पुस १३ काठमाडौं, कांग्रेस नेतृ डा. डिला संग्रौलाले केपी ओलीले लोकतन्त्रको हत्या र संविधानको मूल मर्ममाथि चीरहरण गरी संसद विघटन गरेको र नेपाली नागरिकको भविष्यमाथि खेलवाड गरेको बताएकी छन् ।
नेपाली कांग्रेसले मोरङ मा सोमबार आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै डा. संग्रौलाले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालिरहेको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि साथ दिएकाले राष्ट्रपतिले पनि सीमामा रहेर काम गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएकी हुन् । उनले भनिन् ‘अधिनायकवादको प्रारम्भ स्वरुप आफ्नै पार्टीभित्रको किचलो समाधान गर्न नसकेर नेपाली जनताको सार्वभौमसत्ता प्रतिनिधिसभा संसद् विघटन गर्ने कार्य अलोकतान्त्रिक र असंवैधानिक छ । संसद् विघटन गर्ने प्रधानमन्त्रीको निर्णयमाथि राष्ट्रपतिले साथ दिएर आफ्नो अवमूल्यन गर्नुभएको छ ।’
डा. सग्रौलाले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टको सरकार बनेपछि बोल्न पाइँदैन भनेको कुरा स्मरण गर्दै ओलीले अधिनायकवाद ल्याउन खोजेको पनि बताइन् ।
नेपाली जनताले देशमा सुशासन र स्थायी सरकारको कल्पना गरिरहेको बेलामा सरकार पूर्णरुपमा भ्रष्टाचारमा लिप्त भएको र मुलुकलाई अस्थिरतातर्फ उन्मुख गराएको पनि उनको भनाइ थियो । ओलीले गरेको संविधानमाथिको कुका लागि अब नेपाली कांग्रेसले सडक संघर्ष गर्न लागेको र सडक संघर्षबाट नै रक्षा गर्न सकिने उनकाे दाबी छ ।