काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान आर्थिक प्रगतिसँग आफू सन्तुष्ट नभएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा अर्थसमिति मात्रै नभएर आफू स्वयं सन्तुष्ट नभएको बताए ।
उनले अर्थतन्त्रमा समस्या भएपनि पछिल्लो समय सुधार हुँदै गएको बताए । उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरु क्रमशः समाधान गर्दै गएको उल्लेख गरे । उनले लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसकिने भन्दै अर्थतन्त्र सुधारको लागि केही समय लाग्ने बताए ।
उनले विदेशी मुद्राको सञ्चिति, तरलता, बैंकको ब्याजदर एकल अंकमा आएको र मूल्यवृद्धि नियन्त्रणमा रहेको बताए । उनले शेयर बजार लगायत अर्थतन्त्रका केही पक्षहरुमा सकारात्मक अवस्था रहेको दाबी गरे । उनले सरकारले समस्याहरुका चाङलाई एक–एक गरेर पन्छाउँदै उपलब्धीहरु आर्जन गर्नुवर्ने र त्यसका लागि सार्थक प्रयास चालिरहेको बताए ।
उनले राजश्व परिचालनका सन्दर्भमा पनि चालु आर्थिक वर्षको तीन महिनामा १७ प्रतिशत वृद्धि गरेको बताए । राजश्वको लक्ष्य पूरा गर्न ३०/३१ प्रतिशतको वृद्धि गर्नुपर्ने बाध्यता सरकारलाई रहेको बताए । उनले त्यसको लागि सरकारले राजस्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा निरन्तर काम गरिरहेको बताए ।
अर्थमन्त्री पौडेलले शेयर बजारमा हुने सर्कुलर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेसन नियन्त्रणमा निरन्तर काम भइरहेको दाबी गरे । उनले सेयर बजारमा हुने पम्पिङ एण्ड डम्पिङ, सर्कुलर ट्रेडिङ, कर्नरिङजस्ता गतिविधि नियन्त्रणमा राख्ने बताए । उनले पछिल्लो समय शेयरबजार केही सुधार हुँदै गएको भन्दै नेपाल धितोपत्र बोर्डले पनि लामो समयपछि नेतृत्व पाएको बताए ।
उनले बजारमा अनियमित काम भएको गुनासोलाई कम गर्नेगरी काम गरिरहेको बताए । उनले नियमनको पाटो बलियो बनाउँदै लग्ने कार्यमा सरकार लागि परेको बताए ।
उनले पुँजीबजारको दिगो व्यवस्थापन र प्रवद्र्धनमा सरकारको ध्यान केन्द्रित रहेको बताए । उनले लगानीको वातावरण बनाउने कुरामा कानूनहरु अन्तरविरोधी रहेको भन्दै आवश्यक कानून संशोधन गरी लगानीको वातावरण बनाउने बताए ।
उनले अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार निरन्तर लागिपरेको उल्लेख गरे । उनले बैंकमा भएको तरलतालाई उत्पादनमुलक काममा लाग्नु आवश्यक रहेको बताए ।