री मोहम्मद अल जलालीले सिरियाली जनताले रोजेको कुनै पनि नेतृत्वसँग सहकार्य गर्न आफू तयार रहेको बताएका छन् । बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) का प्रमुख रामी अब्देल रहमानले एएफपीसँग भने, राष्ट्रपति असदले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिरिया छोडिसक्नुभएको छ ।”

    हिजबुल्लाहको नजिकको स्रोतले राष्ट्रपति असदको प्रमुख सहयोगीका लडाकुहरूले दमास्कस वरिपरि आफ्नो स्थान छोडेको बताएको एएफपीसँग बताएको छ ।

    एचटीएसका अनुसार उनीहरूका लडाकुहरू राजधानीको बाहिरी भागमा रहेको ‘सेदनायाको जेलमा निरंकुशताको युगको अन्त्य’ को घोषणा गरेका थिए । उक्त जेल राष्ट्रपति असदको युगको सबैभन्दा चरम यातना दिने जेलको रूपमा विद्रोहीहरूले हेर्ने गरेका थिए ।

    यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियामा भइरहेको ‘असाधारण घटना’लाई नजिकबाट नियालिरहेको ह्वाइट हाउसले जनाएको छ ।

    यो पनि :

    सिरियामा असद शासन अन्त्य भएको विद्रोहीको घोषणा

    सिरियाको राजधानी इस्लामिक विद्रोहीको कब्जामा, राष्ट्रपति असाद भागे

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend